शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिकहरुले अर्को बर्मुडा त्रिकोण पत्ता लगाए, सेटेलाइट नै ध्वस्त हुन सक्ने खतरा

बिहीबार, ०६ फागुन २०७७, १४ : ४३
बिहीबार, ०६ फागुन २०७७

विज्ञान डेस्क । पृथ्वीमा एउटा यस्तो स्थान छ, त्यहाँ पुग्ने जुनसुकै हवाइजहाज, पानीजहाज बेपत्ता हुन्छन् । यसको रहस्य अझैसम्म सुल्झिन सकेको छैन, आखिर यहाँ पुग्ने जहाजहरु कहाँ र कसरी बेपत्ता हुन्छन् ?
यस ठाउँलाई रहस्यमयी बर्मुडा त्रिकोण भनिन्छ । अनेकौँ पटक यस ठाउँको अनुसन्धान गर्ने  प्रयास गरिए तर यस दिशामा केही प्रगति हुन सकेन । पृथ्वीको बर्मुडा त्रिकोणको रहस्य यथावत् रहेका बेला वैज्ञानिकहरुले अन्तरिक्षमा पनि यस्तै किसिमको रहस्यमय स्थान पत्ता लाएका छन् ।  पृथ्वीदेखि  ४०० किमिमाथि रहेको 'इन्टरनेसनल स्पेस स्टेसन' त्यतिमाथिबाट पृथ्वीको  परिक्रमा गरिरहन्छ ।

पृथ्वीको आफ्नो अक्षमा घुम्ने गति जहाँ ४६५ मिटर प्रतिसेकेन्ड छ र यसले झण्डै २४ घण्टामा अक्षको एउटा फन्को लाउँछ ।  तर मानवनिर्मित स्पेस स्टेसनले भने पृथ्वीभन्दा तीव्र गतिमा  पृथ्वीकै गति गर्ने दिशाका सापेक्ष पृथ्वीको परिक्रमा गर्छ । अचम्म न मान्नुस् स्पेस स्टेसनले पृथ्वीभन्दा  झण्डै १६ गुना बढी गतिले पृथ्वी परिक्रमा गर्छ । स्पेस स्टेसनको पृथ्वीलाई परिक्रमा गर्ने गति ७ दशमलब ६६ किमि प्रतिसेकेन्ड हुन्छ ।
केही बुझ्नुभयो तपाईंले ? केही शङ्का लागेन तपाईंलाई ? पक्कै लागेको हुनुपर्छ तपाईंको मनमा शङ्का !

पृथ्वीले जुन  गतिले आफ्नो अक्षको परिक्रमा गर्दै २४ घण्टामा एउटा फन्को पूरा गर्छ, त्यसले एउटा प्राकृतिक व्यवस्था चलिआएको छ ।  पृथ्वीको जुनसुकै भागबाट २४ घण्टामा एकपटक सूर्योदय भएको दृश्य देखिन्छ । तर कल्पना गर्नुस् पृथ्वीले आफ्नो गति बढाएर १२ घण्टामै एउटा फन्को लाउने हो भने के हुन्थ्यो ? तपाईंलाई भन्नु परिरहेन पृथ्वीको जुनसुकै भागबाट १२ घण्टामा सूर्योदय भएको दृश्य देखिन्थ्यो ।
हो, कुरा साँचो हो, स्पेस स्टेसनले एक दिनमा पृथ्वीका १६ पटक परिक्रमा गर्छ । गति नै १६ गुना बढी छ ।  त्यस कारण स्पेस स्टेसनमा रहेका व्यक्तिले एक दिनमा १६ पटक सूर्योदय भएको हेर्न पाउँछन् । सूर्यास्त पनि १६ पटक हेर्छन् ।  उसका लागि हाम्रो एक दिनमै १६ पटक दिन र १६ पटक रात्रि हुन्छ ।

माथि अन्तरिक्षमा जुन बर्मुडा त्रिकोणबारे चर्चा भएको छ त्यसको सम्बन्ध स्पेस स्टेसनसँग नै छ ।
आफ्नो परिक्रमा पथमा पृथ्वीको परिक्रमा गरिरहँदा स्पेस स्टेसन एउटा यस्तो ठाउँमा पुग्छ जहाँ पुग्न साथ उसको कम्प्युटर र अन्य उपकरणले काम गर्न छाड्छन् । यति बेला उसको कम्प्युटर नै 'क्र्यास' हुने खतरासम्म पैदा हुन्छ । यसो हुनाले स्पेस स्टेसनलाई निरीक्षण गरिरहेका वैज्ञानिकलाई चिन्तित तुल्याइएको छ ।

हुन त अन्तरिक्षको यस बर्मुडा त्रिकोणको रहस्य वैज्ञानिकहरुले बुझिसकेका छन् तर केही प्राकृतिक कुरा यस्ता हुन्छन्, जसलाई बुझ्न त सकिन्छ तर तिनले जन्माएका समस्या निदान गर्न सकिन्न ।  अन्तरिक्षको बर्मुडा त्रिकोणसँग पनि यस्तै अवस्था सिर्जना भएको छ । वैज्ञानिकहरुका हातमा यस समस्याको कुनै उपाय छैन ।

४०० किमिमाथि रहेको स्पेस स्टेसन जुनबेला पृथ्वीको एउटा स्थान 'दक्षिणी एटलान्टिक अनोमली' (SAA) माथि बाट  यात्रा गर्छ, यसको कम्प्युटर लगायतका अन्य वैज्ञानिक उपकरणमा खतरा हुन आउँछ । यहाँ पुग्दा केही समयका लागि स्पेस स्टेसनको पृथ्वीस्थित नियन्त्रण कक्षसँग सम्बन्ध नै टुट्न जान्छ । यस क्षेत्रबाट पार हुन साथ पुनः सम्पर्क स्थापित हुन्छ ।

यसका पछाडि एउटा  महत्त्वपूर्ण प्राकृतिक कारण रहेको छ ।  सबैलाई थाहा छ– पृथ्वीको आफ्नो विशिष्ट चुम्बकीय क्षेत्र छ ।  यस चुम्बकीय क्षेत्रका कारण अन्तरिक्षबाट आउने धेरै किसिमका खतराबाट पृथ्वी सुरक्षित रहेको हुन्छ । पृथ्वीको चुम्बकीय क्षेत्र समाप्त हुनासाथ पृथ्वीबाट सम्पूर्ण किसिमका जीवनका 'डोमिन' समाप्त हुन्छन् ।  तपाईं भन्न सक्नुहुन्छ, पृथ्वीमा हाम्रो रजाइँ हुनुको एउटा प्रमुख कारण   यसको चुम्बकीय क्षेत्र पनि  हो ।  यो समाप्त भएको खण्डमा हामी पनि समाप्त हुन्छौँ ।

पृथ्वीको यो जुन दक्षिणी एटलान्टिक अनोमली भन्ने स्थान छ । यहाँको चुम्बकीय क्षेत्र अति पातलो अथवा कमजोर छ । पृथ्वीको चुम्बकीय क्षेत्रले पृथ्वीको सतहलाई मात्र होइन पृथ्वीको अन्तरिक्षमाथिसम्म सुरक्षाचक्र प्रदान गरेको हुन्छ । यस चुम्बकीय क्षेत्रका कारण सूर्य र सुदूर अन्तरिक्षबाट आउने अनेक किसिमका विकिरण हजारौँ किमिमाथि अन्तरिक्षमै  रोकिन्छन् ।

तर माथि भनिएको स्थानमा चुम्बकीय क्षेत्र कमजोर भएका हुनाले त्यसमाथिको अन्तरिक्षमा अनेको प्रकारका विकिरण आइपुग्छन् ।  यिनै विकिरणले गर्दा त्यहाँ बर्मुडा त्रिकोणझैँ खतरनाक स्थिति उत्पन्न हुन्छ । यस क्षेत्रमा आएका उपग्रह खतरामा पर्छन् । उपग्रहमा जडान गरिएका उपकरणले विकिरणका प्रभावमा आएर  काम गर्न छाड्छन् ।

यस विकिरणको प्रभाव न्यून गर्न वैज्ञानिकहरुले उपग्रहलाई डोसोमिटर यन्त्रको सुरक्षा दिएका हुन्छन् । यो एउटा यस्तो यन्त्र हो जसले विकिरणको मात्रालाई नापने काम गर्छ र मात्रा बढी भएमा चेतावनी दिन्छ । स्पेस स्टेसन जस्तै एउटा टेलिस्कोप पनि अन्तरिक्षमा जडान  गरिएको छ ।  यसको नाम हब्बल टेलिस्कोप हो । खगोल विज्ञानको क्षेत्रमा हब्बल टेलिस्कोपको स्थान मस्तिष्क र आँखा दुवैझैँ नै रहेको छ।
वैज्ञानिकहरुले हब्बल टेलिस्कोप यस अन्तरिक्षको बर्मुडा त्रिकोणमा आइपुग्दा विकिरणको खतरा भएका सबै गतिविधिलाई रोकिदिन्छन्, भनौँ हब्बल टेलिस्कोपलाई 'सेफ मोड़'मा ल्याई दिन्छन् ।

वैज्ञानिकहरुको यस चिन्ता समाधान हुनुको सट्टा चिन्ता झनै बढ्दै गइरहेको छ ।  कारण यस क्षेत्रको विस्तार हुँदै गइरहेको छ । वैज्ञानिकहरुको अनुमान छ आउने ५ वर्षमा यस चुम्बकीय क्षेत्र कमजोर भएको ठाउँको आकार १० प्रतिशत विस्तार हुन्छ । हुन त समग्र पृथ्वीकै चुम्बकीय क्षेत्रमा कमी आउँदै गइरहेको छ।  एक अध्ययनअनुसार गत  २०० वर्षमा पृथ्वीको चुम्बकीय क्षेत्रको तीव्रतामा ९ प्रतिशतको कमी आएको छ । अफ्रीका र दक्षिणी अमेरिकाको ठूलो भूभागमा चुम्बकीय क्षेत्रको तीव्रतामा कमी आएको प्रमाणित भइसकेको छ ।

पृथ्वीमा अन्य कारणले हुने सङ्कटभन्दा ठूलो सङ्कट हो चुम्बकीय क्षेत्रको तीव्रतामा आएको कमी । चुम्बकीय क्षेत्रको अनुपस्थितिले पृथ्वीलाई जीवनरहित गृहमा परिणत गरिदिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप