शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सडक विस्तारका नाममा राष्ट्रिय विभूतिका प्रतिमा धमाधम हटाइँदै

विभिन्न चोकको पहिचानसमेत संकटमा
बुधबार, ०५ फागुन २०७७, ११ : २५
बुधबार, ०५ फागुन २०७७

बुटवल । दीर्घकालीन योजनाविना बनाइएका भौतिक संरचना दीर्घजीवी हुँदैनन् भन्ने उदाहरण बुटवल उपमहानगरपालिकामा देखिएको छ । बुटवल–बेलहिया ६ लेन सडक विस्तारअन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क खण्डमा सडक क्षेत्रमा पर्ने विभिन्न सालिक एवं मूर्ति तथा पार्क धमाधम भत्काउन थालिएको छ । सडकका किनारमा बनाइएका राष्ट्रिय विभूतिका सालिक, तिनका नाममा बनेका पार्क एवं धार्मिक आस्थाका अन्य भौतिक संरचनाहरु सडक विस्तारको क्रममा भत्काउन थालिएको हो ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख ईन्जिनियर जयलाल मरासेनी सडकको क्षेत्रभित्र पर्ने ती पार्क र सालिकहरु भत्काउनैपर्ने बताउँछन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, आदिकवि भानुभक्त आचार्य र नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाका नाममा बनाइएका पार्क र उनीहरुका सालिक बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म साढे तीन किलोमिटर सडक विस्तारसँगै भत्कने भएका हुन् । यतिमात्र होइन, ट्राफिक चोकमा करिव  ३५ वर्ष अघि बनेको दुर्गा मन्दिरको संरचना पनि चार फिटबाहेक सबै भत्काइने भएको हो ।

ट्राफिक चोकमा रहेको शंखधर साख्वाको सालिक भत्काइएको छ भने अन्य पार्कहरुमा राखिएका सालिक तथा मूर्ति पनि सडक विभागले हटाउने तयारी गरेको छ ।

बुटवलमा सडक किनारमा बनाइएका पार्क र मूर्तिमध्ये अधिकांशजसो नगरपालिकाले उपलब्ध गराएको जग्गा र केही आर्थिक सहयोगसमेतमा सरोकारवालाहरुको पहल र लगानीमा निर्माण भएका हुन् । यसरी बनेका संरचनाहरुमा विभिन्न ऐतिहासिक व्यक्तित्वका सालिक राखिनुका साथै तिनकै नाममा ती स्थानको नामाकरण समेत भएका थिए । ती पार्क, सालिक तथा मूर्ति भत्काइने भएसँगै ती स्थानको पहिचानसमेत लोप हुने खतरा बढेको स्थानीयवासी बताउँछन् ।

पुष्पलाल पार्क दोस्रो पटक भत्काइँदै

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नामबाट बुटवलमा २०५७ सालमा पुष्पलाल पार्क निर्माण भयो । यही सालिकको आधामार सो स्थान परिचित छ ।

पुष्पलालको सालिक दोस्रो पटक भत्काइँदै छ । दुरदर्शिता विना नै सालिक निर्माण गर्दा यो सालिकले दोस्रो पटक खतरा झेल्नुपरेको हो ।

उक्त पार्क बुटवल नगरपालिकाको पहलमा करिव १५ लाखको लागतमा निर्माण गरिएको तत्कालीन मेयर भोजप्रसाद श्रेष्ठले बताए । पहिलो पटक ४ लेन सडक विस्तारका क्रममा आधा भत्काइको यो पार्क हाल पुनः सडक विस्तारका क्रममा सबै भत्काउनु पर्ने अवस्था आएको हो ।

बुटवलका पूर्व मेयर तथा हाल प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले रातोपाटीसँग भने, ‘त्यहाँ पुष्पलाल जयन्तीबाहेक अन्य राष्ट्रिय दिवस, पर्व, आन्दोलनका अवसरमा दीप प्रज्ज्वलन गर्ने तथा विभिन्न राजनीतिक कार्यक्रम पनि हुन्थ्यो, तर आज सो ठाउँ भत्कने भएपछि अवश्य पनि चिन्ता लागेको छ ।’

दुर्गा पञ्चाङ्ग मन्दिर पनि भत्काइँदै

बुटवलमा धेरै मन्दिर छन् । तीमध्ये निकै पुरानो र बुटवल बजारको बीचमा पर्ने दुर्गा पञ्चाङ्ग मन्दिर एक हो । सडक विस्तारसँगै उक्त मन्दिरको केही भाग भत्काइएको छ । अब केही दिनमा जम्मा ४ फिटबाहेक मन्दिरका सबै भाग भत्काउने सडक डिभिजन कार्यालय बुटवलको योजना छ ।

मन्दिरको मूर्ति राख्ने ४ फिटबाहेक अन्य ठाउँ नरहने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष हिमलाल भट्टराईले रातोपाटीलाई बताए ।

दैनिक साँझबिहान पूजाआजा, बिहे, ब्रन्तबन्ध आदि हुने गरेको सो मन्दिर भत्काइने भए पनि त्यसलाई कहाँ स्थापना गर्ने भन्ने अझै टुंगो नलागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनचन्द्र  रेग्मीले बताए ।

उक्त मन्दिर विभिन्न व्यक्ति र संस्थाको दान सहयोगमा झन्डै ६० लाख रुपैयाँ खर्च गरेर बनाइएको हो । रेग्मीले मन्दिरको पुरै भाग नभत्काउन आग्रह गरे पनि सुनुवाई नभएको गुनासो गरे । उनले भने, ‘हामी आध्यामित्क क्षेत्रका व्यक्तिहरुले अनुरोध, आग्रह गर्ने हो, अरु के गर्न सकिन्छ र ? यस्तो इतिहास र आस्था बोकेको मन्दिर भत्काएर कहाँ लैजाने, कसरी नयाँ व्यवस्थापन गर्ने भन्नेबारे नगरपालिकाले योजना बनाउनुपर्ने हो, त्यो देखिएको छैन, हामी निरास छौं ।’

हट्यो शंखधरको मूर्ति

बुटवलको ट्राफिक चोकमा रहेको अस्थायी प्रहरी बिट छेउमा बनाइएको शंखधर साख्वा पार्क भत्काइएको छ । पार्कमा रहेको शंखधरको सालिक निकालेर नेवा पुचःको कार्यालयमा राखिएको छ ।

नेवा पुचः बुटवल (नेवा समाज विकास परिषद) का अध्यक्ष काजिमान श्रेष्ठले सडक विस्तारसँगै शंखधर साख्वाको प्रतिमा भएको पार्क भत्कने भएपछि मूर्ति हराउने र फुट्ने डर भएका कारण नेवा पुचःको कार्यालयमा लगेर राखेको रातोपाटीलाई बताए ।

शंखधर साख्वाले जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा नेपाल सम्वत थालिएको इतिहासकार बताउँछन् ।

सो स्थानमा २०६० सालमा शंखधरको मूर्तिसहितको पार्क नेपाल सम्वत् ११२३ को अवसर पारेर स्थापना गरिएको थियो । बुटवल उपमहानगरपालिका र नेवा पुचःको ५ लाख रुपैयाँको लगानीमा स्थापना भएको पार्कमा नेवार समुदायले नेपाल सम्वत् मनाउने तथा अन्य अवसरमा बेल विवाह गर्दा कन्याहरुलाई प्रतिमाको दर्शन गराई पूजाआजा गर्ने थलो बनेको थियो ।

अध्यक्ष श्रेष्ठले पार्कको पुनर्स्थापनामा नगरपालिकाले ध्यान नदिएको गुनासो गरे । उनले अब शंखधरको प्रतिमालाई नेवा पुचःको कार्यालयमै राख्ने योजना बनाएको रातोपाटीलाई बताए ।

भानुभक्त पार्क पनि संकटमा

तत्कालीन पश्चिम नेपाल बस व्यवसायी समितिको सम्पूर्ण खर्चमा २०५९ सालमा आदिकवि भानुभक्त आचार्यको प्रतिमा स्थापना गरिएको थियो । समितिका अध्यक्ष दधिराम खरेलका अनुसार  समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत आदिकवि भानुभक्तको नामबाट पार्क र सालिक निर्माण गरेको हो ।

पाल्पा रोडमा बनाइएको भानुभक्त आचार्यको मूर्तिसहितको पार्क हट्ने भएपछि साहित्कारहरु चिन्तित भएका छन् । यस क्षेत्रकै एकमात्र साहित्यिक पार्क नष्ट हुँदा निराश हुनुपरेको उनीहरुको भनाइ छ ।

साहित्यकारहरुको अनुरोधमा त्यो बेला समितिले ५ लाख रुपैयाँ खर्च गरेर उक्त पार्क निर्माण गरेको खरेलको भनाइ छ । उनले ऐतिहासिक व्यक्तिहरुको सालिक संरक्षण गर्दै उपयुक्त ठाउँमा राख्ने दायित्व नगरपालिकाको भएको भन्दै त्यसमा ध्यान दिन आग्रहसमेत गरे । यस्ता आस्थाका धरोहरलाई संरक्षण गर्दै बुटवलको विकास, सुन्दरता र पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ ।

प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङले आदिकवि  भानुभक्तको एकमात्र पार्क भत्कने भएपछि साहित्यप्रेमीहरुलाई स्वाभाविक रुपमा दुःख लागेको बताए ।

आफूहरु विकास विरोधी नभएको प्रस्ट पार्दै उनले ती मूर्तिहरुलाई उपयुक्त स्थानमा पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए ।

उपमहानगरपालिका छलफल गर्दै

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक विस्तार गर्दा ३ वटा राष्ट्रिय विभूतिका प्रतिमा हटाउनुपर्ने हुन्छ । ती प्रतिमा कहाँ पुनर्स्थापना गर्ने भन्नेबारे बुटवल उपमहानगरपालिकाले छलफल चलाएको छ । यद्यपि, राष्ट्रिय विभूतिका प्रतिमाहरु कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने प्रस्ट योजना अझै उपमहानगरपालिकाले बनाउन सकेको छैन ।

बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले राष्ट्रिय विभूतिहरुका मूर्तिलाई बुटवल–११ रानीगञ्जमा लैजाने मनसाय बनाएको रातोपाटीलाई बताए । राष्ट्रिय विभूतिहरुको मूर्ति एकै ठाउँमा राख्ने र त्यहीँ संविधान दिवस, सहिद दिवस आदि मनाउने योजना ल्याएको उनको भनाइ छ ।

उनले भने, ‘सडक विभागले मूर्ति हटाउन पत्र लेख्नासाथ आफुहरुले तिनलाई सुरक्षित रुपमा राख्छौं र सबैको सल्लाहमा मूर्तिहरुलाई सम्मानजनक रुपमा स्थापना गरिने छ ।’

यसो भन्छन् सरोकारवालाहरु

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ अब नगरपालिकाले विगतको कमजोरीबाट पाठ सिकेर नयाँ ढंगले सोच्नुपर्ने बताउँछन् । पूर्वमेयर समेत रहेका श्रेष्ठले बुटवलमा रहेका पार्क र मूर्तिलाई लामो समयसम्म अलपत्र पार्ने काम गर्न नहुने बताए ।

‘अहिले जसरी सडकको क्षेत्राधिकारभित्र पर्नेगरी होइन, अब सधैँलाई संरक्षण र सम्मान हुने उपयुक्त ठाउँमा त्यस्ता पार्क र मूर्ति निर्माण गर्नेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने, ‘नगरपालिकाले यसबारे दीर्घकालीन सोचका साथ योजना बनाउनुपर्छ ।’

प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङ पनि बुटवलको कुनै उपयुक्त स्थानमा सालिक तथा मूर्ति सार्नुपर्ने बताउँछन् ।

बुटवलका मूर्तिकार यम थापाले राष्ट्रिय विभूतिहरुको सालिक र पार्कको सम्मानजनक रुपमा व्यवस्थापन गर्नुपर्ने बताए । उनले मूर्तिहरुलाई एकीकृत गरेर तिनको संरक्षणसँगै मनोभावनासँग जोडिएर काम थाल्न आग्रह गरे । उनले हतार र हचुवाको भरमा जहाँ पायो त्यहीँ राख्दा प्रतिमाहरुको गरिमा पनि नरहने भन्दै कलाकारको सिर्जनालाई अपमान नगर्न सबैलाई अपिलसमेत गरे ।

विकास निर्माणका नाममा त्यहाँबाट ती प्रतिमा तथा पार्क हटाए पनि अन्य उपयुक्त ठाउँमा राख्नुपर्ने साहित्यकार तथा युवा नेतृ सरिता श्रीसकोे माग छ ।

सरोकारवालाहरुले ऐतिहासिक व्यक्तिहरुको प्रतिमालाई संरक्षण गर्दै उपयुक्त ठाउँमा राख्न नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप