शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैठकदेखि सार्वजनिक मञ्चसम्म देउवा–पौडेलको जुहारी, काँग्रेस बैठक सुरु

बिहीबार, ०६ फागुन २०७७, १६ : ५२
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो तीन बजेका लागि बोलाइएको बैठक साढे ४ बजेबाट सुरु भएको हो । बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र संसद विघटनविरुद्धको ठोस नीतिका विषयमा बुधबारबाट छलफल सुरु भएको छ ।

बुधबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरिएको थियो । काँग्रेसले १४ औँ महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

केन्द्रीय महाधिवेशन बाहेकको कार्यतालिकामा  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संशोधनको आवश्यकता औँल्याएको छ । हिजोको बैठकमा पौडेलले उक्त मितिलाई परिमार्जनसहित अगाडि सार्नुपर्ने धारणा राखेका थिए । तत्लो तहको अधिवेशनको मिति व्यवहारिक नभएको उनको भनाइ थियो ।

संसद विघटनविरुद्धमा गरिएका आन्दोलनको समीक्षा र नयाँ कार्यक्रमबारे पनि छलफल भइरहेको छ । अब शक्ति प्रदर्शनका रुपमा विरोधका नयाँ कार्यक्रम ल्याउनुपर्नेमा नेताहरुको जोड छ । बैठकमा वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा निर्णय लिन माग गरेका थिए ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भनेर विरोधमा उत्रिए पनि पुनःस्थापना कि निर्वाचन भन्नेमा काँग्रेसले अहिलेसम्म औपचारिक धारणा बनाएको छैन । प्रतिनिधिसभा पुनःस्थापना, संवैधानिक आयोगमा भएका नियुक्तिहरूको खारेजी र मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय पार्टीले गर्नुपर्ने प्रस्ताव पौडेलको थियो ।

यी सबै विषयमा संसद विघटनबारे सर्वोच्चको फैसलापछि निर्णय लिने वा आज भन्नेमा पनि काँग्रेसमा अन्यौलता देखिन्छ । बैठक र सार्वजनिक मञ्चमा यी विषयमा सभापति शेरबहादुर देउवा र पौडेलबीच जुहारी चलिने गरेको छ । बुधबार केन्द्रीय समिति बैठकमा देउवा र पौडेलबीच देखिएको जुहारीको प्रभाव आज पोखरामा पनि देखिएको छ ।

विहीबार पोखरामा भएको नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनमा पनि देउवा र पौडेलबीच संसद विघटनपछिको नीतिका विषयमा फरक फरक धारणा आएको थियो । आजको बैठकले महाधिवेशनबाहेकका विषयमा निर्णय लिने सम्भावना कम रहेको स्रोतले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप