लुम्बिनी विकास कोषको बेवास्ताका कारण रामग्राम स्तूप ओझेलमा
परासी । संघीयता अन्तर्गत मुलुकमा तीन तहको सरकार भए पनि विश्व सम्पदा सूचीमा परेको पुरातात्विक एवं धार्मिक स्थल रामग्राम स्तूप ओझेलमा परिरहेको छ । स्तूपको विकास र प्रवर्द्धनका लागि कुनै पनि तहको सरकारबाट ठोस पहल हुन नसकेको हो ।
शान्तिका अग्रदुत गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तूपको विकासका लागि सरकारले लुम्बिनी विकास कोषलाई जिम्मा दिएको छ । तर यसको विकास तथा संरक्षणमा लुम्बिनी विकास कोषको खासै चासो नदेखिएको हो ।
रामग्राम स्तूप पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७, उजैनीमा अवस्थित छ । ऐतिहासिक स्तूप क्षेत्रको विकासका लागि सरकारले बर्सेनि करोडौं रुपैयाँ लुम्बिनी विकास कोषलाई उपलब्ध गराए पनि गुरुयोजना तथा ठोस कार्ययोजना नबनेको भन्दै लुम्बिनी विकास कोषले सो क्षेत्रमा खासै लगानी गरेको पाइँदैन ।
स्तूपलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लुम्बिनी विकास कोषले चासो नदेखाएकाले छुट्टै निकायका रुपमा रामग्राम विकास कोष स्थापना हुनुपर्ने रामग्राम पर्यटन प्रवर्द्धन विकास संस्थाका अध्यक्ष शम्भुप्रसाद उपाध्यायले बताए ।
यस्तो छ स्तूपको महत्व
शान्तिका अग्रदुत गौतम बुद्धको अस्थिधातु राखिएको आठ ठाउँमध्ये रामग्राम स्तूप पनि एक हो । प्राचिन कोलिय राजाले बुद्धको अस्तु ल्याएर कोलिय गणराज्यको राजधानी रामग्राममा राखी स्तूप निर्माण गरेको ईतिहास छ । रामग्राम स्तूप इसापूर्व ५ सय बर्ष पुरानो अर्थात् आजभन्दा पच्चीस सय बर्ष पहिला कोलिय राजाद्वारा निर्माण भएको हो ।
शान्तिका अग्रदुत बुद्धको महापरिनिर्वाणपछि अन्त्येष्टि भयो र अन्त्येष्टिपछि बचेको अस्थि (अवशेष) ल्याएर कलशमा राखेर यो स्तूप बनाइएको हो । कोलिय गणराज्यको राजधानीलाई रामग्राम पनि भनिन्थ्यो र रामग्रामका राजाले स्तूप बनाएका कारण यसलाई रामग्राम स्तूप भनिएको हो ।
रामग्राम स्तूपको खोजी गर्दा कोलिय राजधानी रामग्रामबाट चार माईल पूर्वदक्षिण दिशामा रहेको भन्ने चिनियाँ यात्रीको वर्णनको आधारमा रामग्राम स्तूप भेटिएको थियो ।
स्तूपको महत्वबारे बौद्ध धर्मग्रन्थ त्रिपिटकमा पनि उल्लेख छ । बौद्ध स्तूप अन्य स्थानमा पनि छ, तर रामग्राम स्तूप बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तूपमध्ये सिङ्गो अस्तु भाग रहेको स्तूप हो । बाँकी ७ वटा स्तूपको उत्खनन गराइ तत्कालीन मगध सम्राट अशोक मौर्यले ती अस्थिलाई विभिन्न देशमा पु-याउँदै ८४ हजार स्थानमा बाँडेर स्तूप बनाउन लगाएका थिए, तर नागजातीको आग्रहमा उनले रामग्राम स्तूपको उत्खनन् नगराएकाले यसको सिङ्गो भाग सकुशल रहन सफल भएको मानिन्छ ।
त्यतिबेला बुद्धका अनुयायीहरुले शान्ति प्राप्तिका लागि पूजाआजा गर्ने उद्देश्यले रामग्राम स्तूप निर्माण गरेको स्थानीय जानकार बेचु गौडले बताए ।
बगैंचामा माटोको ठुलो ढिस्कोका रुपमा रहेको रामग्राम स्तूपमा कुनै प्रकारको भौतिक पूर्वाधार निर्माण, संरक्षण तथा प्रचार प्रसारको कार्य गरिएको पाइँदैन । यस रामग्राम स्तूपको पूजा तथा अवलोकन भ्रमणका लागि विभिन्न देशबाट वार्षिक १० हजारभन्दा बढी पर्यटकहरु आउने गर्दछन् । तर यहाँ लज, होटल, खानेपानी, पार्क र प्रार्थना गर्ने लगायतका विभिन्न भौतिक संरचनाको अभावले पर्यटकहरु आउनासाथ फर्किने गरेका छन् ।
विश्व सम्पदा सूचीमा समेत परिसकेको रामग्राम स्तूप क्षेत्रको विकासका लागि सरकारले ठुलो परिमाणमा बजेट विनियोजन गरि लुम्बिनी विकास कोषलाई जिम्मा लगाउँदै आएको छ तर कोषले उक्त रकम नखर्चिकनै बर्सेनि बजेट फ्रिज गराउने काम गर्दै आएको सरोकारवाला बताउँछन् ।
रामग्राम स्तूप पुरातात्विक क्षेत्र भएकाले आफ्नो गुरुयोजना अनुकुल लगानी गर्न नसकिरहेको रामग्राम नगरपालिकाले जनाएको छ । रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले स्तूप क्षेत्रमा पर्यटक तथा भिच्छुले विश्राम गर्ने र कर्मचारी बस्ने विश्राम गृह निर्माण भइरहेको बताए । उनले स्तूप नजिकैको गाउँ उजैनीलाई नमूना गाउँ बनाउन बाटोघाटो, वृक्षारोपण, सौन्दर्यीकरण लगायतका विभिन्न पूर्वाधारको कार्य भइरहेको बताए । उनले, स्तूपको विकासका लागि नियमित रुपमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेको र नगरपालिकाले आफ्नो स्तरबाट स्तूपको व्यापक प्रचारप्रसार, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन जस्ता कार्य गर्दै आएको नगर प्रमुख गुप्ताले जानकारी दिए ।
यता, लुम्बिनी विकास कोषले रामग्राम स्तूपको वृहत् विकास गर्न गुरुयोजना बनिसकेको बताएको छ । सो क्षेत्रमा कति जग्गा अधिग्रहण गर्ने भन्ने विषयमा छलफल भइरहेको र जग्गाको विषय टुंगिनासाथ गुरुयोजना अनुसार काम अघि बढाइने कोषले जनाएको छ । कोषले उक्त क्षेत्रमा आवश्यक जग्गा अधिग्रहण गरिने, स्तूपको उत्खनन् गर्ने, गुम्बाहरु, विश्राम गृह, खानेपानी, शौचालय, पार्क बनाउने र मूर्तिहरु स्थापना लगायतका कामहरुलाई प्राथमिकताका साथ अगाडि बढाइने बताएको छ ।
रामग्राम स्तूपमा चीन, थाईल्याण्ड, भियतनाम, जापान, श्रीलंका, कोरिया लगायतका ठाउँबाट मासिक करिब ५ सय पर्यटक आउने गर्दछन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मावली पण्डितपुर, अस्तुधातु भएको रामग्राम स्तूप, तिलौराकोट, देवदह लगायतका धार्मिकस्थलमध्ये लुम्बिनीको मात्र विकास भएको छ भने अरु सबै ठाउँ कोषको लापरवाहीले ओझेलमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात
-
सहकारी सुधार प्रयासबारे युवराज खतिवडाका तीन ‘अब्जेक्सन’
-
दलित सशक्तीकरण विधेयक छिट्टै पास गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प
-
संगठन विभागमा बेदुराम, प्रकाशको भागमा प्रचार
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न