बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

ओली सरकारले दमनकारी क्रियाकलाप गरिराखेको छ: नारायणकाजी श्रेष्ठ

शुक्रबार, ०७ फागुन २०७७, १७ : ५६
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतिपूर्ण  ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडाँमा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका हुन् ।

यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए । उनले भने– ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधिसभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरित गैह्रकानूनी ढंगले ज्यादतीपूर्ण, बलमिच्याहिंपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’

प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेसी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिवद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाडने पनि बताए । उनले भने, ‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यसप्रकारको दमनकारी क्रियाकलापलाई पुरै बन्द गर्दै र नेपालमा फेरि सामाजिक, आर्थिक रुपान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं ।’

निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाई गरेकोप्रति आफूहरु सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताए । तर पनि ढिलोचाँडो संविधान र कानूनअनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको पनि बताए । उनले भने– ‘निर्वाचन आयोगले ढिलाई गरेको कुराप्रति हामी सन्तुष्ट छैनौं । तर पनि संवैधानिक अंगहरु सबैले संविधान र कानूनअनुसार ढिलोचाँडो सहि फैसला गर्नेछन् भन्ने अपेक्षा गर्दछौं ।’

शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा समेत गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको संघर्षमा सत्तासिन गुट बाहेक सिंगो देश एकतावद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्याङ्कन बैठकले गरेको बताए ।

सर्वोच्च आदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको बताए । उनले भने, ‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधीन मुद्दाका बारेमा फैसाला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधानसम्मत ढंगले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गरेको छ ।’

सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानूनी लडाई समेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै पार्टी एकीकरणका काम छिट्टै पुरा गर्ने र त्यस अन्तर्गत प्रदेश कमिटीका पदाधिकारीहरुको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीहरुको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पुरा गर्ने विषय केही दिन भित्रमा पूर्ण गरिने र त्यसको निम्ति प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारको बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्षद्धयले गराउनुभएको प्रवक्ता श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप