शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कसरी बन्ने पाइलट ?

कसले पढ्न पाउँछ ?
सोमबार, १० फागुन २०७७, १३ : ५२
सोमबार, १० फागुन २०७७

बाल्यकालमा आकाशमा जहाज उडेको देख्दा मुन्टो ठड्याएर आँखाले भ्याएसम्म जहाजलाई पछ्याउने जनक अधिकारीलाई यसरी नै उड्ने रहर सानैदेखि थियो । उनको त्यो रहरलाई साकार पार्न उनको मेहनत र परिवारले पनि सघायो । परिणामस्वरुप सन् २००९ मा उनी पाइलट पेशा अँगाल्दै जहाजको ककपिटमा पुगे ।

हुन त नेपाली आकाश जोखिमयुक्त आकाशहरु मध्येमा गनिन्छ र थुप्रै जहाज दुर्घटनाका खबरले जो–कोहीलाई बेलाबखत त्रसित पार्ने गर्छ । त्यसैले पनि होला पाइलट पेशाका लागि कमैमात्र परिवारले आफ्ना छोराछोरीलाई प्रेरित गर्दछन् ।

क्याप्टेन जनकका परिवारले दुर्घटनालाई भवितव्यको रुपमा हेर्दै जनकको सपनाको उडानलाई खुला आकाशमा उड्ने अनुमति दिएको थियो । जनकको उडान यात्रा सन् २००९ देखि सुरु भएको थियो भने उनको व्यावसायिक उडान २०१० देखि सुरु भयो ।

दक्षिण अफ्रिकाबाट पाइलटको कोर्स पूरा गरेका क्याप्टेन जनक हाल सौर्य एअरमा कार्यरत छन् । उनी एभियसन सम्बन्धी सम्पूर्ण अध्ययन तथा तालिम प्रदान गर्ने ‘गीता एभियसन’का सञ्चालक पनि हुन् ।

आकाशमा विमान उडेको र उडाएको देख्दा जति सहज लाग्छ त्यो कार्य उति नै कठिन पनि छ । सिभिल एभियसनले नेपालको आकाशमा देखिँदै आएको रुटको समस्या समाधानका लागि प्रविधिको प्रयोगमा जोड दिनुका साथै सुरक्षा मापदण्डमा विशेष ध्यान दिएको छ । यसले विमान कम्पनीहरुमा र क्रु सदस्यहरुमा आत्मविश्वासको विकास भएको देखिन्छ । यसैले पनि यो पेशा प्रतिको आकर्षण बढ्दो छ । साथै नेपालमा निर्माण भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विमानस्थल र बढ्दै गइरहेका विमान कम्पनीहरुका कारण पनि यो पेशाप्रति आकर्षण बढ्दो छ ।

नेपालमा एभियसनसम्बन्धी अध्ययन अध्यापन हुने गरे पनि पाइलट तालिमका लागि भने विदेश नै जानुपर्ने बाध्यता छ । यसले लाखौं रकम खर्चिनुपर्ने बाध्यता, भिसाको समस्यालगायतले विद्यार्थीहरु मर्कामा पर्दै आएका छन् । यसको अन्त्यका लागि क्याप्टेन जनक अधिकारी विगत १० वर्षदेखि प्रयासरत छन् । उनको प्रयास नेपालमै फ्लाइट स्कूल संचालनमा ल्याउने र लामो समयदेखि विदेशीदै आएको नेपाली लगानी स्वदेशमै रहोस् भन्ने हो ।

पाइलट बन्न चाहनेका लागि ‘गीता एभियसन’

गीता एभियसनका सञ्चालक क्याप्टेन जनक अधिकारी हालसम्म नेपालमा जम्मा ३८५ जनामात्रै क्याप्टेन रहेको र यसको वृद्धिका लागि नेपालमा पनि एभियसनको तालिम हुनुपर्ने बताउँछन् । नेपालमा हाल एअरलाइन्सहरुको वृद्धि भएसँगै पाइलटहरुको माग पनि बढेको छ ।

नेपालमा एभियसनसम्बन्धी सम्पूर्ण अध्ययन अध्यापनका लागि भनेरै सन् २०११ मा स्थापना भएको थियो ‘द एभियटर’ । द एभियटर सन् २०१७ मा गएर ‘गीता एभियसन’ बन्यो । गीता एभियसनले विदेशमा गएर पाइलट अध्ययन गर्नुपर्ने बाध्यता अन्त्यका लागि पहल गर्नुका साथै हाललाई विदेशमा पाइलट पढ्न जान चाहनेहरुका लागि सहजीकरणको काम गर्दै आइरहेको छ ।

एभियसनका संचालक अधिकारी भन्छन्, ‘गीता एभियसन एउटा कम्प्लिट सलुसन हो । हामी एभियसन सम्बन्धी सम्पूर्ण कार्यमा मात्रै केन्द्रित छौं । नेपालमा फ्लाइट स्कूल नभएका कारण गीता एभियसनले अन्य मुलुकमा पाइलट पढ्न इच्छुक विद्यार्थीहरुलाई सहजीकरण गर्ने गरेको छ । यतिमात्रै होइन, एभियसनले एभियसनसम्बन्धी सवै जानकारी र कक्षाहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।’

गीता एभियसनको काठमाडौंमा मात्रै तीनवटा शाखा कार्यालय संचालनमा छन् । पुतलिसडकमा मुख्य कार्यालय रहेको यस एभियसनको शाखाहरु पुतलीसडक र ज्ञानेश्वरमा छन् । यी शाखा कार्यालयमार्फत क्याविनको तालिमसँगै अन्य तालिमहरु पनि सञ्चालन हुने गरेको छ । यसैगरी, एअरलाइन्सको टाइप तालिम पनि गीता एभियसनले सञ्चालन गर्दै आएको छ ।

क्याप्टेन जनक गीता एभियसनबाट पाइलट, इन्जिनियरदेखि एअर होस्टेसको पनि तालिम दिइँदै आएको बताउँछन् । दक्ष व्यक्तिहरुबाट दिइने तालिमसँगै विद्यार्थीहरुको वृद्धिविकासका लागि विभिन्न क्षेत्रका सफल तथा चर्चित व्यक्तित्वहरुसँगै अन्तर्कृयात्मक अनुभव आदानप्रदान पनि गर्ने गरिएको उनी बताउँछन् ।

गीता एभियसनले पाइलट अध्ययनका लागि चाहिने सम्पूर्ण खुराक पस्किँदै आएको छ । एभियसनबारे शून्य ज्ञानका साथ विदेश जाँदा विद्यार्थीहरुमा हुने अन्यौलता हटाउन केन्द्रित छ एभियसन । पाइलट अध्ययनका लागि ब्रिज कोर्सको पनि व्यवस्था गरेको छ गीता एभियसनले । यस्तो कोर्सले विद्यार्थीहरुले नेपालमै एभियसनबारे जानकारी हासिल गर्न मद्दत गर्ने र विदेशको फ्लाइट स्कूलमा अध्ययन तथा तालिममा सहज हुने क्याप्टेन जनक बताउँछन् । यस्ता कोर्स लिएर विदेशको फ्लाइट स्कूलमा जाँदा ज्ञानसहितको सहभागिता हुने हुँदा विद्यार्थीहरुमा परिपक्वता र बुझाइमा पनि सहज हुने अधिकारीको तर्क छ ।

गीता एभियसनले नेपालमै सीपीएल (कमर्सियल पाइलट लाइसेन्स), एटीपीएल (एअरपोर्ट ट्रान्सपोर्ट पाइलट लाइसेन्स) र सिमिलेटर तालिम पनि प्रदान गर्दै आएको छ । सँगै रेडियो कम्यूनिकेशनलगायत परीक्षाको तयारी गराएर मात्रै बाहिर पठाउने गरेको छ ।

कसले पढ्न पाउँछन् पाइलट ?

पाइलट अध्ययन गर्नका लागि सिभिल एभियसनको मापदण्डअनुसार विद्यार्थी छनौट हुने गरेको छ । १२ कक्षा (प्लस टु) सकेपछि पाइलट अध्ययनका लागि आवेदन दिन सकिन्छ । २००१ बाट सिभिल एभियसनको मापदण्डअनुसार प्लस टुमा साइन्स, म्याथ, फिजिक्स लिएर पढेका विद्यार्थीले यस तालिममा सहभागी हुन पाउँछन् ।

त्यसैगरी, पाइलट पढ्न स्वास्थ मापदण्ड पनि पूरा गर्नुपर्ने हुन्छ । जनरल फिजिसियन, नाक, कान, घाँटी र आँखाको जाँच गरी चिकित्सकबाट स्वास्थ्य सर्टिफिकेट लिएर मात्रै पाइलट अध्ययनका लागि सहभागिता जनाउन पाइन्छ । पाइलट अध्ययनका लागि उमेरको पनि निश्चित समयावधि तोकिएको छ । नेपालको सन्दर्भमा १८ वर्ष पुगेको हुनुपर्छ । तर तालिम सुरु गर्नका लागि भने १६ वर्षपछि नै पाइने क्याप्टेन जनक बताउँछन् । नेपालमा हाल प्लस टु पास गरेपछि विद्यार्थीहरु यस क्षेत्रमा आकर्षित हुने गरेका छन् ।

तालिम अवधि

पाइलट अध्ययन गर्न चाहनेले समयलाई भन्दा अध्ययन र तालिमलाई प्राथमिकतामा राख्नुपर्ने अधिकारी बताउँछन् । छिटो सक्छु भनेर पाइलटको तालिम सकिँदैन । यसको लागि अन्य विषयको अध्ययन गर्दा निश्चित समयावधि तोकिए जसरी कुनै निश्चित समयावधि तोकिएको हुँदैन । पाइलटको अध्ययन र तालिम पुरा गर्ने अवधि विद्यार्थी आफैमा भर पर्छ ।

पाइलट पढ्ने विद्यार्थीले स्कूल कलेजको जस्तो समय आएपछि परीक्षा दिएर पास गर्ने भन्ने हुँदैन । तालिम गर्दै जाँदा आफूले अब म सक्षम छु भन्ने महसुस गरेपछि मात्रै लाइसेन्सको लागि परीक्षा दिन सकिन्छ । सामान्यतया परीक्षा भन्ने बित्तिकै डराउने प्रवृत्ति विद्यार्थीहरुमा हुन्छ तर त्योभन्दा फरक पाइलट अध्ययनमा हरेक दिन परीक्षा दिनुपर्ने हुन्छ । हरेक दिन प्रशिक्षार्थीले केही न केही जान्नुपर्ने हुन्छ, यसले विद्यार्थीहरुलाई निखार्दै लैजाने क्याप्टेन जनकको अनुभव छ ।

लाइसेन्स दिने संस्थाले विभिन्न सिफ्टमा परीक्षा लिइरहेको हुन्छ । विद्यार्थी आफैले अब म सक्षम छु र म परीक्षा दिन तयार छु भन्ने लागेपछि अनलाइन वा आफै उपस्थित भएर आवेदन दिन र समय बुक गर्न सक्छन् । सोही अनुसार लिइने परीक्षाले पाइलटको बाटो खुल्ने हो ।

नेपालीहरु प्रायः फिलिपिन्स, साउथ अफ्रिका, अमेरिका, क्यानडालगायतका देशमा गएर पाइलटको तालिम लिने गर्दछन् । कतिपय विद्यार्थीहरु परीक्षालाई महत्व दिने र छिटो पूरा होस् भन्ने चाहन्छन् । तर त्यो विल्कुलै गलत भएको क्याप्टेन अधिकारी बताउँछन् । उनी आफूले जहाज उडाउन सक्छु भन्ने आत्मविश्वास नभएसम्म हतारिन नहुने सुझाव दिन्छन् ।

पाइलट अध्ययनका लागि जाने विद्यार्थीले गएदेखि फर्किएर आएसँगै कसरी आफूलाई यो क्षेत्रमा स्थापित गराउने भन्नेबारे जानकारी राख्न जरुरी हुने उनले बताए । आफू अध्ययन गर्न जान लागेको स्कुललाई नेपालको सिभिल एभियसनले पनि स्वीकृति दिएको हुनुपर्छ । नत्र भोलि गएर पाइलट पढेर फर्किपछि पनि उसले नेपालमा उडान अनुमति नपाउन सक्छ ।

नेपालमा सम्पूर्ण मापदण्ड पूरा गरेर विदेश पढ्न गएका विद्यार्थीहरुले अध्ययन पुरा गरेर फर्किएपछि पनि सिभिल एभियसनको परीक्षा पास गर्नुपर्ने हुन्छ । उक्त परीक्षा पास गरेपछि मात्रै नेपालमा उडान अनुमतिपत्र प्राप्त गर्न सकिन्छ ।

फ्लाइट स्कूल

नेपालको आकाशलाई यूरोपेली यूनियन (इयू)ले कालोसूचिमा राखेको छ । यसका लागि नेपाल सरकार तथा नेपालमा सञ्चालित हवाइ कम्पनी संचालकहरुले पहल गर्नु जरुरी देखिन्छ । नेपाल पनि ईयूको सुरक्षा मापदण्डभित्र पर्नेमा ईयूलाई विश्वस्त पार्न सकेमा नेपालमा सजिलै फ्लाइट स्कूल सञ्चालन गर्न सकिन्छ । त्यसैले पनि यो अवस्थाको अन्त्यका लागि नेपालले हाल यूरोपियन यूनियनको सुरक्षा मापदण्डलाई अनुसरण गर्दै आइरहेको छ ।

पहिले नेपालमा सीपीएल (कमर्सियल पाइलट लाइसेन्स) तालिम लिएर आएपछि जहाज उडाउन पाइए पनि हाल त्यो व्यवस्था सिभिल एभियसनले हटाइदिएको छ । ईयूले २०१६ पछि जारी गरेको उडान सुरक्षा मापदण्डमा पाइलटको स्तर बढाउनुपर्ने जसमा फ्रोजन एटीपीएल गराउन भनिएको थियो । क्याप्टेन हुनका लागि एटीपीएल (एअरपोर्ट ट्रान्सपोर्ट पाइलट लाइसेन्स) परीक्षा दिनुपर्छ । यो परीक्षा पास गरेपछि मात्रै नेपालमा जहाज उडाउन पाइन्छ ।

सुरुमा सीपीएल पास गर्नुपर्ने र फ्रोजन एटीपीएलको परीक्षा पनि पास गरेपछि मात्रै जहाज उडाउन पाइन्छ । ईयूले जारी गरेको यो मापदण्डलाई नेपालले विगत ४ वर्षदेखि अनुसरण गर्दै आइरहेको छ । त्यसैले अब नेपालको आकाश पनि ईयूले तोकेको मापदण्डमा पुगिसकेको छ । र, अबको एक वर्षसम्ममा ईयूको तहमा नेपालको आकाश पुग्ने विश्वास क्याप्टेन जनकको छ । उनी अब छिट्टै नेपालमाथि लगाएको कालोसूचीको दाग हट्ने र अबको पुस्ताले स्वदेशमै पाइलटको तालिम लिन पाउनेमा विश्वस्त छन् ।

नेपालले हाल ईयूको मापदण्ड अनुसरण गर्न थालेसँगै दुर्घटनाका खबर कमैमात्र सुन्न परेको छ । विगतको तुलनामा नेपालको आकाशको सुरक्षास्तर बढेको क्याप्टेन जनक बताउँछन् । यसका लागि सिभिल एभियसनको प्रयास प्रशंसनीय रहेको उनले बताए ।

नेपालमा फ्लाइट स्कूल सञ्चालन गर्न सरकारले निजी क्षेत्रलाई अनुमति दिने हो भने लाखौं रकम विदेशिनबाट रोकिने क्याप्टेन अधिकारी बताउँछन् । अहिले नेपाली आकाश पूर्ण सुरक्षित मात्रै होइन, पाइलट तालिमका लागि पनि उपयुक्त छ भन्ने सन्देश गएको उनी बताउँछन् ।

नेपालमा थुप्रै विमान कम्पनीहरु सञ्चालनमा छन् र थुप्रै विमानस्थलहरु पनि निर्माण हुँदै गरेकाले पनि पाइलट तथा एयरक्राफ्ट कर्मचारीको माग दिन प्रतिदिन बढ्दो छ । यसको पूर्तिका लागि स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नमा सरकारले बेलैमा सोच्न जरुरी छ ।

अधिकारी नेपालमा निर्माण भइरहेका अन्तर्राष्ट्रिय विमानस्थल र यहाँ संचालित विमानस्थलले अब नेपालको हवाई क्षेत्रले ठूलो फड्को मार्ने देखाएको बताउँछन् । त्यसैले लाइसेन्सको लागि विदेश गएर पढ्नुपर्ने बाध्यताको अन्त्य छिटै हुनेमा उनी आशावादी छन् । आफूले फ्लाइट स्कूलको लागि भनेर तयारी थालेको र यसमा सरकार तथा अन्य विमान कम्पनीहरुले पनि साथ दिनेमा उनी ढुक्क छन् ।

सिभिल एभियसनले नेपालको आकाशलाई ईयूको स्तरमा परिमार्जन गर्दै लैजाने क्रममा रुटदेखि विमानस्थलको व्यवस्थापन, नयाँनयाँ प्रविधिको प्रयोग र दक्ष जनशक्तिको छनौटमा विशेष ध्यान दिएकाले अब नेपालको आकाश असुरक्षित छ भन्न नमिल्ने क्याप्टेन जनकको भनाइ छ । उनी नेपालमा गरिने उडान विश्वकै नमुना उडान हुनेमा आफू विश्वस्त रहेको पनि बताउँछन् ।

यदि नेपालमै फ्लाइट स्कूल सञ्चालन हुन सकेमा स्वदेशमै लगानी गरेर पाइलट बन्ने आम युवाको सपना पूरा हुने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप