शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नासाले थाल्यो परमाणु रकेट बनाउने तयारी

बिहीबार, ०६ फागुन २०७७, १४ : ५४
बिहीबार, ०६ फागुन २०७७

अमेरिकी अन्तरिक्ष संस्था नासा अब नयाँ पुस्ताको रकेट बनाउने तयारीमा लागेको छ। अहिलेको प्रविधिमा क्रान्तिकारी सुधार गरेर परमाणु शक्तिबाट सञ्चालित हुने रकेट बनाउने  क्रम अगाडि बढेको हो। अहिलेसम्मको प्रविधिमा सबै देशले विभिन्न रासायनिक इन्धन प्रयुक्त हुने रकेट प्रयोगमा ल्याइरहेका छन्। जसका कारण इन्धन भण्डारणको चर्को समस्याले गर्दा रकेटको अधिकांश भार बोक्ने क्षमता इन्धन बोक्नेमा नै खर्च भइरहेको छ।

र, यस इन्धनको शक्तिले रकेटको गति पनि सीमित नै रहिरहेको छ।  ज्ञातव्य होस्, पृथ्वीको गुरुत्वाकर्षणलाई निरस्त गरी अन्तरिक्ष यात्रा गर्न झण्डै ११ दशमलब २ किमी प्रति सेकेण्डको गति आवश्यक हुन्छ। अहिलेसम्मका आधुनिक रकेटको गति १६-१८ किमि प्रति सेकेण्डमै सीमित रहेको छ।

अन्तरिक्ष यात्रालाई सजिलो र द्रुत गतिमा लैजान नासाले परमाणु शक्तिबाट संचालित हुने  रकेटको अवधारणा ल्याएको छ। परमाणु शक्तिबाट संचालित हुने रकेटले भविष्यमा ठूलो फड्को मारी अन्तरिक्ष यात्रालाई अहिलेको तुलनामा तीन गुणा द्रुततर बनाउने नासाले जनाएको छ।

नासाको स्पेस टेक्नोलोजी मिशन डायरेक्ट्रेटका प्रमुख इन्जिनियर जेफ शेही भन्छन् - अहिलेका केमिकल इन्जिन जडान भएका रकेटबाट अन्तरिक्षको छेउछाउमा त पुग्न सकिन्छ तर सुदूर अन्तरिक्षको यात्रा गर्न यी रकेटको गति पर्याप्त छैन।  अहिलेका रकेटको गतिले मंगल ग्रह पुग्न नै ९ महिनाको समय लाग्छ। यो पटक्कै व्यवहारिक छैन। जस्तो कि अहिलेका प्रविधिको रकेटबाट मंगल ग्रहको दुईतर्फी यात्रा गर्ने हो भने मंगल ग्रह पुगी पृथ्वीमा फर्किन ३ वर्षको समय लाग्छ।  यति लामो समयसम्म यात्रा गर्न मानवलाई चाहिने आवश्यक कुराको जोहो रकेटमा गर्न सम्भव छैन। अब हामीले नयाँ पुस्ताका द्रुत गतिले उड्ने रकेट निर्माण गर्ने बेला आएको छ,अन्यथा मंगल ग्रह कै मानव यात्रा कल्पनामै सीमित रहन्छ।  

 सिएटलस्थित कम्पनी अल्ट्रा सेफ न्यूक्लियर टेक्नोलोजीज (USNC-Tech) ले नासालाई परमाणु थर्मल प्रोपल्शन (NTP ) इन्जिन बनाउने प्रस्ताव गरेको छ। यस प्रविधिले बनेका रकेट अहिलेको रकेटको तुलनामा  कैयन गुणा शक्तिशाली हुन्छन् । हुन त परमाणु शक्तिबाट संचालित हुने रकेट बनाउने कल्पना पुराने हो । पहिलो पटक सन् १९४० को दशकमै  यसको योजना गरिएको थियो। तर त्यस बेलाको उपलब्ध प्रविधिले यस योजनामा प्रगति हुन सकेको थिएन। अहिले विकसित भएका प्रविधिले गर्दा  पुनः यस दिशामा सोच विचार हुन थालेको हो।

USNC-Tech का  इन्जिनियरिङ  निदेशक माइकल ईड्सका अनुसार परमाणु ऊर्जाले संचालित हुने रकेट अहिलेका रासायनिक इन्जिनका रकेटको तुलनामा कैयन गुणा शक्तिशाली, दक्ष र सुरक्षित हुने छन् । तर रासायनिक इन्जिनको तुलनामा परमाणु इन्जिनको निर्माण गर्नु अत्यन्त जटिल प्रक्रिया हुने छ।  यसका लागि यूरेनियमको प्रयोग गर्नु पर्छ।  तर यूरेनियमको दहनले चरम तापमान उत्पन्न गर्छ।  अहिलेको मुख्य चुनौती यूरेनियम दहनबाट उत्पन्न हुने तापमानलाई कसरी नियन्त्रित गर्ने भन्ने नै प्रमुख टड़्कारो बनेको छ।  

थर्मल इन्जिनभित्र यूरेनियम  दहन हुँदा  २५०० डिग्री सेन्टिग्रेडको तापमान उत्पन्न हुन  सक्छ।  रकेटभित्र उत्पन्न भएको यतिको चरम तापमानले त्यहाँभित्र हुने मानिसलाई कसरी  सुरक्षित राख्ने यो नै यस प्रविधिका रकेटको सबै भन्दा ठूलो चुनौती बनेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप