शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कथा :  पहिलो घुस

शनिबार, ०८ फागुन २०७७, ०८ : ५३
शनिबार, ०८ फागुन २०७७

- बलबहादुर थापा मगर

उसले तलब थाप्नेबित्तिकै रकमको जोड–घटाउ गर्न थाल्यो । चिया पसलको उधारो दुई हजार । मोबाइल खर्च एक हजार । आगामी महिनाको खाजा खर्च तीन हजार । बुट फाटेको छ, किन्नका लागि दुई हजार । युनिफर्म खुइलिएर सेतै भएको छ । हाकिमबाट तीन पुस्तालाई पुग्ने गाली खाइसकिएको छ । स्केलमा पाउनुपर्ने पोसाक वर्षौं बित्दा पनि पाइँदैन । नयाँ किन्नका लागि तीन हजार । हातमा लगाउने पञ्जा, मास्क, अन्य खत्राङ्खुत्रुङ किन्नका लागि एक हजार । बाँकी रहेको रकम घर पठाउने । सबै रकमको प्लस माइनस मिलेपछि बैङ्क गयो र केही रकम घर पठायो ।
भोलिपल्ट बिहानै उठ्यो । नित्यकर्म गर्‍यो । ट्राफिकको युनिफर्म लगायो र दिनभरको डिउटीका लागि रोडतिर निस्कियो ।

आफैले खाना खान सजिलो हुन्छ । अरुलाई खुवाउन गाह्रो हुन्छ । ट्राफिक नियम पनि त्यस्तै हो । पालना गराउनु गाह्रो हुन्छ । पब्लिकसँग डिस्कस गर्दा कहिलेकाहीँ आफ्नै बोलीमा फुत्काउन नमिल्ने बोलीहरु निस्किहाल्छ । अनि, त्यही भाइरल बनिदिन्छ । हातमा कारबाहीको पत्र आउदा तीन तारा देखिन्छ ।  

शङ्कास्पद माइक्रोबस देखेपछि उसले रोक्नलाई हातले इसारा गर्‍यो ।  कागपत्रहरु माग्यो ।
रुट परमिट खै ? उसले सडक इजाजत पत्र देखाउन अनुरोध गर्‍यो ।
“छैन सर ।”  चालकले मसिनो स्वरमा भने ।

“दुई, चार पैसा दिनुस् न छोडिहाल्छ ।” एकजना यात्रुले निर्देशित भावमा चालकलाई इसारा गर्दै भने ।
अर्को यात्रुले प्याच्च मुख फोरिहाले– “यी ट्राफिकहरु कम्ता चुतिया हुन्छन् । पैसा भनेपछि जुत्ताको तलुवा चाट्छन् ।”

यी सबै कुरा सुनेको ट्राफिक चुपचाप थियो । गाडीलाई साइड लगाउन अनुरोध गर्‍यो र माथिल्लो कमान्डरलाई रिपोर्ट गर्नको लागि खल्तीबाट मोबाइल झिक्यो ।
“सर माथि कुरा नपुर्‍याउनुस् न । लफडा हुन्छ । तीन चार दिन यतै भौँतारिनुपर्छ । बैङ्क जाउ ।  ट्राफिक कार्यालय जाउ । यातायात कार्यालय जाउ । मेरो त जिना हराम हुन्छ । बरु यतै मिलाइदिनुस् ।”  चालकले विनम्र हुँदै अनुरोध गर्‍यो ।

कानुन उल्लङ्घन गर्ने तपाईं । सजाय पनि तपाईंले नै भोग्नुपर्‍यो नि ? एकछिन यतै बस्नुस् । म माथि रिपोर्ट गर्छु । कानुनी प्रक्रिया पूरा गरेर मात्र सवारी लिएर जानुस् ।“  उसले निर्देशित भावमा भन्यो ।
यत्तिकैमा उसको फोनको घण्टी बज्यो । श्रीमतीको फोन रहेछ । हतार हतारमा फोन उठाउँदै म डिउटीमा छु भन्दै फोन राख्न खोज्यो ।

उताबाट कर्कस आवाज आइहाल्यो – “तिमी डिउटी भन्दै बस । तिम्ले पठा’को पाँच हजारले डल्ले साहुको पसलमा उधारो तिर्न पनि पुगेन । चामल सकिएको छ । नुन तेल छैन । छोरीको स्कुल फी तिर्नुछ । तिम्री आमाको औषधि किन्ने पैसा छैन । बुवाको क्रिया गर्दा लागेको ऋण तिम्ले निकालेको सञ्चय कोषले छेउ टुप्पो भएन । म घर व्यवहार चलाउन सक्दिनँ । जे गर्नुछ गर ।”
ऊ चुपचाप श्रीमतीको आवाज सुनिरह्यो । केही बोलेन ।

सडकमा उभिएर डिउटी गर्नुभन्दा घर व्यवहार चलाउन गाह्रो छ । धन्न गरेकी छे । नकराई के गरोस्, बिचरी । सिपाहीको नोकरीले के नै पुग्छ र ? घर व्यवहार चलाउनु दूरको कुरा, आफ्नै खर्च पनि पुग्दैन । जत्ति नै मख्खिचुस भए पनि नसकिने रहेछ । उसले मनमनै धेरै कुरा खेलायो ।

उसले केही नबोली फोन काट्यो । र माइक्रो बसको अगाडि पुग्यो । चालकले उसलाई छोडिदिन पुन अनुरोध गर्‍यो । उसले इन्कार गर्‍यो ।
चालकले खल्तीबाट अलिकति रकम दिँदै एकपटक माफी दिन बिन्ती बिसायो । उसले नियमानुसार काम गर्ने भन्दै ठूला आँखाले चालकलाई घुरेर हेर्‍यो ।

एकछिन शान्त भएर उभियो । मनमनै कुरा खेलाइरह्यो । श्रीमतीले भनेका कुराले मनमा खैलाबैला मच्चाइरह्यो । सानो परिवारसमेत चलाउन नसकिने सिपाहीको जागिरप्रति आफैलाई घृणा लागेर आयो । आफ्नै नोकरीप्रति तुच्छभाव जागेर आयो । भोको पेटले राष्ट्रप्रेम जाग्ने रहेनछ । मनमनै आफ्नो खोक्रो राष्ट्रप्रेमलाई निचभावले बेस्सरी गाली गर्‍यो ।

ऊ चालक अगाडि गयो । अघि दिएको केही रकम हातमा लियो र गाडी लैजान अनुरोध गर्‍यो । चालकले खुशी हुँदै गाडी अगाडि बढाए । यसरी उसले पहिलो पटक घुस खायो ।

बागलुङ नगरपालिका– १०, भकुण्डे अर्भक
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा