शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावमा होमिन आतुर : मधेशमा बन्ला केपी–सिके गठबन्धन ?

बुधबार, ०५ फागुन २०७७, ०९ : ४३
बुधबार, ०५ फागुन २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनलगत्तै नेपाली काँग्रेस, नेकपाकै प्रचण्ड–माधव समूह, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले विरोध प्रदर्शन गरे पनि मधेसवादी दलका रुपमा आफ्नो पहिचान देखाउँदै आएको जनमत पार्टीले भने चुनावको तयारीमा आफूलाई सक्रिय तुल्याएको छ ।

मधेसमा खासै लोकप्रिय नमानिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसवादी दलकै रुपमा स्थापित जनमत पार्टीले भने प्रधानमन्त्री ओलीकै एजेण्डाअनुसार आफूलाई चुनावमा होम्न आतुर हुनुलाई धेरैले अनौठो माने पनि जानकारहरु यसलाई केपी ओली र सिके राउतबीचको सुमधुर सम्बन्धको उदाहरणका रुपमा देखाउँछन् ।

स्वतन्त्र मधेसका लागि संघर्ष गरेका सिके राउत मुलधारको राजनीतिमा आएदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्पर्कमा छन् ।

जेलमै हुँदा सरकारसँग ११ बुँदे सम्झौता गरेर मुलधारको राजनीतिमा आएका सिके राउतले प्रधानमन्त्री ओलीसँगको सम्बन्धलाई बचाएर राखेका छन् । स्वतन्त्र मधेस गठबन्धन सञ्चालन गरिरहँदा ओलीको नाम सुन्न नचाहने सिके राउतले जेलमै रहेको अवस्थामा ११ बुँदे सम्झौता गरेर निस्केपछि दल नै गठन गरेर प्रतिश्पर्धात्मक राजनीतिमा आफूलाई होमेका छन् । यसबीचमा उनले प्रधानमन्त्री ओलीको विरोधमा एक शब्द पनि खर्चिएका छैनन् ।

राउत जेलबाट निस्केपछि मधेसवादी दल तथा तिनका नेताहरुको चर्को विरोध गर्दै आएका छन् । मधेसवादी दल र तिनका नेताले ओलीको चर्को विरोध गरिरहेको बेला सिके राउतले भने प्रधानमन्त्री ओलीप्रति मौन समर्थन जनाएको जानकारहरु बताउँछन् ।

सिके राउतलाई मुलधारको राजनीतिमा ल्याउने काम प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका थिए । बाहिर देखिने गरि ११ बुँदे सम्झौता गरेका सिके राउतले प्रधानमन्त्री ओलीसँग आन्तरिक रुपमा अन्य विषयमा पनि सहमति गरेको स्रोतहरुको बुझाइ छ । तर प्रधानमन्त्री ओली र राउतबीच के कस्ता विषयमा सहमति भएको छ भन्नेबारे ठोस जानकारी कतैबाट पनि प्रकाशमा आउन सकेको छैन ।

सिके राउत नेतृत्वको तत्कालीन मधेस गठबन्धनको सहसंयोजक रहिसकेका कैलाश महतोले भने, सिके राउतले केपी शर्मा ओलीसँग ११ बुँदा सम्झौता गर्नु नै मधेसका लागि धोका थियो भने कुरा मैले त्यही बेला राष्ट्रिय सभा गृहमा भनेको थिएँ, आज ती सबै कुरा विस्तारै पुष्टि हुँदै गइरहेका छन् ।’

सरकारसँग ११ बुँदे सम्झौता गरेकै कारण त्यसको विरोध गर्दै सहसंयोजक महतोले सिके राउतको साथ छाडेका थिए । उनले भने, ‘सिके राउत र म छुट्टा छुट्टै जेलमा थियौं तर त्यस्तो अचानक के भयो कि रातारात ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा उहाँ आउनु भयो ? अघिल्लो दिनसम्म कसैलाई केही कुरा थाहा थिएन तर बिहान अचानक सम्झौता हुने खबर सबैतिर फैलियो ।’

सम्झौता भएपछि जेलमा रहेका सिके राउतलगायतका नेताहरु रिहा भए । यसबाट पनि केपी ओलीसँग ‘अनसिन’ केही सम्झौता भएको पुष्टि हुने उनको भनाइ छ । मधेस गठबन्धन हुँदा हरेक गतिविधिको बारेमा सिके राउतले आफूसँग सल्लाह गर्ने गरेको जिकिर गर्दै उनले त्यस्तो ठूलो निर्णय गर्दा एकपटक पनि कुनै साथीसँग राउतले सल्लाह नगरेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै सबै दलले विरोध गरिरहेका छ्न् । सबै दल सकडमा छन् तर सिके राउत नेतृत्वको जनमत पार्टी एकमात्र यस्तो पार्टी हो, जो प्रतिनिधिसभा विघटनबारे मौन छ । महतोका अनुसार सिके राउतले आफूलाई चुनावको तयारीमा होमेका कारण पनि प्रतिनिधिसभा विघटनको विरोध नगरेका हुन् ।

सिके राउतले नेपालको संविधान विपरित प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो कदम चाले पनि केही नबोल्नु ओली र सिके राउतबीच अन्तरङ्ग सम्बन्ध रहेको पुष्टि भएको उनको दावी छ ।

प्रधानमन्त्री ओलीले चुनावको मिति घोषणा गरे पनि चुनावको तयारीमा आफूलाई सक्रिय तुल्याएको देखिँदैन । तर सिके राउत नेतृत्वको जनमत पार्टीले भने चुनावको सम्पूर्ण तयारी पूरा गरेको छ । प्रचार सामग्री तयारीदेखि लिएर निर्वाचन आयोगमा पार्टी दर्ता र टिकटमा हस्ताक्षरकर्ता समेत सो पार्टीले चयन गरिसकेको छ । सो पार्टीका कार्यकर्ताहरु चुनावी प्रचार प्रसारका लागि निस्किसकेका छन् ।

ओली समूहको नेकपालाई मधेसमा चुनावका लागि साथ दिने एकमात्र पार्टीका रुपमा यतिबेला जनमत पार्टी देखिएको छ । अहिले चुनावको पक्षमा खुलेर जनमत पार्टी र ओली नेतृत्वकै नेकपा समूहले मात्र गरिरहेको पाइन्छ ।

जनमत पार्टीका एक नेताले भने, ‘चुनावमा ओली समूहको नेकपासँग चुनावी गठबन्धन बन्न सक्छ, त्यसको आन्तरिक तयारी पनि चलिरहेको छ ।’ उनले ओली नेतृत्वको नेकपासँग आफ्नो पार्टीले मधेसमा चुनावी गठबन्धन गर्नु अस्वाभाविक नभएको तर्क गरे । ‘अरु दलले चुनाव जित्नका लागि ओली नेतृत्वको पार्टीसँग चुनावी गठबन्धन गर्न मिल्ने तर जनमत पार्टीले किन गर्न मिल्दैन ?’ उनले भने, ‘चुनावमा जोसँग कुरा मिल्छ, त्योसँग गठबन्धन बनाउन सकिन्छ ।’

स्रोतका अनुसार सिके राउतले अहिले पनि प्रधानमन्त्री ओलीलाई सघाइरहेका छन् । ओलीको सभामा सिके राउतले आफ्ना पार्टीका कार्यकर्तालाई समेत पठाएर सहयोग गरिरहेका छन् । पछिल्लो समयमा मधेसमा राम्रो संगठन बनाएका सिके राउतसँग ओलीले चुनावमा गठबन्धन मात्र होइन, आवश्यक परेमा पार्टी नै एकीकरण गर्ने सोच बनाएको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप