मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस रहँदासम्म संविधानभन्दा माथि कोही पनि बस्न पाउँदैनः प्रदिप पौडेल

सोमबार, ०३ फागुन २०७७, १९ : ४१
सोमबार, ०३ फागुन २०७७

दैलेख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलले केपी ओली सरकारले तीन वर्षमा जनताका लागि कुनै काम नगरेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्द दैलेखमा आयोजित विरोध प्रदर्शनमा बोल्दै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्रीले ओम्नीलाई कतिवटा ठेक्का दिए र यती होल्डिङलाई कतिवटा सरकारी सम्पत्ति जिम्मा लगाए भन्ने कुरा नेपाली जनताका लागि उपलब्धिको विषय नभएको बताउँदै उनले भने, ‘यो तीन वर्षमा केपी ओलीजीले जनताका निम्ति केही पनि काम गर्नुभएन । तीन वर्षको अवधिमा यो सरकारले एउटा पनि नयाँ परियोजना ल्याएन ।’ 

पौडेलले मध्य–पहाडी राजमार्ग, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, मेलम्ची खानेपानी योजना ओली सरकारले बनाएका योजनाहरु नभएको दावी गरे। ‘पहिले सुरु भएका योजनाहरु निरन्तर चलिरहेका थिए । यो सरकार आएपछि काम एकदमै ढिलो भयो’, उनले भने, ‘यो सरकार आउँदा मेलम्चीको काम जम्मा १० प्रतिशत मात्रै बाँकी थियो । तीन वर्षसम्म त्यो १० प्रतिशत काम पनि पूरा भएन ।’ 

कार्यक्रममा बोल्दै उनले भने,  ‘तीन वर्षमा केपी ओलीजीले कति पटक खोक्नुभयो, कति पटक हाछ्युँ गर्नुभयो र कति पटक अस्पताल जानुभयो ? यो नेपाली जनताको सरोकारको विषय होइन ।’ ओली सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको उनको भनाइ थियो । उनले संसदले पास गरेको नेपालको नक्सा केपी ओलीले शिक्षा मन्त्रालयले प्रकाशित गर्ने पाठ्यपुस्तकमा राख्न नदिएको पनि बताए । 

उनले केपी ओलीसँग उखान टुक्का भन्ने मात्रै क्षमता रहेको बताउँदै केपी ओली र नेकपासँग नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना नभएको जिकीर गरे । प्रधानमन्त्रीको रुपमा शपथ लिने बेलामा ईश्वरलाई मान्दिन भन्ने केपी ओलीले संसद विघटन गरेर पशुपतिमा सुनको जलप लगाउने घोषणा गरेर नाटक गरेको पनि उनले बताए । 

कार्यक्रममा बोल्दै उनले केपी ओली र विद्यादेवी भण्डारी संविधानभन्दा माथि बस्न खोजेको तर नेपालमा काँग्रेस रहँदासम्म संविधानभन्दा माथि कोही पनि बस्न नपाउने दाबी गरे ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सत्तरी महिना लगाएर मर्मत गरिएको सिँहदरबारबाट सरकारको तीन वर्षे कार्यकालमा धेरै राम्रा काम भएकाले आफ्नो सरकार सफल रहेको दाबी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप