शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी अन्तरक्रिया: बेलाको बहस – १

दलतन्त्रले पिरोलेको नेपालको राजनीति

मङ्गलबार, ०४ फागुन २०७७, १२ : ३१
मङ्गलबार, ०४ फागुन २०७७

नेपालको राजनीति यतिखेर गत्यारोधको अवस्थाबीच गुज्रिरहेको छ । यसको मूल कारण दोषपूर्ण दलतन्त्र नै रहेको देखिएको छ । यो स्थिति अन्त्यका लागि वर्तमान दोषपूर्ण दलतन्त्रमा रूपान्तरण हुनु जरुरी छ । तर त्यो रूपान्तरण कसरी सम्भव छ ? यही प्रश्नको समाधान खोज्दै रातोपाटी डटकमले ‘बेलाको बहस’ कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम नेपाली राजनीतिमा दोषपूर्ण दलतन्त्र बारे अन्तक्र्रिया गर्दै शृङ्खलाबद्ध रूपमा अगाडि बढ्नेछ ।

सो अनुसार पहिलो चरणको कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त कार्यक्रमको सहजीकरण वाम बुद्धिजीवी एवं विश्लेषक श्याम श्रेष्ठले गर्नुभएको थियो ।  कार्यक्रममा  प्राध्यापक कृष्ण खनाल, घनश्याम भुसाल, दोभान राई, डा. शरद वन्त, डा. महेश मास्के, अजय शर्मा, हरि रोका, शशी श्रेष्ठ, युग पाठक,  विनोद लोहनी र नारायण ढकाल लगायत सहभागी हुनुहुन्थ्यो । सो कार्यक्रममा वक्ताहरूले राखेका विचारलाई रातोपाटीमा क्रमशः प्रकाशित गर्दै जाने योजना यसअघि नै सार्वजनिक गरिसकेका पनि छौँ । सोही योजनाअनुसार वक्ताका विचारहरूको सम्पादित उतार तथा भिडियो आजदेखि प्रकाशन सुरु गरेका छौँ । प्रस्तुत छ सहजकर्ता श्याम श्रेष्ठले कार्यक्रमको उद्देश्य र शीर्षकमाथि व्यक्त गर्नुभएको विचार ः

 

श्याम श्रेष्ठ, सहजकर्ता

हामी कारणमा मात्रै जाँदैनौँ । दलतन्त्रलाई तात्त्विक रूपमा फरक कसरी पार्ने भन्ने कुरामा हाम्रो अन्तरक्रिया केन्द्रित रहनेछ । दलतन्त्रलाई बदल्ने कसरी ? रूपान्तरण गर्ने कसरी ? भन्ने कुरामा हाम्रो कुरा केन्द्रित हुन्छ । तर भविष्यमा जानका लागि समस्याको सही पहिचान हुनु जरुरी छ । त्यो हुनु भनेको समस्याको आधाआधी समाधान हुनुजस्तो पनि हो । त्यसैले आज समाधानमुखी हुन र कारण पहिल्याउन गहिरो छलफल हुनेछ ।

बेलाको बहस शृङ्खला १ मा तपाईंहरूलाई स्वागत छ । यो बहस रातोपाटी डटकमले आयोजना गरेको हो । नेपालमा अर्थपूर्ण बहसको डिस्कोर्सको जरुरत रहेको र त्यसमा सहजीकरणका लागि रातोपाटीले गरेको प्रस्तावलाई स्वीकार्दै सहजीकरणको स्थानमा  आएको छु ।

बहसको विषयवस्तु छान्ने सन्दर्भमा दलतन्त्रको शीर्षक मैले नै सिफारिस गरेको हुँ । नेपालको राजनीतिमा दलतन्त्रले निकै धेरै पिरोल्यो । ७० वर्षको इतिहासमा झन्डै सातवटा संविधान ल्याउने देशका रूपमा हामी बदनाम छौँ । जस्तोसुकै राम्रो संविधान आए पनि त्यो संविधान सञ्चालन गर्ने पात्र वा दल गतिलो भएन भने संविधान बेकारको, कागजको खोस्टो मात्रै हुँदो रहेछ । त्यो हामीले अहिलेको १०, १२ वर्षमा पनि देख्यौँ । अहिले नेपालको संविधान २०७२ तुलनात्मक रूपमा यसअघिका संविधानभन्दा केही राम्रो प्रगतिशील भनियो तर सञ्चालन गर्ने पात्र, दलहरू गतिला नहुँदा समस्या जन्माइरहेको छ । भर्खरको समस्या हामी आफैले देखिरहेका छौँ, बेहोरिरहेको छौँ । जेलाई पनि  र जुनसुकै कुरालाई पनि गाँजा बनाउने खालको यहाँको स्थिति रह्यो । समानुपातिक चुनाव प्रणाली, समावेशिता, हरेक कुरालाई गाँजा बनाएर कागजको खोस्टोमा परिणत गरिदिने स्थिति हामीले देखिरहेका र भोगिरहेका छौँ ।

यो स्थितिमा हाम्रो दलतन्त्रमा के दोष रह्यो ? दल सञ्चालनको प्रणाली पो ठीक भएन कि वा दल निर्माणकै प्रक्रिया ठीक भएन कि ? दलहरूमा पेसेवर राजनीतिज्ञहरू रहने प्रणाली ठीक भएन कि ? दलमा वा दलतन्त्रमा के दोष रह्यो ? तिनलाई सुधार गर्ने कुरामा मूलतः आजको छलफल केन्द्रित रहनेछ ।

हामी कारणमा मात्रै जाँदैनौँ । दलतन्त्रलाई तात्त्विक रूपमा फरक कसरी पार्ने भन्ने कुरामा हाम्रो अन्तरक्रिया केन्द्रित रहनेछ । दलतन्त्रलाई बदल्ने कसरी ? रूपान्तरण गर्ने कसरी ? भन्ने कुरामा हाम्रो कुरा केन्द्रित हुन्छ । तर भविष्यमा जानका लागि समस्याको सही पहिचान हुनु जरुरी छ । त्यो हुनु भनेको समस्याको आधाआधी समाधान हुनुजस्तो पनि हो । त्यसैले आज समाधानमुखी हुन र कारण पहिल्याउन गहिरो छलफल हुनेछ । यसका लागि साढे तीन घण्टाको छलफलको समय निर्धारण गरिएको छ । आजको छलफलमा हामीले केही ज्यादा सहभागिता खोजेका थियौँ र त्यो सुनिश्चित पनि भएको थियो । प्रदीप गिरीजीले विषयवस्तुमा रुचि भएको र समय पनि त्यही खालको भएकोले आफू आउने बताउनुभएको थियो । तर अकस्मात् बिरामी परेको र चिकित्सकले बोल्न प्रतिबन्ध लगाएको कारण आउन नसकेको जानकारी गराउनु भयो ।  गगन थापालाई पनि निमन्त्रणा गरेका थियौँ । उहाँको वीरगञ्जमा अर्को कार्यक्रम परेका कारण सम्भव भएन । भर्चुअल जोड्ने प्रयत्न गर्दा पनि सम्भव भएन । विश्वप्रकाश शर्मालाई पनि जोड्ने कोसिस गरिएको थियो । त्यसमा उहाँको समेत रुचि रहेको तर आफन्तको निधनको कारण पूर्व जानुपर्ने भएकाले सम्भव भएन । यसरी सहभागी हुने इच्छा भएका केही साथीको सहभागिता सम्भव भएन । तर पनि यहाँ उपस्थित सहभागीहरू यस विषयका बारेमा चिन्तन, मनन, अध्ययन र लेखिरहेका साथीहरू उपस्थित हुनुहुन्छ । यो कार्यक्रमको थालनी हो । दलतन्त्रबारेको बहस यहीँ नै अन्त्य हुन्छ भन्ने छैन ।

सबैभन्दा पहिले यो विषयमा निरन्तर आवाज उठाइरहेका तथा लेखिरहेका तथा राजनीतिशास्त्रको प्राध्यापक अनि दलतन्त्रका बारेमा अलि गहिरो अध्ययन भएका प्राध्यापक कृष्ण खनालले छलफलको उठान गर्नुहुनेछ । प्राध्यापक खनालले उठाउनुभएका छलफलमाथि तथा आफ्ना छुट्टै विचारसमेत घनश्याम भुसालले प्रस्तुत गर्नुहुनेछ । त्यसपछि सबै वक्ताहरूले छलफललाई निर्माण गर्दै जाने ढाँचामा अगाडि जानेछ । यो छलफल एकपल्ट बोलेपछि सकिने खालको कार्यपत्रको ढाँचा होइन अन्तक्र्रियात्मक ढाँचामा हुनेछ । छलफलमा आइसकेका कुरालाई नदोहोर्याउने तर नयाँ विचार व्यक्त गर्ने ढाँचामा कार्यक्रम अगाडि बढ्नेछ । विषयवस्तुको आधारमा सबै वक्ताकै रूपमा बोल्ने गरी कार्यक्रम अगाडि बढ्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप