ad
केन्द्रीय संस्करण

शरीरमा नुनको मात्रा असन्तुलन हुँदा देखापर्ने असरहरु

person explore access_timeफागुन ६, २०७७ chat_bubble_outline0

हामीले खाने नुनमा सोडियम र क्लोराइड गरी दुईवटा तत्त्व हुन्छन् । शारीरिक गतिविधि सञ्चालनका लागि केही सोडियमको मात्रा हामीलाई आवश्यक पर्छ । यसैको सहयोगले हाम्रा मांसपेशी र स्नायुले काम गर्छन् भने शरीरमा पानीको मात्रा समेत सन्तुलन हुन्छ । हाम्रो शरीरलाई कति मात्रामा नुनको आवश्यक पर्छ भन्ने कुरा मिर्गौलाको कार्यले निर्धारण गर्छ । यदि सोडियमको मात्रा वा नुनको मात्रा बढी लिइयो र मिर्गाैलाले यसलाई नियन्त्रणमा राख्न सकेन भने त्यो रगतमा जम्मा हुन थाल्छ । जसले उच्च रक्तचाप गराउँछ । सोडियमले जहिले पनि पानीलाई आकर्षित गर्छ वा पानी सञ्चित राख्छ । यसर्थ रगतमा पानी बढी भएका कारणले रगतको आयतन बढ्छ । यसले मुटुलाई बढी भार पर्नुका साथै रक्तनलीमा रक्तचाप बढी हुन्छ । यसले गर्दा शरीरमा अनेक समस्या थपिन्छन् । जस्तैः मुटुसम्बन्धी विभिन्न रोग, स्ट्रोक, हृदयाघात, मिर्गौलाका रोग आदि । सामान्य मानिसलाई एक दिनमा १ चिया चम्चा (१,५०० मिग्रा) मात्र नुनको मात्रा भए पर्याप्त हुन्छ । किनभने हामीले सामान्य खानाबाटै शरीरलाई चाहिने १० प्रतिशत नुन पाइरहेका हुन्छौँ भने अन्य खानेकुराबाट १० प्रतिशत र ७५ प्रतिशत खाने नुनबाट परिपूर्ति हुन्छ । त्यसकारण जहिले पनि नुन लिँदा मात्रा मिलाएर लिनु राम्रो हुन्छ ।

थोरै मात्रामा नुन लिनका लागि 
नुन थोरैभन्दा थोरै लिनका लागि बढी मात्रामा ताजा फलफूल र तरकारी खाने, पोटासियमयुक्त खाना खानुपर्छ । यसले रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । हरिया सागपातयुक्त तरकारी र फलफूल खाने, नुनको सट्टा सुगन्धित, पिरो वा मसलायुक्त खाना खाने, खाजा पनि नुनविहीन छनोट गर्ने र खाना छनोट गर्दा लेबलमा नुनको मात्रा कम भएको खाना मात्र छनौट गर्नुपर्छ । नुनको विकल्पमा पोटासियम बढी खानुपर्छ । यसको कुनै असर हुँदैन (तर मधुमेह, मुटुरोग र मिर्गाैला समस्या भएकाले बढी पोटासियम खानु हुँदैन) आदि ।

बढी मात्रामा नुन खाइने कारण
    हाम्रो शरीरमा नुनको मात्रा विभिन्न तरिकाले गर्दा बढी हुनजान्छ । यसरी बढी नुन कसरी खाइँदोरहेछ भन्नेबारेमा जान्नु आवश्यक छ । दिनहुँ खाइने विभिन्न खालका तयारी खाना वा प्रशोधित खानामा नुनको मात्रा बढी हुन्छ । यस्ता खाना पटक पटक खाँदा शरीरमा नुन बढी हुनपुग्छ । त्यस्तै केही प्राकृतिक खानाको स्रोतबाट पनि नुन प्राप्त हुन्छ । जस्तैः १ कप कम चिल्लो भएको दूधमा १०० मिलिग्राम नुन हुन्छ भने अन्य दुग्ध पदार्थ, मासु, माछामा समेत प्रशस्त नुन हुन्छ । यसैगरी हाम्रो भान्सामा पनि नुनको मात्रा बढी प्रयोग हुन्छ । थप नुनका लागि खाना खाने टेबलमा पनि छुट्टै नुनको भाँडा राख्ने गरिन्छ । यसले स्वाभाविक रूपमा नुनको मात्रा बढी हुन पुग्छ । त्यस्तै हामीले खाने प्रशोधित विभिन्न खाना वा खाजामा सोडियमयुक्त मोनोसोडियम ग्लुटामेट, बेकिङ सोडा, बेकिङ पाउडर, डाइसोडियम फस्फेट, सोडियम एल्जिनेट, सोडियम साइट्रेट, सोडियम नाइट्राइट जस्ता तत्त्वहरु मिसाइएका हुन्छन् । यस्ता खानाले सोडियमको मात्रा बढी हुन्छ ।

नुन स्वादका लागि नभई हुँदैन तर सकभर नुनको मात्रा घटाउन सुरु गर्नुपर्छ । यसका लागि सकेसम्म कम नुन खाने बानी पार्दै जानुपर्छ । सकेसम्म दिनमा एक चौथाइ चम्चाभन्दा बढी नुन खानुहुँदैन । थप नुन राखेर खाना खानुहँुदैन । स्वास्थ्यका लागि वा मुटु, मिर्गौला आदिको स्वास्थ्यका लागि कम नुन खाई आनन्दित हुनु राम्रो हुन्छ । तर कहिलेकाहीँ नुन कम खाने सोचले शरीरमा नुनको मात्रा कमी हुनसक्छ । शरीरमा नुनको मात्रा कमी हुनु भनेको अझ नराम्रो अवस्था हो । हामीले बढी नुन सेवन गर्दा हुने असरको बारेमा सुनेकै छौँ । तर शरीरमा नुनको मात्रा कम हुँदा पनि विभिन्न जटिल खालका अवस्था सिर्जना हुन्छन् । अतः हामीले नुनको मात्रा नमिलाई कहिलेकाहीँ कम मात्रामा नुनको सेवन गर्दा देखापर्ने असरबारेमा यहाँ चर्चा गरिन्छ ।

नुनको मात्रा कमी हुने अवस्था 
     रगतमा हुनुपर्नेभन्दा कम मात्रामा सोडियम हुनु नुनको मात्रा कमी हुनु हो । यस्तो अवस्थालाई हाइपोनेट्रेमिया पनि भनिन्छ । यो सामान्य रूपमा १३५ देखि १४५ मिलिप्रति लिटर हुन्छ । १३५ भन्दा कम हुनु भनेको शरीरमा नुनको मात्रा कम हुनु हो । सोडियम अति महत्त्वपूर्ण इलेक्ट्रोलाइट पनि हो । यसले शरीरका सबै कोषमा पानीको मात्रा नियमित गर्छ । शरीरमा नुनको मात्रा कमी हुनासाथ वाकवाकी लाग्ने, टाउको दुख्ने, अलमल हुने, शक्ति क्षय हुने, रिँगटा लाग्ने, थकाइ लाग्ने, छटपटी तथा बेचैन हुने, मांसपेशी कमजोर हुने, बाउँडिने र दुुख्ने, कम्प छुट्ने र कहिलेकाहीँ बेहोस हुने सम्भावना हुन्छ ।

नुनको मात्रामा कमी हुने कारणहरु–
-   बढी मात्रामा पानी पिउने बानीले शरीरमा भएको सोडियमको मात्रालाई घुलाई पातलो बनाइदिनु र त्यही अनुपातमा मिर्गौलाले पानी बाहिर फ्याँक्न नसक्नु पनि हो । यस्तो अवस्थामा शरीरमा पानीको मात्रा बढ्छ र कोषहरु सुन्निन थाल्छन् । यसले विभिन्न खालका असर र कहिलेकाहीँ जीवनआयुमै समस्या थपिदिन सक्छ । 
-   यसैगरी शरीरमा नुनको मात्रा कम हुनु पिसाब लगाउने, चिन्ता भगाउने तथा दुखाइ कम गर्ने औषधिको सेवन गर्नु पनि हो । यस्ता औषधिको सेवनले हर्मोन तथा मिर्गौलाका प्रक्रियामा अवरोध ल्याइदिन सक्छन् । 
-   त्यस्तै मुटु, मिर्गौला र कलेजोका समस्याका कारण शरीरमा पानीको मात्रा बढी भई नुनको मात्रा घुलाइदिने भएकाले नुनको मात्रा कम हुनसक्छ । 
-   शरीरमा पिसाब कम लगाउने हर्मोनको उत्पादन बढी भएमा पनि शरीरमा पानीको मात्रा बढ्ने हुँदा नुनको मात्रा कम हुन्छ । 
-   दीर्घ खालको वा कडा खालको बान्ता हुने, पखाला लाग्ने र जलवियोजन हुँदा पनि इलेक्ट्रोलाइटिस्को असन्तुलन हुन गई नुनको मात्रा कमी हुन्छ । 
-   यसैगरी शरीरमा हर्मोनको परिवर्तन र असन्तुलन हुँदा पनि नुनको मात्रामा कमी आउनसक्छ । जस्तै ः एड्रिनल ग्रन्थीको समस्या ९ब्ममष्कयलुक मष्कभबकभ० तथा थाइराइड हर्मोनको कमी हुँदा पनि नुनको मात्रामा कमी आउँछ । 
-   त्यस्तै आनन्दका लागि लिइने एम्फेटामाइन औषधिको सेवनले पनि नुनको अत्यधिक कमी गराई कडा खालको र प्राणघातक परिणाम ल्याउन सक्छ ।
    यसरी शरीरमा नुनको मात्रा कम हुँदा सबै उमेर समूहका व्यक्तिलाई राम्रो नहुने भए पनि बढी असर वृद्धावस्थाका व्यक्तिमा देखिन सक्छ । पिसाब लगाउने औषधि, आनन्दका लागि खाने औषधि, डिप्रेसनको औषधि, दुखाइ कम गराउने औषधि आदिको सेवन गर्नेलाई पनि नुनको मात्रामा कमी आई बढी असर देखाउने सम्भावना हुन्छ । त्यस्तै मिर्गाैलाको समस्या हुनेहरु, पिसाब कम लगाउने हर्मोनको असरका लक्षण देखिएका व्यक्ति र हृदयाघात हुनेलाई बढी जोखिम हुनसक्छ । यसैगरी कडा अभ्यास गर्नेहरुले बढी पानी सेवन गरी अभ्यासमा जाँदा नुनको मात्रा कमी हुने उच्च जोखिम हुन्छ ।

    नुनको मात्रा कमी हुँदा देखिने सबैभन्दा जटिल कुरा एक्कासि मस्तिष्क सुन्निने भई व्यक्ति बेहोस ९ऋयmब० मा गई मृत्यु हुनसक्छ । त्यसैगरी महिनावारी रोकिने समयमा यौन हर्मोनको कमी हुने र अझ नुनको कमी भएमा महिलालाई मस्तिष्क खराब हुने जटिलता हुनसक्छ । 

    शरीरमा नुनको मात्रा कमी भएको अवस्थामा सोडियम क्लोराइडयुक्त स्लाइन पानी लगाउने, पानीको मात्रा कम गर्नेजस्ता उपाय अपनाउन सकिन्छ । कडा खालका लक्षणहरु देखापरेमा छिटोभन्दा छिटो अस्पतालमा गई उपचार गराउनुपर्छ । यसैगरी शरीरमा नुनको मात्रा कमी हुन नदिन कुनै रोग विशेषका कारण भएको भए उपचार गर्नुपर्छ । कुनै औषधि सेवन गरिरहेको भए चिकित्सकको परामर्शमा त्यसलाई परिवर्तन गर्न अर्को औषधि खाने, कडा अभ्यास गर्नुपर्छ । पसिना बढी आएको अवस्थामा मात्र बढी पानी खान सकिने, बढी मात्रामा पानी नखाने बरु तिर्खा लागेमा खाने, पिसाबको रङ्ग गाढा भएको भए पानीको मात्रा बढाउने जस्ता तरिका अपनाई शरीरमा नुनको मात्रा कम हुन दिनुहँुदैन ।

अन्त्यमा
    नुनको मात्रा बढी हुनु वा कम हुनु दुवै अवस्था नकारात्मक हुन् । विभिन्न खाद्यपदार्थबाट स्वादका लागि लिइने नुन प्रायः हाम्रो शरीरमा बढी हुने सम्भावना हुन्छ । नुनको मात्रा बढी भएमा शरीरका मुख्य अङ्गहरुमा समस्या उत्पन्न हुनसक्छ भने कहिलेकाहीँ हामीले नुनको मात्रा कम लिनुपर्छ भन्ने मान्यता राख्नाले निकै कम नुन लिने सम्भावना पनि हुन्छ । त्यसकारण नुनको मात्रा कम हुनु शरीरका लागि झन् बढी हानिकारक हुन्छ । अतः नुनलाई सकभर मात्रा मिलाएर लिनु नै उपयुक्त हुन्छ । जिब्रोको स्वादका लागि मात्र लिइने नुनले बढी हानि गर्छ भने नुन बार्ने नाममा निकै कम नुन लिनुले पनि शरीरलाई हानि नै गर्छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.