बजारमा एकाएक तरलता अभाव !
पछिल्लो समय तरलता अभाव (लगानीयोग्य रकम)को हुने संकेत देखिएको छ । बैंकहरुले प्रवाह गर्ने ऋणबाट आर्थिक गतिविधि लयमा फर्कन थालेको प्रष्ट हुन्छ । ऋण प्रवाह यही अनुपातमा भए क्रेडिट क्रन्चको सम्भावना नजिकिदै जाने देखिन्छ ।
नेपाल राष्ट्र बैंकमा पुस मसान्तसम्म २ खर्ब अधिक तरलता (एक्सेस लिक्विडिटी) रहेकोमा भण्डै एक महिनाको अन्तरालमा सवा एक खर्बको तरलता बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्टका अनुसार गत शुक्रबारसम्म बैंकिङ प्रणालीमा ७६ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ । पछिल्लो समय कर्जा विस्तार र आयात बढेसँगै बंैकिङ प्रणालीमा थुप्रिएको रकम बाहिरन थालेको भट्टले बताए । यसले आर्थिक गतिविधि चलायमान बनाएको उनको भनाइ छ ।
अहिलेको लगानीको अनुपात हेर्दा केही समयमै बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुन सक्ने कुराको आंकलन गर्न गाह्रो छैन । तरलता अभाव भएपछि बैंकहरुले महंगो ब्याज दिएरै निक्षेप तान्ने स्थिति आउनेछ, जसले कर्जाको ब्याजदर समेत महंगो बन्न थाल्नेछ ।
बैंकहरुको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुले ७४ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् । यो माघ महिनाको मात्र ऋण विस्तार हो । यता निक्षेप भने ५ अर्ब रुपैयाँले मात्र बढेको छ । यस अवधिसम्म वाणिज्य बैंकहरुले कुल ३३ खर्ब १७ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् भने निक्षेप संकलन ३७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तयता निक्षेप २ खर्ब ९९ अर्ब रुपैयाँले बढ्दा ऋण बिस्तार ४ खर्ब १४ अर्ब रुपैयाँले बढेको हो ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा हेर्दा यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको हो ।
कोरोनाको कारण लामो समय लगानी गर्न नपाएका बैंकहरु पछिल्लो समय लगानी विस्तारमा आक्रामक देखिन थालेका छन् । राष्ट्र बैंकको निर्देशित लगानीका कारण पनि बैंकहरु ऋण विस्तारमा आक्रामक भएका हुन् ।
ब्याजदर हिट हुन सक्छ
लगानीयोग्य रकमको अभाव भएपछि ब्याजदरमा हिट गरेको विगतका प्रशस्तै उदाहरण छन् । ब्याजदरमा बैंकहरुबीच प्रतिस्पर्धा भएपछि नियामकको आग्रहमा बैंकर्स संघले ब्याजदरमा कार्टेलिङ नै गर्नुपरेको थियो । केही बैंकले कार्टेलिङ तोडेपछि बैंकहरु सो बैंकसँग अन्तरबैंक कारोबार नगर्ने सम्ममा पुगेका थिए । र, सो बैंक पनि कार्टेलिङ मान्न बाध्य भएको नजिर छ ।
लगानीको माग बढ्दै जानु, सो अनुसारको सप्लाई हुन नसक्नु, सरकारको राजस्व बढ्नु तर खर्च हुन नसक्नु जस्ता कारणले तरलतामा दबाब हुने विज्ञहरु बताउँछन् । जसले ब्याजदर प्रभावित गर्छ । यता बैंकर्सहरु लगानी बढ्नु भनेको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नु रहेको बताउँछन् ।
आयातका लागि एक महनिामा झण्डै साढे एक खर्ब बाहिरियो
यता पछिल्लो समय आयात पनि बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने सात महिनामा (साउन देखि माघसम्म) ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको आयात भएको छ । जबकि पुस सम्म ६ खर्ब ६१ अर्ब बराबरको आयात भएको थियो । यस हिसाबले हेर्ने हो भने पनि आयातका लागि एक महिनामा झण्डै साढे एक खर्ब रुपैयाँ ( १ खर्ब ४२ अर्ब रुपैयाँ) विदेशिएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्ट आयात बढ्दै गएकाले बैकिङ सिस्टमबाट रकम बाहिरिएको र क्रमशः तरलता कम हुदै गएको बताउँछन् ।
लकडाउनका कारण गत चैतयता आयात पनि घटेको थियो । असोजदेखि बिस्तारै आयात बढ्न थालेको छ । आयात वृद्धि भएसँगै कर्जा विस्तार पनि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
-
कांग्रेसको १५ बुँदे आन्तरिक सर्कुलर : एमालेलाई नबिच्क्याउने, गालीगलौज नगर्ने
-
विश्वकी सबैभन्दा अग्ली र सबैभन्दा होची महिला चियाका लागि भेटेपछि...
-
भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानको प्रदर्शन झनै निराशाजनक