शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश: सार्वजनिक लेखा समिति सुस्तायो

समितिकै सदस्य भन्छन्– मृत अवस्थामा पुगेको छ
मङ्गलबार, ०४ फागुन २०७७, १५ : २८
मङ्गलबार, ०४ फागुन २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सुस्ताएको छ । प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामको अनुगमन गर्ने, आर्थिक गतिविधिको निगरानी गर्ने संसदीय समिति नै सुस्ताएका कारण अनियमितता बढ्न सक्ने जानकारहरु बताउँछन् ।

काम विशेषका कारण २ महिनादेखि सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बम प्रदेश राजधानीबाट बाहिर छिन् । समितिको बैठक नबसेको ६ महिना भएको समितिका सदस्य मानबहादुर धामीले रातोपाटीलाई जानकारी दिए । उनले प्रतिपक्षको उदासिनता, सभापतिको अकर्मण्यता र जवाफदेहिताप्रति गैरजिम्मेवारीपनका कारण समिति नै मृत अवस्थामा पुगेको बताए ।

उनले भने, ‘महालेखा परीक्षकको प्रतिवेदन वर्षे अधिवेशनमै बुझाएको भए पनि न त प्रतिवेदनमाथि अध्ययन भएको छ, न कुनै एक्सन छ ।’ संसदीय अभ्यासमा सार्वजनिक लेखा समितिलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने निकायका रुपमा लिइने भए पनि समितिका सभापतिको लापरवाहीका कारण केही काम हुन नसकेको धामीको भनाइ छ ।

लेखा समिति सदस्य देवकी मल्ल (थापा) ले पनि सरकारका काम कारवाहीप्रति समितिले जसरी निगरानी गर्नुपर्दथ्यो, त्यसअनुसार काम हुन नसकेको बताइन् । सभापति नै अनुपस्थित रहँदा समितिले प्रभावकारी ढंगले काम गर्न नसकेको जिकिर गर्दै उनले सभापति आइसकेपछि बैठक बसेर काम कारवाही अगाडि बढाइने बताइन् ।

सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिको कार्यालयमा केही महिनादेखि ताला लागेको छ । लेखा समितिका सदस्यहरु नै सदन नचलेका कारण समितिको कार्यालयमा ताला लागेको बताउँछन् । ‘कामै नभएको भन्ने होइन, ताला लागेको धेरै पनि भएको छैन,’ लेखा समिति सदस्य देवकी मल्ल (थापा)ले भनिन्, ‘सदन पनि नचलेको, सभापतिज्यू पनि बाहिर हुनुभएका कारणले यस्तो भएको हुन सक्छ ।’

पछिल्लो समय समितिका अधिकांश सदस्य प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा केन्द्रित भएका कारण केही असर देखिएको उनको भनाइ छ ।  यस्तै अर्का सदस्य गोविन्दराज बोहराले पनि संसद नचलेका कारण समितिको बैठक नबसेको बताए । आफू समितिमा केही समय अघिमात्रै चयन भएकाले धेरै कुरा जानकारी नभएको उनले बताए ।

लेखा समिति सचिव प्रेम पटेल समितिको सक्रियता बढाउने, बैठक बोलाउने काम सभापति नै हुने भएकाले अरुले चाहेर पनि केही गर्न नसक्ने बताउँछन् । ‘समिति चल्ने र बैठक बस्ने भनेको सभापतिका कारणले नै हो, उहाँ अहिले बाहिर भएका कारण बैठक बस्न नसकेको हो,’ उनले भने, ‘समितिमा उजुरी परेका छन्, बैठक बसेर त्यसमाथि छानविन हुनुपर्ने थियो तर बैठक बस्न सकेको छैन ।’

उनले गत वर्ष सामुदायिक सिँचाइ परियोजना सम्बन्धी उपसमिति गठन गरी छानविन भएको र दुईवटा परियोजनामा अनुगमन गरी समितिमा प्रतिवेदन पेश भएको बताए । साउन देखि ५÷६ पटकमात्र बैठक बसेको र सभापति भइहाले पनि कहिलेकाहीँ कोरम नपुग्ने गरेको उनको भनाइ छ । प्रदेश राजधानीबाट बाहिर रहेकी समितिका सभापति कुमारी नन्दा बमले समितिको काम भइरहेको र बैठक पनि बसेको दावी गरिन् । संसद नचलेको अवस्थामा काम विशेषले आफू बाहिर जानु परेको उनले प्रष्ट्याइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप