शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार पस्नेले जान्नै पर्ने ‘क्लोज आउट’ : कसरी कारबाहीमा परिन्छ ?

चालु आर्थिक वर्षमा मात्रै क्लोज आउटको कारबाहीबाट ११ करोड उठ्यो
मङ्गलबार, ११ फागुन २०७७, ०७ : ५७
मङ्गलबार, ११ फागुन २०७७

सेयर बजारमा लगानीको तयारी गरिरहेका र लगानीमा प्रवेश गरिसकेका कतिपयलाई ‘क्लोज आउट’ बारे जानकारी नहुन सक्छ । क्लोज आउटबारे जानकारी नहुँदा कतिबेला कारबाहीमा परिन्छ सो को समेत हेक्का हुँदैन ।

आफुसँग नभएको सेयर बिक्री गरे सो कारोबार क्लोज आउटमा पर्ने गर्छ । मानौँ दोस्रो बजारमा कुनै लगानीकर्ताको १० कित्ता सेयर छ । तर, उसले १० लेख्ने ठाउँमा भुलबस एउटा शुन्य थपेर १०० कित्ताको आदेश दाखिला गर्यो भने सो कारोबार क्लोज आउटमा पर्छ ।

लगानीकर्ताले सेयर दिन नसके कारोबार गरिएको मूल्यको आधारमा बाँकी रहेको ९० कित्ता सेयरको २० प्रतिशतले हुन आउने रकम जरिवाना स्वरूप खरिदकर्तालाई तिर्नुपर्छ । तर कुनै लगानीकर्ताले २० प्रतिशत हुन आउने रकम प्राप्त गरेमा उसले त्यस रकमको २५ प्रतिशत हुन आउने रकम आकस्मिक लाभकर स्वरूप सरकारलाई बुझाउनु पर्छ ।

कोही लगानीकर्ता नियतबस क्लोज आउटमा पर्ने गरेको भएपनि धेरैजसो लगानीकर्ता अन्जान र भूलवश क्लोज आउटमा पर्ने गरेका छन् । सेयर विज्ञ डा. केशव श्रेष्ठ सेयर बजारमा पस्नेले क्लोज आउटको विषयमा जानकारी राख्नैपर्ने बताउँछन् ।

चाँडो नाफा कमाउन डिम्याट खातामा नआइ सेयर बेच्ने, बैंकमा रोक्का भएको सेयर बेच्ने, आफ्नो डिम्याट खातामा नहेरी सेयर बिक्री आदेश दिने, ब्रोकर कम्पनीले तीनपुस्ते नभिडाइ आदेश दाखिला गर्दा, कम्पनीको नाम नमिल्नुजस्ता कारणले क्लोज आउटको समस्या हुने गरेको छ ।

 


सेयर कारोबारमा लगानीकर्ता क्लोज आउटमा पर्ने क्रम अझै रोकिएको छैन । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले क्लोज आउँट पर्ने क्रममा खासै परिवर्तन नभएको जनाएको छ । पहिले नै बिक्री गरेको  सेयर झुक्किएर फेरि पनि बिक्री आदेश दिँदासमेत क्लोज आउटको समस्या आउने गरेको छ ।

कतिपय अवस्थामा लगानीकर्ता जानाजान क्लोज आउटमा जानेगरेपछि सूचना निकालेरै सेयर किनबेचको राफसाफ गराउने निकाय सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले जानाजान क्लोज आउटमा जाने लगानीकर्ताविरुद्ध कारबाही नै गर्ने चेतावनी दिँदै आएको छ ।  तर क्लोज आउटको समस्या हल हुन सकेको छैन् ।

क्लोज आउटको कारबाहीबाट ११ करोड उठ्यो

क्लोज आउटमा पर्ने क्रम नरोकिएको सिडिएससीको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्ष (२०७७÷७८) मा क्लोज आउट कारबाहीबाट १० करोड रुपैयाँ ८९ लाख ८६ हजार ४ सय ७७ रुपैयाँ सिडिएससीले उठाएको छ । सिडिएससीका प्रवक्ता सुरेश न्योपानेले सो रकम उठेको जानकारी दिए ।  यो वर्ष ११ हजार ६ सय ८९ कारोबार क्लोज आउटमा परेको छ । क्लोजआउट कारबाहीमा उठेको रकम मध्ये  २५ प्रतिशत आकस्मिक लाभकर स्वरूप राजस्व कट्टा गरी बाँकी रकम सम्बन्धित खरिद कर्तालाई जान्छ  ।

गत वर्ष १४ हजार ९ सय ६९ वटा कारोबार क्लोज आउटमा परेको थियो । प्रवक्ता न्यौपानेका अनुसार  क्लोज आउट पर्ने क्रममा खासै परिवर्तन भएको देखिँदैन । यद्यपी, कारोबार संख्यामा भएको वृद्धिको आधारमा हेर्दा क्लोजआउटहुने दर भने कम भएको मान्न सकिन्छ । क्लोज आउट भएको कारोबारको २० प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ ।

धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट विनियमावलीले क्लोजआउटको व्यवस्था गरेको हो । सो विनियमावली लागू भएपश्चात सो व्यवस्थाको सुरुवात भएको हो ।  धितोपत्र बिक्रीकर्ताले आफूले विक्रिगरेको धितोपत्र राफसाफ तथा फर्छ्यौट गर्ने समयावधि भित्र सम्बन्धित राफसाफ सदस्यको खातामा (आफुले धितोपत्र बिक्री गरेको ब्रोकर) जम्मा नगरेमा उक्त बिक्री कारोबारको रकमको २० प्रतिशत जरिवाना सो बिक्रीकर्ताबाट असुल्ने ब्यवस्था गरिएको छ । यस व्यवस्थालाई क्लोजआउट भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप