शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीले प्राप्त उपलब्धिलाई एकै झड्कामा चकनाचुर पारे: प्रचण्ड

आइतबार, ०९ फागुन २०७७, २२ : ५७
आइतबार, ०९ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकै झट्कामा चकनाचुर पारेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमनकारी कदमलाई नेपाली जनताको शक्तिले परास्त गरिछाड्ने दाबी गरे ।

नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा भएको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासको निर्माता जनता भएको र इतिहासमा ठूलाठूला परिवर्तन जनताले गरेकोले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने चेतावनी दिए ।

उनले भने, ‘आफैले अघि सारेको प्रधानमन्त्रीलाई समयमा नियन्त्रण गर्न नसक्दा ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई केपी ओलीले एकै झट्कामा चकनाचुर पारे यसका लागि  म माफी माग्छु। तर केपी ओलीले देशलाई अँध्यारो सुरुङभित्र लाने प्रयासलाई सर्वोच्च अदालतले रोक्ने र देश संविधानको बाटोमा पुन फर्कनेछ ।’

अध्यक्ष प्रचण्डले पार्टी एकताको वैचारिक तथा सैद्धान्तिक धरातल बिर्सिएर ओलीले बेइमानी गरेको आरोप लगाए । उनले भने, ‘पार्टी एकताको वैचारिक तथा सैद्धान्तिक धरातल मार्क्सवाद, लेनिनवाद र समाजवाद उन्मुख जनताको जनवाद प्रस्ट थियो तर त्यसको कार्यान्वयनमा केपी ओलीले बेइमान गरे।’

पार्टीको तर्फबाट सरकारलाई कयौं दबाब दिँदादिँदै पनि कोभिडको कारणले प्रवासमा रहेकाहरु समस्या परेको उनले बताए । उनले भने, ‘तपाईँहरूले जुन दुःख पीडा भोग्नुपर्यो, समयमा आफ्नो मातृभूमि आउनसक्नु भएन त्यो सरकारको अदूरदर्शीले गर्दा भयो तर अब हामी आउने दिनमा हुन दिने छैनौं।’

प्रवासमा रहेका नेपालीलाई राहत दिन,नेपाली नियोगको संस्थागत परिचालन, गैरआवासीय नेपालीलाई कानुन बमोजिम दोहोरो नागरिकता प्रदान, गोर्खाहरूको समानताको मागमा ऐक्यबद्धता, प्रवासको पार्टी कामलाई मान्यता दिने लगायतका बिषयमा पार्टी स्पष्ट रहेको समेत उनले बताए। 

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिगामी कदमका कारण आज देश असामान्य अवस्थामा पुगेको बताए । उनले भने, ‘दुई तिहाइको सरकार भत्काएर जनतामा  जान्छु भन्नु केपी ओलीको भनाइ अत्यन्त्य रहस्यमय छ।केपीले संविधान, संघीयता, लोकतन्त्र, जनअधिकार र जनचाहनाविरुद्ध कदम चालेका कारण समाज प्रतिगमन विरुद्धको मोर्चामा गोलबन्द भएको छ ।’

भुसालले ओलीले बनाउन चाहेको पार्टी चुनावदेखि चुनावसम्मका लागि मात्र भएको बताउँदै यसले देशलाई समृद्ध र समुन्नत बनाउन नसक्ने ठोकुवा गरे । भर्चुअल प्रविधिमार्फत भएको कार्यक्रममा पार्टी समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाईको अध्यक्षता सचिव श्रीप्रसाद शाहको सञ्चालन र राजेन्द्र पुडासैनीको सहजीकरणमा भएको थियो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप