शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी हिँडेका यात्रुलाई दुबई पुर्‍याएर नेपाल फर्काइयो

बिहीबार, ०६ फागुन २०७७, १० : २४
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । गत फेब्रुअरी ९ तारिखका दिन चितवन खैरेनीका ३४ वर्षीय बालकृष्ण बोट साउदी अरबको रियादका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । वैदेशिक रोजगारीका लागि रियाद उड्दै गरेका बोटको हातमा फ्लाइ दुबईको (काठमाडौं-दुबई, दुबई–रियाद) टिकट थियो ।

बोट एक वर्षपछि रियाद फर्कदै थिए । ८ वर्षसम्म वैदेशिक रोजगारीकै शिलशिलामा साउदीको रियाद बसेका उनी गत वर्ष मात्र नेपाल आएका थिए । तीन महिनाको छुट्टि लिएर नेपाल आएका बोट घर फर्किदा नफर्किदै कोभिड१९ को विश्व महामारी फैलियो । जसका कारण लगभग एक वर्ष जति उनी यतै रोकिन पुगे ।

क्यान्सिल भएको भिसा, टिकट जसोतसो मिलाएर एक वर्षपछि बोट पुनः रियाद फर्किदै थिए । तर, जब उनी उडेको फ्लाइ दुबईको विमानस्थलमा उत्रियो तब उनी अवाक भए ।

बुधबार राति ११ः३५ बजे साउदीका लागि भनेर काठमाडौंबाट उडेको फ्लाइट त्यसको लगभग साढे तीन घण्टापछि दुबई विमान उत्रिएको थियो । जब जहाज विमानस्थलमा ल्याण्ड भयो तब एयर होस्टले यात्रा समाप्त भएको घोषणा गरिन् । साउदीका लागि सोही प्लेनको टिकट काटेका बोट चकित भए । त्यसो त उनी मात्र होइन उनीसँगै गएका अर्का नेपाली यात्रु समेत चकित भए ।

गलत टिकट काट्दा समस्या

बोटले र उनीसँगै गएका अर्का साथीले गोरहा भिजन ट्राभल प्रा.लिमार्फत फ्लाईट दुबईको ट्रान्जिट फ्लाइटको टिकट काटेका थिए । टिकट अनुसार प्लेन फ्लाइ दुबईको बोइङ ७३७८०० जहाज दुबई विमानस्थल ट्रान्जिट भएर साउदीको रियाद जाने थियो ।

बुधबार राती ११ः३५ बजे काठमाडौंबाट उडेको जहाज बिहिबार विहान ३ः१५ बजे दुबई विमानस्थलमा ल्याण्ड गर्ने र त्यसको २ घण्टा ४५ मिनेटपछि अर्थात् ६ः१० बजे पुनः रियाद उड्ने सेडुल थियो । तर प्लेन रियाद उड्ने भने कुनै सेडुल थिएन । कारण थियो, साउदीले लगाएको दुबईबाट हुने कुनैपनि उडानमा प्रतिबन्ध ।

कोभिड१९ को थप संक्रमणको जोखिम बढेसँगै साउदी सरकारले गत फेब्रुअरी ३ देखि दुबई टु साउदी हुने कुनैपनि फ्लाइट अनिश्चितकालका लागि रोक लगाएको थियो । जुन हालसम्म पनि कायमै छ ।

तर यस्तो अवस्था रहँदारहदै पनि उक्त यात्रुहरुलाई गोरहा भिजनले दुबई ट्रान्जिटको साउदीको फ्लाइ दुबईको टिकट काटिदिएको थियो । जसले गर्दा यात्रुहरु बीचैमा अलपत्र पर्न पुगे ।

नत खानेकुरा नत बस्ने ठाउँ, नत साथमा धेरै पैसा नै थियो । हामी त बिचल्लीमा प¥यौं । हारगुहार गरेपछि त्यसको भोलिपल्ट मात्र सोही प्लेनले हामीलाई नेपाल फकाएदियो । साउदी जान नपाएपनि धन्न नेपाल भनेपनि आउन पाएका छौँ । तर पनि हामी माथि अन्याय भएको छ । यसको हामीलाई उचित न्याय चाहिन्छ, पीडित यात्रु बोटले भने ।

दोष कस्को ?

यो त सरासर ट्राभल एजेन्सी र बोर्डिङ्ग पास हेर्ने नेपाल एयरलाइन्सकै कमजोरी हो । अहिले कुनैपनि एयरलाइन्सको दुबई ट्रान्जिटमा साउदी फ्लाइट छैन । यस्तो अवस्थामा पनि एजेन्टले किन ट्रान्जिट फ्लाइटको टिकट काटिदियो ? हामीले त बकैता सूचना वेसाइटमा राखेका छौँ । हेर्नुप¥यो नि ! त्यसै टिकट काटेर मात्र हुन्छ ? टिकट काट्नेको चाहिँ कुनै जिम्मेवारी हुँदैन ?

फ्लाइ दुबईका व्यवस्थापक सेन शर्माले प्रतिप्रश्न गरे, ‘र फेरि बोर्डिङ्ग पास हेर्ने नेपाल एयरलाइन्सले के हेरेर यात्रु पठायो ? गल्तीको भागिदार चाहीँ हामी नै हुनुपर्ने ?

यता, त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ्गको जिम्मेवारी पाएको नेपाल एयरलाइन्सले भने सो घटना प्रति अनविज्ञता देखाएको छ । उक्त घटनाबारे आफुहरुलाई कुनै जानकारी नभएको बताउँदै नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले भनिन्, ‘सो घटनाबारे हालसम्म निगममा कुनै गुनासो परेको छैन । त्यस्तो हो भने पनि फ्लाइट आफै जिम्मेवार हुन्छ । यसमा हामीले त सहजिकरण गर्नेमात्र हो ।

प्रवक्ता श्रेष्ठका अनुसार सम्बन्धित फ्लाइटको प्रतिनिधिको रोहोबरमा मात्र निगमले बर्डिङ्ग पास ईश्यु गर्ने हो । बाँकी सबै स्वयम् कम्पनी जिम्मेवार हुने हो ।

यता, टिकट काट्ने एजेन्ट गोरहा भिजन ट्राभलले आफ्नो प्रतिरक्षा गर्दै फ्लाइट प्रतिबन्धको कुनै सूचना आफुहरुले नपाएको र फ्लाइ दुबईले समेत सूचित नगरेको आरोप लगाएको छ ।

सो घटना बारे बोल्दै ट्राभल एजेन्सीका प्रमुख व्यवस्थापक केदार दवाडीले भने, ‘यो घटना प्रति हामी पनि दुःखी छौँ । यो प्राविधिक कारणले घटेको घटना हो । उनले भने, ‘दुबईबाट साउदी हुने ट्रान्जिट फ्लाइट रोकिएको सूचना हामीलाई जानकारीमा थिएन । जुन कुरा फ्लाइ दुबईले पनि हामीलाई जानकारी दिएन । हामीले पीडित पक्षलाई टिकट बापतको रकम फिर्ता गर्न कम्पनीसँग अनुरोध गरेका छौँ, दवाडीले भने ।

दुबईबाटै फर्काइएका पीडित यात्रुहरुले अहिलेसम्म टिकट बापतको रकम फिर्ता पाएका छैनन् । उनीहरु न त गन्तव्यमा पुग्न सके नत खर्च गरेको पैसा फिर्ता नै पाए। अहिले समस्या लिएर ट्राभल एजेन्सी जाँदा विमान कम्पनीलाई, विमान कम्पनीमा जाँदा एजेन्सीलाई र बोर्डिङ पास हेर्ने नेपाल एयरलाइन्सलाई देखाएर उम्कने कोशिस गरिरहेको पीडित यात्रुहरुको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप