बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

संसद् पुनर्स्थापना गरेर संविधान जोगाउनुको विकल्प छैन : रामचन्द्र पौडेल

‘खेत रहेमात्र बाली लगाउन पाइन्छ, खेतै बगायो भने कहाँ बाली लगाउने ?’
शनिबार, ०८ फागुन २०७७, २३ : ००
शनिबार, ०८ फागुन २०७७

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा संसद पुनर्स्थापना गरेर संविधान जोगाउनुको विकल्प नरहेको बताएका छन् ।

शनिबार नेपाली काँग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा विघटन सामान्य नभएर गम्भीर विषय भएको बताए ।

‘यो विघटन जानाजान संविधानमाथिको अतिक्रमण हो,’ उनले भने, ‘विगतमा पटक पटक संसद विघटन हुँदा मुलुकमा अस्थिरता निम्तियो, मुलुक विग्रहमा गयो, २०५१ सालमा संसद विघटन हुँदा माओवादीको जन्म भयो । हाम्रै सभापति शेरबहादुरजीले संसद विघटन गर्दा राजा ज्ञानेन्द्रले सत्ता हत्याए । यिनै कारणले हामीले संविधानसभामा संविधान बनाउँदा धेरै छलफल गरेर प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कटौती गरेको हो ।’

उनले प्रतिनिधिसभा विघटन गर्ने हिम्मत प्रधानमन्त्रीलार्ई कहाँबाट आयो भन्ने प्रश्नसमेत गरे । ‘प्रधानमन्त्रीले संविधानका विषयमा थाहा नपाएको होइन नि !,’ उनले भने, ‘केपी ओलीले लहडमा लागेर प्रतिनिधिसभा विघटन गरेका छै्रनन् । त्यसैले यो गम्भीर विषय हो ।’

नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको स्मरण गराउँदै पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले देशभर आन्दोलन गरेको प्रस्ट पारे । आफ्नै पार्टीका केही नेताले ‘अदालतले जे गर्छ त्यही ठिक’ भन्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘अदालतले जे गर्छ, त्यही ठिक भन्नका लागि काँग्रेसले देशभर ओलीको कदमको विरोध गरेको होइन नि ! हामीले त अहिले पनि देशभर ओलीको कदमको विरोधमा उत्रिएका छौं । अलोकतान्त्रिक कदम भनेका छौं ।’

काँग्रेसले प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक’ भनिसकेको उल्लेख गर्दै पौडेलले भने, ‘असंवैधानिक भनेको के हो ? असंवैधानिक भन्ने अनि मन्त्र झै जपेर बस्ने हो र ? असंवैधानिक हो भने त संवैधानिक बनाउनु प¥यो नि ।’

प्रधानमन्त्रीलाई झोँक चलेपछि संसद विघटन गर्ने परम्पराले मुलुक दीर्घकालसम्म अस्थिर बन्ने खतरा निम्तिने उनको भनाइ थियो । काँग्रेस जनताको भरोसाको केन्द्र बन्नका लागि आफ्नो सिद्धान्तमा अडिग हुनुपर्ने उनले प्रस्ट पारे ।

‘केपी ओलीले सरक्क प्रतिनिधिसभाको चुनाव गराएर काँग्रेसलाई सत्ता सुम्पनका लागि प्रतिनिधिसभा विघटन गराएका हुन् ?’ उनले प्रश्न गरे, ‘ओलीले आफुसँग भएको दुई तिहाइ बहुमतको संसद विघटन गरेर शेरबहादुर जीलाई सत्ता सुम्पन्छन् ?’

चुनावमा जाँदा काँग्रेसको जित हुन सक्ने भए पनि काँग्रेसले तत्कालीन फाइदा हेर्ने कि मुलुकलाई, संविधानलाई र लोकतन्त्रलाई हेर्ने भन्ने प्रश्नसमेत उनले खडा गरे ।

पहिला संविधान र व्ययवस्थालाई बचाउनुपर्ने उनको भनाइ थियो । उनले खेत रहेमात्र बाली लगाउन पाइने प्रस्ट पार्दै खेतै बगायो भने कहाँ बाली लगाउने भनेर प्रश्नसमेत गरे । ‘त्यसकारण हामीले पहिला संविधान जोगाउन लाग्ने हो,’ उनले भने, ‘संविधान जोगाएपछि चुनाव त आज नभए भोलि, भोलि नभए पर्सि हुन्छ नै ।’

असंवैधानिक ढंगबाट गराएको चुनावमा कसरी भाग लिने भन्ने प्रश्नसमेत उनले गरे । काँग्रेसले पञ्चायती व्यवस्थामा भएका चुनाव बहिष्कार गरेको, तत्कालीन राजा ज्ञानेन्द्रले गराएको चुनाव पनि बहिष्कार गरेको उदाहरण दिँदै उनले असंवैधानिक र अलोकतान्त्रिक प्रक्रियाबाट भएका चुनावलाई स्वीकार गर्न नहुने बताए ।

‘अहिले प्रदेश नम्बर १ मा सत्तामा रहेका कम्युनिष्टहरु नै अविश्वासको प्रस्ताव राख्ने, सत्तामा रहेका कम्युनिष्टहरु प्रदेशसभा वहिष्कार गर्ने गरेका छन्,’ उनले भने, ‘हामी के गर्ने भनेर अलमलमा छौं तर काँग्रेसको भूमिका भनेको अलमलमा पर्ने होइन, प्रदेशसभामा आएको अविश्वास प्रस्तावलाई सर्मथन गरेर सरकार गिराइदिने हो ।’

पहिला कम्युनिष्टहरुको सरकार ढालिदिने अनि, त्यसपछिको कदमबारे छलफल गर्नुपर्ने उनको भनाइ थियो ।

आफूले पार्टीमा तीन वटा प्रस्ताव राखेको खुलासा गर्दै उनले भने, ‘संवैधानिक अंगका नियुक्तिको खारजी, संसदको पुनःस्थापना र प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गरौं भन्ने मेरा तीन प्रस्ताव थिए तर मेरो प्रस्ताव पास भएन ।’

पार्टी निर्णयविहीन भएर बसिराखेको उल्लेख गर्दै उनले काँग्रेस यतिबेला निर्णयविहीन बन्ने होइन, मुलुकलाई दिशा दिने भूमिकामा अग्रसर हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप