शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायीको समस्याप्रति निगम संवेदनशील : कार्यकारी निर्देशक पौडेल

आवश्यकताका आधारमा मात्र निगमले थप नयाँ पेट्रोल पम्प खोल्न दिने
शनिबार, ०८ फागुन २०७७, २१ : ५७
शनिबार, ०८ फागुन २०७७

पोखरा । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोलियम व्यवसायीका समस्याप्रति निगम गम्भीर रहेको बताएका छन्  । गण्डकी धौलागिरि पेट्रोलियम डिलर एशोसिएसनको २६ औं साधारणसभा एवम् १३ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले व्यवसायीको समस्याप्रति निगम संवेदनशील रहेको बताउँदै छलफलबाटै समस्या समाधान गर्ने बताएका हुन् ।

पौडेलले निगम र व्यवसायीबीच केही समस्या रहेपनि दुवैको सहकार्यबाट समस्या समाधान गरिने बताए । उनले पेट्रोलियम व्यवसाय पारदर्शी नभएको जनगुनासो बढिरहेको बताउँदै त्यसतर्फ ध्यान दिन व्यवसायीलाई आग्रह गरे ।

पौडेलले पेट्रोलियम पदार्थका यावत पक्षको अध्यायनका लागि निगमले काठमाडौं युनिभरसिटीसँग सम्झौता गरेको बताउँदै अध्ययन प्रतिवेदन आएपछि त्यसलाई तत्कालै कार्यान्वयन गरिने बताए । ‘युनिभरसिटीको अध्ययन प्रतिवेदन कार्यान्वयनमा आएपछि ब्यवसायी र निगमबीचका सवै समस्या साम्य हुनेछन्’ उनले भने, ‘ठुलो रकम खर्चेर विस्तृत अध्ययन प्रतिवेदन बनाउन लागिएको छ, यसलाई दुवै पक्षले पालना गर्नुपर्छ ।’ 

उनले आयल निगमले पोखरामा बनाउन लागेको नेपालकै दोस्रो ठुलो पेट्रोलियम भण्डारण (डिपो) निर्माणको काम तीव्ररुपमा अगाडि बढेको बताए । उनले डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको डिपो आगामी दशैसम्म निर्माण सम्पन्न भएपछि करिव तीन महिनालाई पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने बताए । पोखरामा बन्ने पेट्रोलियम भण्डारण (डिपो) अत्याधुनिक हुने उनले बताए ।
पेट्रोलियम पदार्थको ढुवानी भाडा बृद्धीका वारेमा निगमले बनाएको अध्ययन टोलीले दिएको प्रतिवेदका आधारमा समयसापेक्ष भाडा वृद्धि गरिने पनि उनले बताए । 

पौडेलले आवश्यकताका आधारमा मात्र निगमले थप नयाँ पेट्रोल पम्प खोल्न दिने बताए । ‘पेट्रोल पम्प खोलेर एउटाले पैसा कमाएको देखेको भरमा विना आवश्यकता जहा ँपायो त्यही पम्प खोल्न निगमले दिँदैन’ उनले भने, ‘जहाँ पम्प खोल्न आवस्यक छ, त्यसको पहिचाहन गरेर मात्र निगमले स्विकृत दिन्छ ।’

उनले ऐन, नियम र कानुनका कारण विभिन्न समस्या देखिएपनि निगमले सहजीकरण गर्दै व्यवसायीको हितमा काम गरेको दावी गरे ।

पौडेलले अहिले सम्म आयलनिगमले ब्यवसायीको माग अनुसार पेट्रोलियम पदार्थ दिएको भएपनि भारतीय आलय निगमले कोटा वृद्धि नगरेका कारण आगामी दिनमा माग गरे अनुसार दिन नसकिने बताए । उनले नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो भएकाले खुल्ला सीमाका कारण नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुन थालेपछि बाध्य भएर निगमले मुल्य वृद्धि गरेको बताए । ‘खुला सीमाका कारण दैनिकरुपमा ग्यालिनका ग्यालिन पेट्रोलियम पदार्थ भारत तर्फ जानेगरेको छ’ उनले भने ।

नेपाल आयल निगम गगनगौडा डिपोका प्रमुख पुस्कर कार्कीले आफ्नो एकवर्षे कार्यकालमा निगम र व्यवसायीको हितमा काम गरेको बताए । उनले व्यवसायीको आवस्यकता र माग अनुसार पेट्रोलियम पदार्थको नियमित आपुर्तिको व्यवस्था मिलाएको बताए । 

उनले गगनगौडा डिपोको क्षमता विस्तारको प्रक्रिया अगाडि बढेको बताउँदै आगामी दिनमा यस गण्डकी प्रदेशलाई ९० दिन पुग्ने गरी पेट्रोलियम भण्डारण हुने बताए ।

नेपाल पेट्रोलियम डिलर एशोसिएसनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थको मुनाफा वृद्धि गर्न निगमले जालझेल गरेको आरोप लगाए । उनले निगमले व्यवसायीलाई शासकले जस्तो व्यवहार गर्ने गरेको बताए । ‘निगम, व्यवसायीको सम्वन्ध शासक र शासित जस्तो छ,’ उनले भने, ‘जहिलेपनि निगमले ब्यवसायीलाई यस्तै ब्यवहार गर्दै आएको छ ।’ 

अध्यक्ष प्रधानले निगम र व्यवसायीबीच सौहार्द सम्वन्ध भएमात्र उपभोक्तालाई सहज हुने बताए । उनले आगामी दिनमा देशभर आवश्यक पर्ने पेट्रोल पम्म खोल्नका लागि निगमले तत्कालै अध्ययन थाल्नु पर्नेमा जोड दिए । 
पोखराको गगनगौडास्थित निर्माणधीन नयाँ डिपोका प्रमुख मनोज ठाकुले १० हजार किलोवाट क्षमताको पेट्रोलियम भण्डारण (डिपो) निर्माण तीव्ररुपमा अगाडि बढेको बताए । उनले नयाँ बन्नलागेको भण्डारण ट्याङ्की लगायतका अन्य पूर्वाधार अत्याधुनिक हुने बताए । उनले डिपोमा रिमोटकन्ट्रोलको प्रविधि जडान हुने बताए । नयाँ डिपोका प्रमुख ठाकुले आवस्यक भौतिक प्रगति, जडान गरिने प्रविधि, भौतिक संरचना लगायत वारेमा प्रष्ट्याएका थिए ।

एशोसियसनका अध्यक्ष राजन गंगजुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष वीरबहादुर गुरुङ,मोहन सुवेदी र गण्डकी ट्याङकर ब्यवसायी समितिका अध्यक्ष सुरेन्द्ररमण पराजुली लगायतले बोलेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप