फेवाताल अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो, कार्यान्वयन कहिले होला ?
पोखरा । फेवातालको चार किल्ला निर्धारण सीमाङ्कन तथा नक्साङ्कन समितिले आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । फेवातालको चार किल्ला निर्धारण गर्न सरकारले बनाएको ‘सीमाङ्कन तथा नक्साङ्कन समिति’ले २०३८ सालको अध्ययन समितिले देखाएको क्षेत्रफल पनि कायम हुनेगरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । यूएनडीपीले २०३८ मा तयार पारेको अध्ययन प्रतिवेदनमा तालको क्षेत्रफल ५.८ वर्ग किलोमिटर उल्लेख छ । यसैगरी २०६४ मा विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रफल ५.०६ वर्ग किलोमिटर उल्लेख छ ।
‘सीमाङ्कन तथा नक्साङ्कन समिति’ले तयार पारेको प्रतिवेदनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका हुन् । टोलीले बुझाएको प्रतिवेदनमा फेवातालको क्षेत्रफल ५.३ वर्गकिमि उल्लेख छ ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले छिट्टै नै मन्त्रिपरिषद्को बैठक डाकेर प्रतिवेदन पास गरी तत्कालै मापदण्ड कार्यान्वयनमा ल्याउने बताएको समितिले जनाएको छ ।
प्रतिवेदन तत्कालीन जिल्ला विकास समितिका सभापति पुण्य पौडेलको संयोजकत्वमा गठित समितिले तयार पारेको हो ।
प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन र नक्सा पनि बुझाइएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए ।
‘प्रतिवेदनमा चार किल्ला भनी प्रमाणित गर्न मिल्ने आधार र पानीको सिमानासमेत किटान गरिएको मेयर जिसीले बताए । प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएपछि मात्रै अतिक्रमित जग्गाको खोजी र मुआब्जाको काम थालिनेछ ।
सर्वोच्च अदालतले झण्डै साढे २ वर्षअघि फेवाताल संरक्षणसम्बन्धी परेका रिटहरूको फैसला दिँदै ६ महिनाभित्र कार्यान्वयन गर्ने गरी आदेश दिएको थियो ।
सर्वोच्चले आदेश दिएको २ वर्षसम्म पनि सरकारले कुनै काम नगरेपछि प्रधानमन्त्री केपी ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायतले अदालतको अपहेलना गरेको भन्दै पुनः मुद्दा दर्ता भएको थियो ।
अदालतको अपहेलनासम्बन्धी मुद्दा परेपछि सरकारले गत साउनमा फेवातालको चार किल्ला सिमाना निर्धाण समिति गठन गरेर काम अगाडि बढाएको थियो । समितिलाई सरकारले ३ महिनाको समयसीमा तोकेको थियो ।
समितिका संयोजक पौडेलले स्थलगत अध्ययन, सरोकारवाला र स्थानीयसँग छलफल गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए । उनले अहिलेसम्म तयार भएका प्रतिवेदन, स्थलगत अध्यायनसहित सम्बन्धित पक्षसँगको छलफल गरेर प्रतिवेदन तयार पारेको बताए ।
सर्वोच्च अदालतले गरेको फैसलामा तालदेखि ६५ मिटरसम्म भौतिक संरचना बनाउन नपाइने उल्लेख छ । अहिले भइरहेको संरचनासमेत हटाउन सर्वोच्चले आदेश दिएको छ ।
उक्त आदेश विपरीत अहिले बनिरहेका होटल तथा रेस्टुरेन्ट जोगाउन केही व्यवसायीले ६५ मिटरको मापदण्ड संशोधन गर्न दबाब दिइरहेका छन् ।
बाँध मर्मत गर्न पानीको सतह घटाइयो
चार दशक पहिले निर्माण गरिएको फेवातालको बाँधको मर्मत सुरु गरिएको छ । निर्माण भएको लामो समय वितिसक्दा समेत ड्याम मर्मतसम्भारको कार्य नभएका कारण तालको पानी चुहिएर सतह घट्ना थालेपछि फेवातालको पानीको सतह २ मिटर घटाएर मर्मत थालिएको हो ।
लामो समयदेखि ताल संरक्षणका लागि बनाइएको बाँध जीर्ण भएका कारण बाँध निर्माण गर्नका लागि तालको पानी घटाइएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए ।
गत हप्तादेखि तालमा पानीको सतह घटाउन लागिएको हो । ड््याम मर्मतको कार्य एक महिनाभित्र सक्ने गरी अगाडि बढाइएको इन्जिनियर आचार्यले बताए ।
कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ । विंस २०३५ सालमा बनेको उक्त बाँधको तलको गेट र रम्बर मर्मतसम्भार गरेपछि तालमा पानीको सतह पुनः पहिलेको सतहमा आउने छ ।
तालमा पानीको सतह घटे पनि डुङ्गा व्यवसायी र डुङ्गामा शयर गरेर दैनिकी चलाउनेहरुले समेत समस्या भएको बताएका छन् ।
प्रतिवेदनपिच्छे क्षेत्रफल फरक
फेवातालबारे अहिलेसम्म तयार पारिएका विभिन्न अध्ययन प्रतिवेदनमा तालको क्षेत्रफल फरक फरक देखाइएको छ । हालसम्म विभिन्न समयमा गठन भएका ९ वटा अध्ययन समितिले भिन्नाभिन्नै प्रतिवेदन बुझाएका छन् । पहिलो पटक गठन भएको ब्रिटिस सर्भे अफ इन्डियाले फेवातालको क्षेत्रफल ३.४३ वर्ग किलोमिटर उल्लेख गरेको छ । त्यस्तै नेपाल–भारत सहयोग मिसनले २०१८ सालमा गरेको अध्ययनमा १० वर्ग किलोमिटर क्षेत्रफल उल्लेख गरेको छ । केन्द्रीय नापी विभागले २०६४ मा गरेको सर्भे अनुसार ४.२० वर्ग किलोमिटर उल्लेख छ ।
तालको माटो झिक्न समिति बन्यो
गण्डकी प्रदेश सरकारले फेवाताल किनाराको माटो हटाउन समिति बनाएको छ । तालको पानी घटाएर मर्मत थालिएको अवस्थामा फेवाताल किनारामा थुप्रिएको ढुङ्गा, माटो, गिट्टी, बालुवा लगायत फोहोरमैला व्यवस्थापन गर्न जनस्तरमा आवाज उठेपछि सरकारले समिति बनाएको हो ।
पर्यटनमन्त्री विकास लम्सालको अध्यक्षतामा बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
समितिमा ताल प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा. अनुप गुरुङ, पोखरा महानगरपालिका सहरी योजना आयोगका सदस्य सरोज कोइराला, डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बराल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख इन्जिनियर किरण आचार्य, बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकी प्रमुख रामसिंह थापा, जलाधार व्यवस्थापन कार्यालय तनहुँ प्रमुख कृष्णप्रसाद घिमिरे लगायत सदस्य छन् ।
तालका विभिन्न क्षेत्रमा थुप्रिएका गेग्रान निकाल्न बैठकले विभिन्न कार्यालयलाई कार्यक्षेत्र नै तोकेको छ ।
ड्यामसाइडस्थित बाँधदेखि फिर्केखोलासम्म पर्ने ताल क्षेत्रमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की, फिर्केखोलादेखि कोमागाने पार्कसम्म पोखरा महानगरपालिका र ताल संरक्षण तथा विकास प्राधिकरणले माटो निकाल्ने छ ।
त्यसैगरी बाराहीघाटदेखि खहरे क्षेत्रको अन्तिम विन्दु (गैराको चौतारा) सम्म ताल संरक्षण तथा विकास प्राधिकरण र भू तथा जलाधार व्यवस्थापन कार्यालयले काम गर्ने जिम्मा पाएका छन् ।
फेवाताल सुकेको बेला सिमसारमा डोजर
तालको पानी घटेको मौका छोपेर जमिन पुर्न र घडेरी बनाउन त्यस क्षेत्रका स्थनीयले रातारात डोजर लगाएका छन् । पोखरा १८ स्थित रातमाटामा स्थानीयले रातिको समयमा डोजर लगाएर ताल पुरेका थिए ।
फेवातालको किनार–किनार पामे जाने पक्की बाटोमा रातारात डोजर लगेर पिचसमेत भत्काएछि प्रहरीले स्थानीय हुमबहादुर थापा र सन्तोष थापालाई पक्राउ गरेको छ । डोजर प्रयोग गरेर ताल पुरेको थाहा पाएपछि उनीहरु दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरले पक्की बाटोमा डोजर चलाउँदा ३ लाख ११ हजार रुपैयाँको क्षति भएको अनुमान लागत निकालेको छ । पामेसाइडमा ताल किनारमा दलदल परेको भू–भागमा अहिले पनि ट्रकका ट्रक माटो खन्याएर पुरिएको छ ।
होटल, रेस्टुरेन्ट चलाउन जग्गावाल र जग्गा भाडामा लिएका व्यवसायीले महानगरको आँखा छल्दै ताल पुरिरहेका छन् । यस्तै खपौंदी भएर बग्ने सेदी खोलाको बाटो बनाउने नाममा पनि यसरी नै डोजर लगाइएका छन् ।
फेवाताल भर्न सेतीको पानी ल्याइने
फेवातालको बाँध मर्मत गर्न फेवातालको पानीको सतह घटाउँदा ६ करोड ८० लाख लिटर पानी बगेर गएको छ । बाँधको रवरसिल काम नलाग्ने अवस्थामा पुगेपछि मर्मत थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले बताए ।
बाँधका ४ वटै ढोका खोलेर पानी बगाउँदा २ मिटर पानीको सतह घटाइएको छ । बाँध मर्मतपछि सेती सिँचाइ प्रणालीबाट पानी ल्याएर फेवातालमा खन्याउने योजना बनाएको आचार्यले बताए । सेती नदीको पानी नहरबाट फेवातालमा लगाउने उनले बताए । सेती नदीको पानी फेवातालमा लगाएको १ महिनाभित्रै पहिलेकै अवस्थामा तालमा पानी भरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
-
दुर्गा प्रसाईंको ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन : ओली
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन