बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : एक वर्षमा ४८ जनाको हत्या, ४४५ बलात्कारका घटना

शनिबार, ०८ फागुन २०७७, १० : २६
शनिबार, ०८ फागुन २०७७

बागमती प्रदेशमा यस वर्ष ४८ जनाको हत्या तथा ४४५ वटा बलात्कारका घटना प्रकाशमा आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । 
प्रदेशमा सन् २०२० मा मात्रै राज्य पक्षबाट एक जना र अन्य पक्षबाट ४७ जना गरी कुल ४८ जनाको हत्या गरिएको तथ्याङ्क सार्वजनिक भएको छ । त्यस्तै प्रदेशभर २३५ बालिका र २१० महिलासहित ४४५ जना बलात्कृत भएका छन् भने ५ जना महिला बेचिएका छन् ।

इन्सेकका अनुसार सो अवधिमा ३४ जना महिलामाथि बलात्कारको प्रयास भएको छ भने ११ वटा यौन दुर्व्यवहार र ५ जना महिलामाथि बेचबिखनको प्रयास भएको छ । 
सन् २०२० मा प्रदेशमा महिलामाथि हुने घरेलु हिंसाका ७० वटा घटना, ८ वटा कथित बोक्सीको आरोप र ७६ वटा बहुविवाहका घटना प्रकाशमा आएको जनाइएको छ ।

सो अवधिमा ६ जना बालक र ८१ जना बालिकासहित कूल ८७ जनामाथि यौन दुर्व्यवहार भएको छ भने ५ जना नवजात शिशुको हत्या हुनुको साथै ८ जना बालिका बेचबिखनमा परेका छन् ।
यस्तै ३ बालिका बालविवाहको सिकार बनेका छन् भने २ बालकमाथि संस्थागत यातनाका घटना भएका छन् ।

सन् २०२० मा बागमती प्रदेशमा १ हजार ४ सय ९२ वटा मानव अघिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएको इन्सेकले जनाएको छ । जसमध्ये राज्य पक्षबाट १९ जना महिला र २१९ जना पुरुष गरी कुल २३८ तथा अन्य पक्षबाट ७८२ जना महिला र ७१ जना पुरुष गरी कूल ८ सय ५४ वटा त्यस्ता घटना भएका हुन् । 

सो वर्ष एक जना महिला र ३५ जना पुरुषसहित ३६ जनाको कारागारभित्र मृत्यु भएको छ भने ५ जना अन्य पक्षबाट अपहरणमा परेका छन् । राज्य पक्षबाट ११ वटा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका घटना भएका छन् भने २ जना महिला र १५ जना पुरुषमाथि राज्य पक्षले कुटपिट गरेको छ । अन्य पक्षबाट ३ जना महिला र २५ जना पुरुष कुटपिटमा परेका छन् ।

नेपाल मानव अधिकार बर्ष पुस्तक २०७१ सार्वजनिक 
इन्सेक मकवानपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०७१ सार्वजनिक गरेको छ । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाले उक्त पुस्तकको २९ औँ संस्करण सार्वजनिक गरेका हुन् । पुस्तकमा बागमती प्रदेश अन्तर्गत सन् २०२० को मानव अधिकारको अवस्था, मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना, बाल अधिकार र महिला अधिकारका घटना तथा पीडितको तथ्याङ्क अभिलेख गरिएका इन्सेक मकवानपुरका कार्यक्रम संयोजक कृष्ण गौतमले रातोपाटीलाई जानकारी दिए । 

प्रत्येक वर्ष प्रजातन्त्र दिवसको दिन नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप