शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गलवान संघर्षमा आफ्ना सैनिक मारिएको चीनद्वारा पहिलो पटक स्वीकार

शुक्रबार, ०७ फागुन २०७७, ०९ : ५६
शुक्रबार, ०७ फागुन २०७७

अघिल्लो वर्ष जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा भारतीय सेनासँग भएको संघर्षमा आफ्ना पाँच अधिकारी र सैनिक मारिएको चीनले पहिलो पटक स्विकार गरेको छ ।

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाको आधिकारिक पत्रिका पिएलए डेलीलाई उद्धृत गर्दै चीनले पहिलो पटक आफ्नो सम्प्रभुता रक्षाका लागि बलिदान दिने सैनिकलाई श्रद्धाञ्जली दिनका लागि उनीहरुको नाम र उनीहरुबारे विस्तृत जानकारी दिएको बताएको छ ।

पीएलए डेलीले शुक्रबार आफ्नो रिपोर्टमा लेखे अनुसार चीनको सेन्ट्रल मिलिट्री कमिशनले काराकोरम पहाडमा चीनका पाँच अधिकारी र सैनिकको पहिचान गरेको छ र उनीहरुलाई पदवीसहित सम्मानित गरिएको छ ।

रिपोर्टमा पहिलोपटक चिनियाँ सेनाले गलवान संघर्षको विस्तृत विवरण दिएको छ र भारतीय सेनाले त्यहाँ ठूलो संख्यामा सैनिक पठाएको तर उनीहरुको लुकेको अवस्थामा रहेको बताउँदै उनीहरुले चिनियाँ सेनालाई पछि हट्न बाध्य बनाइरहेको पनि यसमा उल्लेख छ ।

रिपोर्टमा चिनियाँ सैनिकले स्टिलको डण्डी, तिखा लठ्ठी र ढुङ्गाले हमला गरेर आफ्नो देशको सम्प्रभुताको रक्षा गरेको बताइएको छ ।

पीएलए डेलीको रिपोर्टमा लेखिएको छ, ‘अप्रिल २०२० पछि विदेशी सेनाले पछिल्ला सम्झौता उल्लंघन गरे, उनीहरु बाटो र पूल बनाउनका लागि सीमा पार गर्न थाले र सीमामा यथास्थिति परिवर्तन गरेर जानीजानी उक्साए । उनीहरुले कुरा गर्न पठाएका चिनियाँ सैनिकमाथि हमला पनि गरे ।’

पत्रिकाका अनुसार चीनका एक सैनिक चेन शियांगराङ्गले आफ्नो डायरीमा लेखेका छन्, ‘दुश्मनको संख्या असाध्यै धेरै थियो तर हामीले घुँडा टेकेनौं । उनीहरुले ढुङ्गाले हमला गर्दासमेत हामीले उनीहरुलाई भगाइदियौं ।’

पूर्वी लद्दाखको गलवान घाटीमा अघिल्लो वर्ष १५ जूनमा भएको संघर्षलाई भारत–चीन सीमामा पछिल्लो चार दशकमा सबैभन्दा गम्भीर संघर्ष बताइएको छ ।

यसमा भारतका २० सैनिकको मृत्यु भएको थियो । भारतले आफ्ना सैनिक हताहत भएको घोषणा त्यतिबेलै गरेको थियो तर चीनले अहिलेसम्म आफ्ना सैनिकमाथि भएको क्षतीको कुनै पनि विवरण दिएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप