शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले तीन वर्षमा कुनै प्रभावकारी काम गरेनः पौडेल

मङ्गलबार, ०४ फागुन २०७७, १७ : ०३
मङ्गलबार, ०४ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भ्रष्टाचार र अनियमितता मौलाएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले तीन वर्षको अवधिमा कुनै प्रभावकारी काम हुन नसकेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्माओलीले सरकारको कामको प्रशंसा एकतर्फी रुपमा गर्दै हिँड्नुले उनको असफलता प्रकट भएको नेता पौडेलको भनाई छ ।

प्रधानमन्त्री ओली आत्मरती गर्दै हिँडेपनि तथ्य तथ्याँकहरुले भ्रष्टाचार र अनियमितता निकै मौलाएर गएको उनले बताए  । सरकारले निर्वाचनको बेलामा घोषणा गरेको जेष्ठ नागरिकलाई पाँच हजार भत्ताको विषय नीति कार्यक्रम र बजेटमा हाल्न नसकेको उनको भनाई छ । सरकारको आत्मरती र आत्मप्रशंसा बाहेक केही नभएको भन्दै उनले सरकारले यो काम राम्रो गर्यो भन्ने स्थिति नभएको बताए ।

नेता पौडेलले वैशाखमा निर्वाचन नहुने दाबी पनि गरे । निर्वाचन गर्नको निम्ति प्रतिनिधिसभा विघटनको कदम चालिएको नभई सरकार टिकाउन र निरंकुश प्रणाली नेपालमा लागू गर्ने उद्धेश्य राखिएको उनको भनाई छ । राजनीतिक र संवैधानिक संकट मोचनका लागि संयुक्त जनआन्दोलन आवश्यक रहेको उनले बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले केपी ओलीको सरकार पूर्ण रुपमा असफल भएको बताए । राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न नसकेको तथा अर्थमन्त्रीले बजेट कटौती गर्नुपर्ने अवस्थासम्म आइपुगेको उनको भनाई छ । गैरसंवैधानिक तरिकाबाट राष्ट्र चलाउन खोजिएको उनले बताए । सिंगो कम्युनिष्ट पार्टी नै असफल भएको उनको भनाई छ । संयुक्त आन्दोलनको निम्ति कम्युनिष्ट पार्टीले विश्वास गुमाएको नेता ढुंगानाले बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेकपाको आन्तरिक किचलो, वर्तमान व्यवस्थाको फाइदा उठाउँदै र विदेशी शक्तिको हस्तक्षेपका कारण प्रतिनिधिसभा विघटन भएको बताए । ३ वर्षे कार्यकालमा प्रधानमन्त्री ओलीले केही गर्न नसकेको उनको भनाई छ । प्रतिनिधिसभा पुनःस्थापना तथा नयाँ निर्वाचन दुवैले वर्तमान राजनीतिक संकटको निकास नदिने उनले बताए । प्रतिनिधिसभा विघटन केपी शर्माओली र नेकपाको मात्रै असफलता नभई व्यवस्थाकै असफलता भएकाले वर्तमान व्यवस्थाकै पुर्नविचार गर्नुपर्नेमा उनले जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप