शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मङ्गल अभियानमा नासाले रच्यो नयाँ इतिहास

मङ्गल ग्रहमा ओर्लियो रोवर पर्सिवरेन्स, अब उड्नेछ हेलीकोप्टर
शुक्रबार, ०७ फागुन २०७७, १० : ०८
शुक्रबार, ०७ फागुन २०७७

वाशिंगटन । अमेरिकी स्पेस एजेन्सी (नासा)को मङ्गल अभियान सफलतासाथ सम्पन्न भएको छ । शुक्रवार राति यस अभियानको  ‘पर्सिवरेन्स मार्स रोवर’ (Perseverance Mars Rover ) ले मङ्गलमा ल्याण्ड गरेको हो । रोवरले ल्याण्ड गरेपछि पठाएको सन्देश  आई पुग्नसाथ परियोजनामा संलग्न व्यक्तिले ताली बजाएर खुशी प्रकट गरेका थिए ।  रोवरको यस ल्यान्डिङले  नासाको दस वर्षको मेहनत सफल भएको छ । रोवरले नेपाली समय अनुसार शुक्रवार राति २ बजेर ४० मिनेटमा मङ्गल सतहमा अवतरण गरेको  थियो ।

Bill Ingalls / NASA

नासाको यस मङ्गल अभियानको उद्देश्य मङ्गलमा जीवनको सम्भावना खोज्नु रहेको छ ।  पर्सिवरेन्स मार्स रोवरले मङ्गल ग्रहको अप्ठेरो स्थान जेजेरो क्रेटर (Jezero Crater) मा अवतरण गरेको छ ।  वैज्ञानिकहरुका अनुसार मङ्गलको यस ठाउँमा अर्बौं वर्ष पहिला एउटा नदी बग्दथ्यो । मङ्गल ग्रहको बदलिएको वातावरण र पर्यावरणले त्यो नदी सुकेर डेल्टामा परिणत भयो । वैज्ञानिकहरुलाई विश्वास छ, यस डेल्टाका वरिपरी जीवनका जीवाश्म भेटिन सकिन्छ ।

अत्याधुनिक वैज्ञानिक उपकरणजडित पर्सिवरेन्स रोवरले मङ्गलको यस स्थानमा खनेर–खोस्रेर सुक्ष्म जीवनबारे अनुसन्धान गर्नेछ । ६ पांग्रा भएको पर्सिवरेन्स रोवर न्यूक्लियर शक्तिबाट  संचालित हुने रोवर हो । यस अभियानको प्रमुख उद्देश्यमा मङ्गल ग्रहमा भविष्यमा मानव बस्ती बसाउने सम्भावना छ कि छैन भनेर अध्ययन गर्नु पनि रहेको छ ।

नासाको यो अभियान  निकै चुनौतीपूर्ण थियो ।  पहिलो, नासाले यस अभियानको रोवर अवतरणका लागि विकट स्थान जेजेरो क्रेटरलाई अवततरणस्थल बनाएको थियो र दोस्रो, यसपटकको रोवरको भार एक टनभन्दा बढी रहेको थियो ।

नासालाई थाहा थियो अवतरणका क्रममा अन्तिमका सात मिनेट अत्यन्त महत्त्वपूर्ण हुनेछ ।  नासाले यी सात मिनेटका लागि अनेको पटक रिहर्सल गरेको थियो । जति रिहर्सल गरे पनि, जति उन्नत प्रविधि भए पनि यदी अन्तिम सात मिनेटमा अवतरण गर्ने क्रममा कुनै व्यवधान आएको भए नासासँग केही गर्न सक्ने कुनै उपाय थिएन ।  नासाले उपाय स्वरुप पठाएका कमाण्ड रोवरसम्म पुग्नु अगावै रोवर मङ्गलमा बजारिएर नष्ट हुन पुग्थ्यो ।  कारण पृथ्वीबाट पठाएको कमाण्ड पुग्न ११ मिनेटको समय लाग्थ्यो, त्योभन्दा धेरै अगाडि रोवर मङ्गलमा बजारिन पुग्थ्यो ।   

तर सौभाग्यवस रोवरलाई अवतरण गर्ने क्रममा कुनै अप्ठेरो स्थितिको सामना गर्नुपरेन । यसलाई कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टिेलिजेन्स) कै कमाल भन्नु पर्छ । यो रोवर आउदो दस  वर्षसम्म काम गरी रहनेछ ।  यसले मङ्गलबाट पृथ्वीस्थित नियन्त्रण कक्षलाई अनेक किसिमका जानकारी पठाइरहनेछ । यसले पठाएका  सन्देश (फोटोलाई पृथ्वीमा आइपुग्न झण्डै ११ प्लस मिनेटको समय लाग्नेछ ।

नासाको पृथ्वीस्थित नियन्त्रण कक्ष र रोवरका बीचको दूरी प्रत्येक दिन बदली रहन्छ अर्थात रोवर पर्सिवरेन्सले पठाएका सन्देश पृथ्वीमा आइपुग्न लाग्ने समय बदली रहनेछ । दुबै बीच  दूरी बढ्ने क्रममा  दूरी बढेर ४० करोड किमीसम्म हुन पुग्नेछ । दूरी बढ्दै जादा रोवरले पठाएका सन्देश नियन्त्रण कक्षसम्म आइपुग्न समय थपिदै जानेछ । रेडियो सन्देशले  प्रकाशको गति बराबरी २९९७९२.४५७ किमीप्रति सेकेण्डले गति लिने गर्छ । दूरी ४० करोड पुग्दा रोवरले पठाएका सन्देश पृथ्वीमा आइपुग्न २२ मिनेटको समय लाग्नेछ ।

Stuart C. Wilson / Getty Images

अवतरण

रोवरको अवतरणको क्रममा नासाको यानले मङ्गलको आर्बिटमा प्रवेश गरेको थियो । त्यसपछि रोवर राखिएको ल्याण्डर अर्थात मङ्गलमा प्रवेश गर्ने क्याप्सुल यानसँग विच्छेद भएर मङ्गल धरातलको दिशामा अघि बढेको थियो । यस क्याप्सुलमा पनि अनेकौ इन्जिन रहेका थिए । यसले झण्डै २० हजार किमीप्रति घन्टाको गतिले मङ्गल ग्रहको माथिल्लो वातावरणमा प्रवेश गरेको थियो । मङ्गलको माथिल्लो वायुमण्डलमा प्रवेश गर्नसाथ भएको घर्षण (Friction)  का कारण क्याप्सुलको तल्लो भागको   तापमान  १,३०० डिग्री सेल्सियस हुन पुगेको थियो ।  तर क्याप्सूलको डिजाइन नै यसरी गरिएको थियो कि यसभित्र राखिएको रोवरलाई भने कुनै हानी भएन ।

त्यसपछि क्याप्सुलमा रहेको प्याराशुट खोलियो । प्याराशुट खोलिन साथ क्याप्सुलबाट रोवर राखिएको अर्काे क्याप्सुल विच्छेद भइ प्यारशुटका माध्यमले मङ्गलको यात्रामा अघि बढ्यो । रोवरमा जडान गरिएको राडारले यसलाई सारा जानकारी उपलब्ध गराइरहेको थियो । रोवरमा अवतरण हेतु एउटा अति उच्च प्रविधि Terrain Relative Navigation जडान  गरिएको  थियो । यस प्रविधिले रोवरलाई ओर्लिने ठाउँको नक्शा र फोटो उपलब्ध गराइरहेको थियो, यसकै  आधारमा रोवर मङ्गल विजय  गर्ने क्रममा सुरक्षित रूपले अघि बढ्दै गयो । नासाले यस अभियानको अवतरणमा ‘स्काईक्रेन’ प्रविधिको प्रयोग गरेको थियो।  नासाले  यस अघि यसै प्रविधिबाट आफ्नो एउटा ‘स्पेस प्रोभ’  OSIRIS-REx  एउटा छुद्रग्रहमा  '101955 Bennu'  मा सन २०१८ मा अवतरण गराएको थियो।

अबको काम

अब रोवर पर्सिवरेन्सले मङ्गल ग्रहमा विचरण गर्दै अनेकौँ वैज्ञानिक प्रयोग गर्ने छ । माटो, ढुङ्गा,वालुवाका नमूना एकत्रित गर्नुका साथै यसले बालुवामा ‘माइक्रोब्याक्टेरियल’ जीवनको जीवाश्म खोज्ने महत्त्वपूर्ण काम गर्नेछ । रोवरले मङ्गल ग्रहमा अक्सिजन बनाउने काम पनि गर्नेछ । यो रोवर कृतिम बौद्धिकता (आर्टिफिसियल  इन्टिेलिजेन्स) को सर्वाेत्कृष्ट संरचना एवम् प्रयोग साबित हुने आशा गरिएको छ। नासाले यसलाई थप कुनै कमाण्ड नपठाए पनि आउँदो दस  वर्षसम्म यसले काम गरिराख्नेछ । यसको मेमोरीमा नासाका वैज्ञानिकले दस वर्षको कमाण्ड लेखेर यसलाई बनाएका हुन् । दस वर्षसम्मका लागि लिखित सबै कमाण्ड यसले स्वतः सञ्चालित गरी काम गरिरहने छ ।

रोवरले आफुसँग रहेको एउटा ड्रोन हेलिकाप्टरलाई पनि मङ्गलको सतहबाट आकाशमा उडाउने काम गर्छ । रोवरमा हेलिकाप्टरलाई ५ पटकसम्म उडाउने ‘बुद्धि’ हालिएको छ । यस हेलिकाप्टरले उडेर माथि आकाशबाट मङ्गल ग्रहका तस्वीर लिनुका साथै अनेको अन्य महत्त्वपूर्ण जानकारी जुटाउने छ ।  रोवर र हेलिकाप्टर दुबैमा अनेको क्यामेरा, माइक्रोफोनका साथै थुप्रै वैज्ञानिक उपकरण जडान  गरिएका छन् ।

(रातोपाटी अनलाइनले यस अभियानका बारेमा थप जानकारी दिने काम गरी रहन्छ । नासाको यस अभियानबारे अपडेट हुन रातोपाटी पढ्दै गर्नुहोला ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप