शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

८ लाखमा बनेको सिंचाई पोखरी पानी नहाल्दै चर्किएपछि.....

आइतबार, ०९ फागुन २०७७, २२ : ०३
आइतबार, ०९ फागुन २०७७

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को गुनापानीमा निर्माण गरिएको सिंचाई पोखरीको पर्खाल पानी नहाल्दै चर्किएको छ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले निर्माण गरेको सिंचाई पोखरीमा कमसल निर्माण सामग्रीको प्रयोग गर्दा पोखरी चर्किदै गएको हो ।

जंगल नजिक गुनापानी खोलाको पानी ल्याएर बनाइएको परम्परागत पोखरीकै ठाउँमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले पक्की पोखरी निर्माण गरेको थियो । यद्यपि, पोखरी निर्माणका क्रममा कमसल मसलाको प्रयोग गर्दा पर्खाल चर्किएको स्थानीयवासी बताउँछन् । सो पोखरीमा यथास्थितिमै पानी भरिएमा पोखरी फुटेर बस्ती नै जोखिममा पर्ने खतरा देखिएको छ ।

पोखरी निर्माणका क्रममा सिमेन्टको पक्की पर्खाल लगाउनुपर्ने भए पनि उक्त पोखरीमा माटोको गारो उठाएर पर्खाल निर्माण गरिएको छ । यतिमात्रै होइन, उक्त पर्खालमा माटोको गारो लगाएको पत्ता नलागोस् भनेर बाहिरबाट देखिने भागमा सिमेन्ट प्लास्टर गरिएको छ । जनजागृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहेका स्थानीय प्रेम सुनार उक्त पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन् ।

तोकिएको प्राविधिक स्टिमेटभन्दा कम मात्रामा सिमेन्ट, गिटी, बालुवा लगायतको मिश्रण बनाइँदा पोखरी चर्किएको स्थानीय पदमलाल ढकालले जानकारी दिए । ‘सिंचाई पोखरी निर्माणमा गर्दा कमसल मसलाको प्रयोेग गर्दा बस्ती नै जोखिममा परेको छ,’ उनले भने, ‘पोखरीमा पानी हाल्दा पोखरी फुट्ने र बस्ती जोखिममा पर्ने निश्चित छ । यहाँ रहेका ७ वटा घर जोखिम छन् ।’

पोखरी निर्माण गर्दा स्थानीयले तोकिएको प्राविधिक स्टिमेटअनुसार निर्माण गर्न सुझाव दिए पनि उपभोक्ता समितिले कमसल निर्माण सामग्री प्रयोग गरेको ढकालको भनाइ छ । ‘माटोको गारो लगाएर पर्खाल निर्माण गरियो,’ उनले भने, ‘तर, त्यो प्रयोग नगर्न मैले सुझाव दिएको थिएँ, कसैले मानेनन् ।’

सात लाख ७२ हजार रुपैयाँको लागतमा पोखरी निर्माण गरिएको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीले जनाएको छ ।

उपभोक्ता समितिलाई सबै रकम भुक्तानी भइसकेको अवस्थामा पर्खाल चर्किएको खबर पाएपछि पुनर्निर्माण गर्न उपभोक्ता समितिलाई निर्देशन दिइएको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका वन÷जलाधार विज्ञ सुरज थापाले बताए । ‘पहिला नै सबै रकम भुक्तानी भइसकेको छ,’ उनले भने, ‘पोखरी निर्माण गर्ने उपभोक्ता समितिलाई मौखिक रुपमा मैले पुनर्निर्माण गर्न भनिसकेको छु । अबको एक÷दुई दिनमै पुनर्निर्माणको काम सुरु हुन्छ ।’

पोखरी निर्माणमा कामदारको लापरवाहीका कारणले पनि त्यस्तो समस्या भएको हुन सक्ने विज्ञ थापाले जानकारी दिए । ‘कामदारका कारणले पनि निर्माणमा समस्या भएको हुनसक्छ,’ उनले भने, ‘निर्माण गरिएकै दिनमा पानी खसालेका कारणले समस्या आएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप