ad
केन्द्रीय संस्करण

म किन राजनीतिमा लागेँ ?

person explore access_timeफागुन ४, २०७७ chat_bubble_outline0

एक दशकभन्दा लामो सक्रिय पत्रकारितालाई बिट मार्दै मैले हालै मात्र विवेकशील साझा पार्टीको सदस्यता लिएको छु । जीवन निर्वाहका निम्ति केही वर्षअघि सुरु गरिएको सञ्चार र प्रविधि उद्यमलाई जारी राख्दै बाँकी समय राजनीतिक जागरण र वैकल्पिक राजनीतिक शक्ति स्थापनाको महाअभियानमा प्रयोग गर्ने अठोट लिएर मैले पहिलो पटक कुनै राजनीतिक दलको सदस्यता लिएको हुँ । 
व्यक्तिगत निकटता र चिनजानका आधारमा पेसा गर्ने क्रममा प्रायः सबै राजनीतिक दल सम्बन्धित मित्रहरुसँग भाइचारा रहे पनि पत्रकारिता र राजनीति सँगै गरिनुहुन्न भन्ने मान्यताले म भने योबीचमा कुनै पनि राजनीतिक दलको सङ्गठन, त्यसको भातृ सङ्गठन वा शुभेच्छुक सङ्गठनमा क्रियाशील भइनँ । 

राजनीतिलाई पैसा कमाउने माध्यम बनाउनुहुन्न भन्ने दृढ मान्यताका कारण पनि राजनीतिक वा व्यावसायिक लाभ लिनेगरी कुनै सङ्गठनमा लाग्नुपर्ने मलाई आवश्यकता महसुस भएन । समाजका हरेक पक्षको समानान्तर विकासबिना समग्र देशको विकास सम्भव छैन । समाजका हरेक सानादेखि ठूला एकाइसम्म इमानदार, कर्तव्यनिष्ठ र निःस्वार्थ भावनाले काम गर्ने नेतृत्व नहुँदासम्म देशको मूलधारको राजनीतिक संस्कार सुध्रिँदैन । तर हाम्रो समाजका हरेक अङ्ग र आयाममा मूलराजनीतिको हस्तक्षेप र प्रभाव भएको अवस्था छ । स्थानीय तहका विद्यालय व्यवस्थापन समितिमा होस् वा कुलाधारा निर्माण होस् राजनीतिक आस्थाका आधारमा सङ्गठन र व्यवस्थापन मात्र गरिँदैन त्यसमार्फत गरिने अनियमितता र भ्रष्टाचारलाई समेत यही राजनीतिकै आवरणमा दबाइन्छ । वकिलदेखि पत्रकारको सङ्गठन होस् या डाक्टरहरुको सङ्गठन, पेसागत हकहितभन्दा पनि मूल राजनीतिक नेतृत्वकै इसारामा चलेका छन् । कर्मचारीको ट्रेड युनियन होस् या न्यायमूर्तिहरु नियुक्त गर्ने न्यायपरिषद् नै किन नहोस् जताततै राजनीतिक सिन्डिकेटको प्रभुत्व छ । समाजका सबैजसो निकाय र एकाइहरुमा अस्तव्यस्त राजनीतीकरणले आम मानिसमा तीव्र निराशा उत्पन्न गराएको छ । 

राज्यका सेवा वितरण गर्ने संरचनाहरु प्रत्येक दिन शिथिल बन्दै गर्दा सेवाग्राही नागरिकमा वितृष्णा र विद्रोहको भावना बढ्दै गएको छ । मालपोत, यातायात होस् वा जिल्ला प्रशासन कार्यालय नै किन नहोस् भ्रष्टाचार र बेथितिले भरिएका छन् । सामान्य नागरिकले सहज रूपमा लिनसक्ने सेवासमेत दलाल नलगाई लिन सकिने अवस्था छैन । विद्यार्थी सङ्गठनका नाममा पुरातनवादी पार्टीहरुले हाम्रा विश्वविद्यालयहरुको साख रसातलमा पुर्याइसकेका छन् । उद्यमी र नवप्रर्वतनमा काम गर्ने युवाले राज्यको संरक्षण नपाउँदा पलायनको अवस्थामा छन् भने दलाल पुँजीपतिहरुले राज्यसत्ता र नेताको परिक्रमा गरेर अनुचित लाभ लिनेक्रम बढ्दै गएको छ । 
एउटा निरीह नागरिक दुई मुख जोड्न खाडी मुलुक भासिनुपर्ने बाध्यता सिर्जना मात्र भएको छैन सामान्यीकरण नै भइसकेको दर्दनाक अवस्था हामीमाझ छ । राजनीतिक वाद, दर्शन वा तन्त्रका नाममा दशकौँदेखि अस्थिर बनाइएको राजनीतिले जनताको न्यूनतम आवश्यकता, सुरक्षाको प्रबन्ध गर्नु त टाढै जाओस् सामान्य सुशासनको छनकसमेत कथित अग्रगामी दलहरुले दिनसकेको छैन । सत्ताको सिँढी चढ्न भ्रष्ट नेताहरुले निर्माण गरेको भ्रष्ट सङ्गठनले सामाजिक न्याय र समतामूलक समृद्धिको सपनालाई सपना मात्र बनाइदिएको छ । 

राज्यले दिनुपर्ने न्यूनतम शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा समेत हुनेखाने र निम्न आय भएका वर्गबीच ठूलो खाडल छ । यसले निम्त्याएको असमानताले नागरिक तहमा राज्यको विभेदकारी चरित्र छताछुल्ल भएको छ । पैसा हुनेले महँगा अस्पतालमा उपचार गराउने तर पैसा नहुनेले सामान्य उपचारसमेत नपाएर मृत्युवरण गर्नुपर्ने टिठलाग्दो चित्र हामीमाझ छ । यो सबै हेरिरहँदा र भोगिरहँदा मेरा चेतनाहरुले मभित्र विद्रोह सिर्जना गर्यो । आफू मात्र बन्ने तर समाजलाई हरेक दिन उस्तै अस्थिर राखिरहने पुरातनवादी राजनीतिक संस्कारमाथि धावा बोल्दै राजनीतिमा पनि नवप्रवर्तनको आवश्यकता भएको बोध गरेर म वैकिल्पक राजनीतिध ध्रुवमा ध्रुवीकृत भएको हुँ । 

पुराना दलहरुले समयक्रममा समाजमा ठूलो प्रभुत्व निर्माण गरेका छन् । कार्यकर्ता उत्पादन र प्रयोग गर्ने तर उनीहरुलाई उद्यमशील र श्रमशील नबनाउने वा बनाउन नसक्ने अवस्थामा हाम्रो राजनीति गुज्रिरहेको छ । कार्यकर्ताको प्रयोग र परिचालनमार्फत समाजलाई उत्पादनशील र सिर्जनात्मक बनाउनुको साटो अस्थिरता र आन्दोलन गराउन मात्र प्रयोग गर्ने तथा राजनीतिक सिँढीका रूपमा मात्र युवा र आम कार्यकर्तालाई प्रयोग गरी उनीहरुको सपनालाई दोहन गरिँदैछ । जसले गर्दा समाजमा रोजगारी र उद्यमशीलताको साटो राजनीतिक अस्थिरताको मात्र प्रवद्र्धन भएको छ । झण्डा बोकेका आधारमा राजनीति र सत्तामार्फत अनुचित लाभ लिने दलाल वर्गको बोलवाला बढेको बढ्यै छ । कार्यकर्ताको बलमा नेता र शासक बनेका राजनीतिकर्मीले कालान्तरमा नातावाद, कृपावाद र भनसुनवादलाई यति प्रोत्साहन दिएकी राज्यको कुनै सामान्य काम गर्न गराउन पनि राजनीतिकर्मीको सिफारिस चाहिने अवस्था बनेको छ । सभ्य समाजका निम्ति योभन्दा दुःखद अवस्था केही हुँदैन । 

७ दशकदेखि जारी राजनीतिक स्वतन्त्रताको आन्दोलन हरेक दशकमा गर्नुपर्ने अवस्था आएको छ । लोकतान्त्रिक जगमै प्रधानमन्त्री बनेका केपी ओलीजस्ता नेतालाई यही विकृत राजनीतिले तानाशाह बनाएको छ । आफ्नो पार्टी र नेताका हरेक निर्णयलाई आँखा चिम्लेर स्वागत गर्ने अराजनीतिक भीड हुँदासम्म ओलीजस्ता तानासाह जन्मिरहन्छन् । हरेक पुस्ताले लोकतन्त्र प्राप्तिकै लागि लड्नुपर्ने शृङ्खला चलिरहन्छ । २०४६ को राजनीतिक स्वतन्त्रता प्राप्त भएसँगै असन्तुष्ट भएकाहरुले गरेको विद्रोहमार्फत स्थापना भएको पछिल्लो राजनीतिक र शासकीय संरचना पनि एकदशक ननाघ्दै कमजोर बनेको छ । हामीले नै बनाएका राजनीतिक नेतृत्वको अकर्मण्यताको शिकार कति पुस्ता हुनुपर्ने हो ? तीनपुस्ता नै लोकतन्त्रकै लागि लड्नुपर्ने हो भने सुशासन, गुणस्तरीय जीवन एवं अर्थतन्त्र र समाजको समतामूलक विकासका एजेन्डाका लागि कहिले लड्ने ? कसले लड्ने ? धनी धनी भइरहने र गरिब थप गरिब भइरहने यो विकृत राजनीतिक आर्थिक व्यवस्थाका विरुद्ध कहिले विद्रोह गर्ने ? देशमा व्याप्त सामाजिक, आर्थिक असुरक्षाका कारण नवयुवाहरुलाई कति विदेश धपाइरहने ? हाम्रो पुस्ता र अघिल्लो पुस्ताले भोगेको समान राजनीतिक सामाजिक दुःख भावी पुस्तालाई पनि दिने ? यी र यस्ता प्रश्नले मभित्र विद्रोहको ज्वारभाटा सिर्जना गरेको हो । 

उही पुरातनवादी एजेन्डा, अमूृर्त राजनीतिक शब्दजाल र असभ्य राजनीतिक संस्कारका विरुद्ध यो पुस्ताले ढिलोचाँडो क्रान्ति गर्नुपर्ने अवस्था छ । यो नयाँ र वैकिल्पक ध्रुवीकरण यसै राजनीतिक लक्ष्यलाई आत्मसात गरेर अघि बढेको छ भने विश्वास लिएरै म यसको सदस्य भएको हुँ । नयाँ पुस्ताको सोच, भावना, अपेक्षा र सिर्जनात्मक शक्तिलाई प्रयोग गर्दै मूल राजनीतिमा हस्तक्षेप गर्ने लक्ष्य बोकेकाहरु बीचको यो ध्रुवीकरण छिटै मूल राजनीतिक शक्तिका रूपमा स्थापित हुनेमा शङ्का छैन । एउटा सभ्य समाजसँगै राजनीतिक अकर्मण्यताको शिकार भएर रहन सक्दैन वा रहनदिनुहुन्न । 

अन्तिममा, भनिन्छ राजनीतिलाई भीडले निर्देशित गर्छ । तर त्यो भीडको नियत सफा हुनुपर्छ । राजनीतिक लाभ दिइहाल्ने भीड त पुरानै पार्टीहरुमा छ तर यो अब बन्ने नयाँ भीड भने कुनै अमुक नेताको ढाल बन्नका लागि खडा हुँदैछैन । असल र इमानदार मान्छेहरुको सङ्गठन मात्र रूपान्तरणकारी भीड बन्नेछ । हो, सत्यलाई स्थापित गर्न समय लाग्छ । सत्यमा आधारित भीड जम्मा हुन समय लाग्छ । तर असम्भव भने छैन । कल्याणकारी लोकतन्त्रको मूल दर्शनमा टकेर सुसंस्कृत राजनीति र समतामूलक समृद्धि प्राप्त गर्ने हाम्रो मूल लक्ष्य हो । सहभागितामूलक लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र, कल्याणकारी राज्य र सामाजिक न्याय हाम्रा मार्गदर्श सिद्धान्त हुन् भने पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता हाम्रा मूल्यमान्यता हुन् । यस महाअभियानमा समयक्रममा सबैको हातेमालो रहनेमा हामी सबै विश्वस्त छौँ । 

(भेटुवाल विवेकशील साझा पार्टीको सञ्चार विभागका सदस्य हुन् ।) 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.