शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

मोटाउनुलाई स्वस्थ एवं सुखी जीवन ठान्ने भ्रममा त हुनुहुन्न ?

महिलामा हुने मोटोपनको दर नेपालमा बढ्दो
बिहीबार, ०६ फागुन २०७७, १३ : ०८
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । सामान्यतया, कुपोषणको सिकार भएको मानिस दुब्लो, पातलो हुन्छ भन्ने आम मान्यता छ । नेपाली समाजमा मोटाघाटा मानिसलाई सुखी अनि स्वस्थ ठान्ने चलन छ । यदि तपाईमा पनि यस्तै सोच छ भने तपाई भ्रममा हुनुहुन्छ । मोटाघाटा सबै मानिस स्वस्थ र सुखी हुँदैनन् । अनि दुब्लो र पातलो मानिसमात्र कुपोषणको सिकार भएको हुँदैन । कुपोषणको सिकार भएका मानिस पनि मोटाघाटा हुन सक्छन् ।

नेपालमा महिला तथा बालबालिकाहरूमा मोटोपन दर डरलाग्दो तरिकाले बढ्दै गएको छ । मोटोपनको दर बढ्नु स्वस्थ एवं सुखमय जीवनको पर्याय नभएको स्वास्थ्यविद्हरु बताउँछन् ।

उमेरसमूह अनुसार निर्धारितभन्दा कम वा बढी तौल भएका मानिसमा कुपोषण हुन सक्ने परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख केदारराज पराजुली बताउँछन् । कुपोषण हरेक उमेर समूहका मानिसमा हुन सक्ने उनको भनाइ छ ।

पछिल्लो समय नेपाली महिलाहरूमा मोटोपन बढेको पाइन्छ । सन् १९९६ मा नेपाली महिलाहरूको मोटोपन दर २ प्रतिशतमात्रै थियो । महिलाहरूमा मोटोपनको दर प्रत्येक वर्ष सरदर एक प्रतिशतका दरले वृद्धि हुँदै गएको पोषण शाखाले जनाएको छ ।

हाल नेपालमा महिलाहरुमा मोटोपनको दर २२ प्रतिशत पुगेको छ । बहुक्षेत्रीय पोषण योजना अनुसार सन् २०२२ सम्ममा १८ मा झार्ने लक्ष्य छ । यस्तै विश्व स्वास्थ्य संगठनले २०२५ सम्ममा १५ मा झार्ने लक्ष्य राखेको छ भने दिगो विकास कार्यक्रममा सन् २०३० सम्ममा करिब १२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।

यसरी महिलाहरूमा मोटोपनको दर बढ्दै जानु राम्रो संकेत नभएको पोषणविद् डाक्टर अरुणा उप्रेती बताउँछिन् । सहरी क्षेत्रमा व्यस्तताको नाममा होटल, रेस्टुरेन्टमा अस्वस्थकर तरिकाले बनाएका खानेकुरा खानेकोे संख्यामा वृद्धि हुँदै गएकाले महिलाहरूमा मोटोपन बढेको उनी ठान्छिन् ।

अस्वस्थकर खानपानका कारण मोटोपन बढ्दा स्वास्थ्य ठिक छ भन्ने ठान्नु गलत हो, उनी भन्छिन्, ‘जिब्रोलाई मिठो स्वाद दिने घरबाहिरका खानेकुरा खाएर तौल बढेमा कुपोषण पनि हुन सक्छ ।

विगतमा धेरैजसो महिलाले घरमै बनाएको स्वस्थकर खाना जस्तै कोदो, मकै, फापर, गेडागुडी, घरमै उत्पादन गरेका अग्र्यानिक खानेकुरामा जोड दिएका कारण मोटोपन न्यून संख्यामा मात्रै भएको उनी सुनाउँछिन् ।

पोषण शाखाका प्रमुख पराजुली पनि शहरी क्षेत्रमा बनिबनाउ पत्रु खानाले प्रवेश पाउन थालेसँगै क्रमशः महिलाहरूमा मोटोपन बढ्दै गएको बताउँछन् ।

महिलाहरूमा मात्रै मोटोपन नबढेर पाँच वर्षमूनिका बालबालिकामा पनि मोटोपनको दर बढ्दै गएको परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाले जनाएको छ । हाल बालबालिकाहरूको मोटोपनको दर २.१ प्रतिशत छ । बालबालिकाको मोटोपन र पाँच वर्षमूनिका बालबालिकामा हुने कम तौलको दर नेपालका लागि चुनौती बनेको पोषण शाखाका प्रमुख पराजुली बताउँछन् ।

हाल नेपालमा बालबालिकाको कम तौल दर २७ प्रतिशत छ । सरकारले सन् २०२२ सम्ममा कम तौल भएका बालबालिकाको दर २० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । यस्तै, दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा कम तौल भएका बालबालिकाको दर १० प्रतिशतमा झार्ने लक्ष्य छ ।

नेपालमा महिला, बालबालिका तथा किशोर किशोरीहरूको न्यूनपोषण र अधिक पोषण बढ्दै गएको पोषण शाखा प्रमुख शर्मा बताउँछन् । नेपालका ठूला शहरमा मोटोपन भएका महिला र बालबालिकाको संख्या बढी रहेको डा. उप्रेतीको भनाइ छ । अहिलेसम्म ग्रामिण क्षेत्रका महिलामा न्यून संख्यामा मोटोपनको समस्या देखिएको उनी बताउँछिन् ।

नेपालमा जब मानिस बिरामी पर्छन्, तब पोषणयुक्त खानपानमा ध्यान दिन्छन् । मोटोपन भएका महिलामा विभिन्न स्वास्थ्यसम्वन्धी समस्या सिर्जना हुने पराजुली बताउँछन् । शरीरमा पोषण तत्वको कमी हुँदा पुड्केपन, ख्याउटेपन, रक्तअल्पत्ता, तौल बढी वा कम हुने गर्छ । त्यसलै यी समस्याका बारेमा ग्रामीण भेगदेखि सहरी भेगसम्म  पोषणसम्बन्धी बुझाइलाई फराकिलो बनाउनुपर्ने प्रमुख पराजुली बताउँछन् ।

सहरी क्षेत्रमा भिटामिन ए, बी, सी, क्याल्सियम लगायतका पोषक तत्व खानेकुराको माध्यमबाट नखाएर ट्याब्लेट सेवन गर्ने प्रचलन बढेको डा. उप्रेतीले सुनाइन् ।

बहुक्षेत्रीय पोषण योजना २०२२ सम्ममा बालबालिकाको मोटोपन दरलाई १ दशमलब ४ प्रतिशतमा पु¥याउने  लक्ष्य नेपालले राखेको छ । यस्तै, विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्ममा नेपालमा बालबालिकाको मोटोपन दरलाई १ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा यो दर करिब १ प्रतिशतमा झर्ने योजना छ ।

उल्लेखित लक्ष्यलाई हासिल गर्न स्थानीय र प्रादेशिक तहले बालबालिकाका लागि सञ्चालन भएका विभिन्न कार्यक्रमको अपनत्व ग्रहण गर्नुपर्ने पोषण शाखा प्रमुख पराजुली बताउँछन् ।

अमेरिकामा बालबालिकामा मोटोपनको दर २५ प्रतिशत छ । त्यहाँ धेरैजसो बालबालिकाले घरबाहिर बनेको पत्रु खानेकुरामा जोड दिने गरेको पाइन्छ । पत्रु खानपानका कारण अनावश्यक रुप तौल बढेका बालबालिकामा विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको डा.उपे्रतीको भनाइ छ ।

हाल नेपालमा पनि सहरी क्षेत्रतिर पत्रु खानामा जोड दिइएकाले महिला तथा बालबालिकामा मोटोपन बढेको उनले सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप