ad
केन्द्रीय संस्करण

शिक्षामा नैतिकताको खाँचो

person explore access_timeफागुन १०, २०७७ chat_bubble_outline0

 

-भरतबहादुर विष्ट 

नेल्सन मन्डेलाले भनेका थिए, सबैभन्दा शक्तिशाली हतियार शिक्षा हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौँ । कामै नगरीकन खाने शैक्षिक प्रमाणपत्र सिरानीमा च्यापेर हल्लिएर बस साँच्चै हँसियाहथौडा बोकेर चोरी डकैती गर राजनीति अधिकारका नाममा सधैँ देशमा अस्थिरता मच्चाउने गर, त्यो परिवर्तनले संसार बदल्न सक्दैनौँ । व्याचलर, मास्टर सिध्याएर बसेको एउटा शिक्षित युवालाई सोध्ने हो भने आजकाल के गर्दै छौ ? ऊ निश्चित रूपमा बेरोजगार छु भन्छ । सरकारी जागिर खान पहुँच छैन । माथिसम्म भनसुन पहुँच नभए पढेर कामै छैन । लिखितमा चौध पटक नाम निकालेको व्यक्ति अन्तिममा मौखिकमा फालिन्छ, ऊ निराश हुन्छ । अन्तिममा बाध्य भएर खाडीतिर भौँतारिन्छ । योभन्दा संसार बदल्ने हतियार अरू के हुनसक्छ ? महामहिम नेल्सन मन्डेला महोदय !

हाम्रो शिक्षा र संस्कृति सनातन धर्म परम्परा हिन्दु दर्शनमा आधारित छ । हुन त सबै धर्मको सार भनेको मानवीय जीवनलाई कसरी सार्थक बनाउने भन्ने हो । तर हाम्रो देश अत्यधिक हिन्दु धर्म दर्शन मान्ने मानिसको बसोबास बाहुल्य छ । यो सनातन दर्शनमा आधारित छ । हिन्दु शास्त्रले रोग भोक, शोक, पीडा, पाप, हीनता, दासता, अज्ञानता, द्वेष, पीडा कुरुती, कुसंस्कार, अन्याय, अत्याचार, अपहेलना, अभाव, दु:ख अवगुण, व्याधी, काष्टबाट मुक्त पाउनु पनि शिक्षा हो । स्थानीय कला, संस्कृति, रहनसहन, देशको भूगोल, इतिहास भू–बनावट, हावापानी, सन्तुलित आहारबिहार, प्रजनन, शिशुको स्याहार, विवाह, व्रतबन्ध, उज्यालो जीवनसम्बन्धी चेतना पनि शिक्षा हो । 

कस्तो व्यक्ति निर्माण गर्ने भन्ने कुरा राज्यको दूरदृष्टिले निर्माण गर्ने कुरा हो । त्यसका लागि उचित शिक्षानीति, भौतिक संरचना, बालमैत्री पाठशाला, शान्त कक्षाकोठा, कुशल विषयगत शिक्षक शिक्षिकाको प्रबन्ध गरिनुपर्छ । कक्षाकोठालाई सानो प्रयोगशालाका रुपमा विकास गरिनुपर्छ । घोकन्ते र सैद्धान्तिक शिक्षण विधिभन्दा प्रयोगात्मक व्यावहारिक सिकाइले बालबालिका स्वावलम्बन आत्मनिर्भर स्वरोजगारी हुन्छन् । शैक्षिक भ्रमण, सिकाइ भ्रमण, इतिहास बुझ्न, सङ्ग्रहालय, जैविक विविधता र कृषिसम्बन्धी बुझ्न खेतबारी चिडियाघर आदिको बालबालिकालाई लिएर दीक्षित गरिनुपर्छ । शिक्षा जागिर खानकै लागि हो भन्ने बुझाइ सोह्रै आना सही होइन तर व्यावसायिक बनाइनुपर्छ । अनुशासित, नैतिकवान्, स्वावलम्बी देशभक्त र वैज्ञानिक ज्ञान भएको नागरिक उत्पादन हुने शिक्षा हुनुपर्छ ।

देशको माटो सुहाउँदो र राष्ट्र राष्ट्रियताप्रति समर्पित नागरिक उत्पादन गर्नु राज्यको पहिलो दायित्व हो । अहिले व्यावहारिक ज्ञानका साथै युग सुहाउँदो प्राविधि शिक्षाको खाँचो छ । पढ्नेलाई पढ्न नदिने, लेख्नेलाई लेख्न नदिने, सधैँ अधिकारका लागि तयार पार्ने राजनीतिक पार्टीका नर्सरी बेर्ना बनाइनु अत्यन्तै खेदपूर्ण छ । आफ्नो मातृभाषा, राष्ट्र भाषा, राष्ट्रिय भाषा मासेर दुई चार शब्द टुटेफुटेको अङ्ग्रेजी शब्द घुसाएर मुख बाङ्गो पारेर बोल्नुलाई धेरै पढेलेखेका भन्ने मनोभावना अझै छ । भाषा प्रयोग गरेर ज्ञान हासिल गर्नु नै वास्तविक शिक्षा हो ।

नेपालमा निजी शिक्षण संस्थाबीच ठूलो होडबाजी चलेको छ । राज्यको नीतिअन्तर्गत बसेर बालबालिकालाई कर्मठ नागरिक उत्पादन गर्छ भने त्यो योगदान हो । निजीले सामुदायिक विद्यालय ध्वस्त पारे । शैक्षिक माफियाले गर्दा शिक्षमा चरम भेदभाव भइरहेको देखिन्छ । राज्यको स्पष्ट नीति देखिँदैन । झारा टार्ने र कर्तव्यविमुख भएको छ ।

छोराछोरी पढेर स्वालम्बी नागरिक बन्लान् भन्ने अभिभावकले अपेक्षा राखेका हुन्छन् । निजी शिक्षण संस्थाहरूले सामुदायिक विद्यालयप्रतिको भरोसा टुटाएर आफूतिर आकर्षण गर्नु उनीहरुको व्यावसायिक धर्म हो । तर शिक्षाको नाममा लुट मच्चाएको जनगुनासो सुनिन्छ । यसमा पनि राज्यको ठूलो कमजोरी देखिन्छ । बिचौलिया र शैक्षिक माफियाको चङ्गुलमा राज्यका तालुकदार संस्थाका व्यक्ति प्रलोभनमा परेको कुरा छरपस्ट छ । 
राजनीतिक नेतृत्वले नै ठूल्ठूला निजी विद्यालय, विश्वविद्यालय, मेडिकल कलेज खोलेका छन् । तिनीहरुलाई अनुमतिपत्र दिने र नियन्त्रण गर्ने जिम्मेवारी राज्यको हो । तिनीहरुलाई नियमन गर्ने राज्यको नीतिमा निर्भर गर्छ । शुल्क कति लिने भन्ने विषय राज्यको नीतिमा भरपर्छ । 

व्यावसायिक शिक्षाका नाममा लगाएको राज्यको लगानी बालुवामा पानी खन्याए सरह हुनु दु:खद पक्ष हो । शिक्षाले मानिसमा चेतना र आत्मनिर्भर बनाउने काम गर्छ । किताबी किरा मात्र भएर पनि हुँदैन । व्यावहारिक ज्ञान सूचना र प्रविधिमा जोड्ने कसी सेतु जीवन पद्धतिको महत्त्वपूर्ण सिकाइ शिक्षा सिद्ध हुनुपर्छ । राज्य शक्तिको स्रोत जनतालाई मानिएको छ । सर्वप्रथम स्रोत पहिला दक्ष बनाइनुपर्छ । शिक्षाले हरेक मानिसको जीवनशैली, रहनसहन पारिवारिक सामाजिक दायित्व बोध जीवन उपयोगी गर्ने खालको हुनुपर्छ । शिक्षा पारिवारिक सन्तुलन, दाम्पत्य सम्बन्ध, घरपरिवार तथा नागरिकको हेरचाह गर्ने किसिमको हुनुपर्छ ।

राज्यले पनि आफ्ना नागरिकको आर्थिक–सामाजिक र शैक्षिक जनशक्तिको सही तथ्याङ्क राख्न सक्नुपर्छ । दक्षता क्षमताका आधारमा शिक्षित जनशक्ति परिचालन व्यवस्थापन गर्न सक्नुपर्छ । देश राजनैतिक नाराले मात्रै बन्दैन । अधिकारले मात्र पनि पुग्दैन । पाएको अधिकार सत् बुद्धिले राष्ट्र निर्माण गर्नुपर्छ । काम गर, काम गरेर खाने वातावरण सिर्जना गरी खान देऊ ! नागरिकलाई आयआर्जनमा जोड आर्थिक सामाजिक क्रियाकलाप बढाउने कोसिस गर्नुपर्छ । 
प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी बोध गरी देश र जनताको भविष्य निर्माण गर्ने कोसिस गर्नुपर्छ । राजनीतिक खिचातानी छोडेर देश निर्माण कार्यमा समर्पित होऔँ । देश सबैको साझा घर हो । यहाँ बस्ने सबै नागरिक, जीवजन्तु, प्राणी, हावापानी, माटो समष्टिमा राष्ट्र हो । 

नैतिक शिक्षाबिना विनाश अवश्यम्भावी छ । केही गर्न सकिएन भने राजनीति छँदैछ भन्ने होइन । राजनीतिलाई यति घृणा नगरौँ । शैक्षिक प्रमाणपत्र सिरानी सन्दूकमा हालेर छोराछोरी बरालिएको देख्दा कुन चाहिँ मातापिताको मन चसक्क हुँदैन र । विद्यालयमा शिक्षक छैनन्, भएका पार्टीको झोला बोकेर समर्थ र विरोधमा सहभागी हुन सदरमुकाम र राजधानीतिर लागेका पाइन्छन् । विद्यार्थी फ्रिफाएर पब्जी खेल्दै छन् । कसैलाई मतलब छैन । ती गुरुबा गुरुआमाले कस्तो शिक्षा देलान् ? अनि शिक्षामा सरकारी लगानी बालुवामा पनि भएन । ती शिक्षक शिक्षिकाको दोष होइन, राज्य राजनीतिक नेतृत्व नीतिनिर्माताको दोष हो । टिकटक बनाउने बालबालिकाको दोष होइन दोषी प्रचलित शिक्षा नीति नैतिक शिक्षा पाठ्यसामग्रीको हो । 

बालबालिका नर्सरी हुन् । नर्सरीमा केको बेर्ना रोप्ने, फुल्ने फलाउने हाइब्रेड, लोकल या अर्गानिक आदि कस्तो बनाउने भन्ने मार्गनिर्देशन गर्नेकाम शिक्षा नीतिले गर्छ । त्यसले यतातर्फ सोच्ने हो । माटो अर्थात खेतलाई दोष दिएर उम्कन मिल्दैन । 

नि:शुल्क शिक्षा स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भन्ने अनि स्वयं सार्वजनिक जिम्मेवारी पाएका पदाधिकारीहरु सामुदायिक विद्यालय ध्वस्त पार्नेतिर लाग्नाले यस्तो भएको हो । लगानी मात्र होइन त्यसबाट प्रतिफल कुन गुणस्तरको उत्पादन भयो भन्ने सवाल महत्त्वपूर्ण हो । खेतबारीमा मकै छरेर उत्पादन हुँदैन, समयमा सिँचाइ, गोडमेल मल, रेखदेख, उन्नत बीउ, किसानको समर्पण, स्थानीय जलवायु र सिजनमा भर पर्छ । त्यसपछि पो प्रतिफल प्राप्त हुन्छ ।

विद्यालय भवन अस्पताल खोलेर पुग्दैन । पढाउने दक्ष जनशक्ति, पढ्ने बालबालिका, विश्वासिलो शान्त रमणीय बालमैत्री सिक्ने र सिकाउने वातावरण हुनुपर्छ । सरकारी विद्यालय पढ्ने गरिब र विपन्न वर्गका नागरिकका छोराछोरीले मात्रै हो भन्ने सोचाइ गलत छ । हुन त स्वयं सामुदायिक विद्यालयमा पढाउने शिक्षक आफूले आफ्ना छोराछोरी निजि बोर्डिङमा पढाउने, बोर्डिङ खोल्ने गर्दा आम मानिसले कसरी बुझ्ने ? त्यही शिक्षक कक्षामा पनि पढाउने पछि त्यसैसँग अतिरिक्त कक्षा अर्थात ट्युसन पढ्नुपर्ने यो कस्तो अनौठो हो ? अस्पताल भनेको भौतिक संरक्षण मात्रै होइन । विशेषज्ञ आवश्यक स्वास्थ्य सामग्री औषधि दक्ष अनुभवी डाक्टर मेडिकल सुपरिटेन्डेन्ट नर्स जस्ता स्वास्थ्यकर्मीको सबभन्दा बढी खाँचो हुन्छ । डाक्टर सरकारी  हुने तलबभत्ता जनताले तिरेको रगतपसिनाबाट खाने, सरकारी हस्पिटलमा जनशक्ति भए स्वास्थ्य साधनस्रोत नहुने, साधन भए डाक्टर नहुने, अनि तिनै डाक्टर निजी क्लिनिकमा गएर गुणस्तरीय उपचार दिने गर्छन् । यसरी संविधानको नै खिल्ली उडाएको देशमा कुन समाजवाद ल्याउन खोजेको होला  ?

पाँच हजार वृद्धभत्ता बनाएर भोट पाउन सकिन्छ । तिनै जनताको तिरेको करबाट असुल गर्ने होइन र ? स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय हो । राज्यले आफ्ना नागरिकलाई काम नगर, सबै रेखदेख सरकार गर्छ पनि भन्न सक्छ तर स्रोत हुनुपर्छ । जनहित, सुशासन र स्वास्थ्यमा नागरिकको पहुँच बढाउनुपर्छ । रोजगारीको सिर्जना गर्ने नागरिकको उत्पादन गर्नुपर्छ । तर आआफ्ना स्वार्थ सिद्ध गर्ने युवाहरूलाई सधैँ दलका झण्डा बोकाएर मुर्दावाद जिन्दावाद गरेर जीन्दगीभर गुजारा गर्ने हो भन्ने ठीकै छ । प्राकृतिक सम्पदाले धनी मुलुकमा सधैँ अभाव अराजकता र राजनीतिक खिचातानीले हत्याहिंसा, बलात्कार, कुशासन र दण्डहीनता बढिरहनेछ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.