सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गाउँपालिका उपाध्यक्ष मनिला विष्टले राजिनामा नदिएको अदालतको ठहर

बुधबार, ०५ फागुन २०७७, २२ : २६
बुधबार, ०५ फागुन २०७७

हेटौंडा । उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा नदिएको फैसला गरेको छ । अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई आदेश समेत दिएको छ ।

उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश महम्मद साविर हुसेन र चण्डीराज ढकालको संयुक्त इजलासले मनिला विष्टले राजिनामा दिएको कुरालाई खारेज गरिदिएको विष्टकोतर्फबाट बहस गर्नुभएका अधिवक्ता मदनकुमार दाहालले जानकारी दिए ।

अदालतले विष्टले राजिनामा दिएको भन्ने कुरा प्रमाणित नभएको भन्दै नियमित कार्यमा रोकतोक हुनु नहुने बताएको अधिवक्ता दाहालले बताए । फैसलापछि कुरा गर्दै उपाध्यक्ष विष्टले अदालतले आफूप्रति न्याय गरेको बताए । “मैले राजिनामा दिएकै थिएन, मप्रति अन्याय भएको थियो, अदालतले मलाई न्याय दियो”, उनले भने ।

मनहरी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै जना तत्कालीन नेकपा (एमाले) बाट विजयी भएका हुन् । गाउँपालिकाका क्रियाकलाप सञ्चालनका क्रममा केही समयदेखि दुवै जनाबीच मतभेद उत्पन्न भएको थियो । मतभेदकै बीचमा गत मङ्सिर २९ गते उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिनुभएको खबर सार्वजनिक भएको थियो । 

गत पुस १९ मा गाउँपालिका अध्यक्ष एकलाल उप्रेतीले राजिनामा स्वीकृत गरिएको जनाएका थिए । कार्यपालिकाले माग गरेकाले राजिनामा स्वीकृत गरिएको उनको भनाइ थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप