रैतीमार्गमा वनका राजा !
सुर्खेत । कुनै बेला काठका भाँडाकुँडा बनाएर जीविकापार्जन चलाउँदै आएका राउटे समुदाय आजभोलि परनिर्भर बनेका छन् । सहयोगको नाममा सरकारी एवं गैरसरकारीले सङ्घसंस्थाको आफूखुसी सहयोगले गर्दा राउटेहरू परनिर्भर बन्दै गएका हुन् ।
कु–काठका भाँडाकँुडा बनाउनका लागि दिनभरि जङ्गल धाउने दोस्रो दिनमा बस्तीमा आएर तयार बनाउने र तेस्रो दिनमा गाउँमा बिक्री गरेर जीविका चलाउँदै आएका समुदायमा सरकारी एवं गैरसरकारी संस्थाले राउटेको माग बमोजिम नभई सहयोगको नाममा बजेट सक्ने र आवश्यकताभन्दा बढी सहयोग दिन थालेपछि राउटे समुदाय अल्छी बनेका हुन् ।
सामाजिक सेवा केन्द्र सोसेकले कम मूल्यमा खरिद गरी कर्णाली प्रदेश कार्यालय सुर्खेतमा राखिएका राउटेले बनाएका भाँडाकुँडा । राउटेबाट १५० का दरले कोशी खरिद गरी पाँच सयदेखि छ सयसम्ममा बिक्री गर्दै आएको छ ।
राउटे समुदायले परम्पराको निरन्तरता चाहे सरकारी एवं गैरसरकारी सहयोग गर्दा उनीहरूले काठ खोज्दैनन् । भेटिएको कु–काठबाट भाँडाकुँडा बनाउने त्यसलाई बस्तीमा गएर गैरसरकारी संस्थाले कम मूल्यमा खरिद गर्ने हुँदा ऊर्जाशील राउटेमा अल्छीपना देखिन थालेको छ । उसो त राउटेका भाँडाकुँडामा समेत राउटेको आयआर्जन गर्न संस्थाले कम मूल्यमा खरिद गर्ने, बढी मूल्यमा बिक्री गरेर विचौलियाको काम गर्दै आइरहेको सरोकारवालाहरूले बताउने गरेका छन् । राउटे सँग १ सय ५० रुपैयाँ खरिद गरिएका कोसी राउटेमा काम गर्ने सङ्घ संस्थाले ६ सयमा बिक्री गर्ने गरेको पाइन्छ ।
राउटेलाई आईएनजीओहरूले चामल, त्रिपाल दिने गरेका छन् । राउटे परिवर्तनको नाममा केही एनजीओलेहरू डलर कमाउनका लागि संस्कार नै बर्बाद गरिदिएको स्थानीयबासीको आरोप छ । एनजीओहरू संस्कार माथि नै जाइलागेका छन् । स्थायी बसोबास, लेखपढ र खेतीपाती महाशत्रु ठान्ने यो समुदायलाई हिजोआज आफ्नो कुल बिर्संदै गएको पाइन्छ । सहयोगको नाममा कुलधर्म नै विगारिरहेको रहेको बुद्धिजीवीको बुझाइ छ । तर राउटे समुदायमा काम गरिरहेको सामाजिक सेवा केन्द्र सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापा भन्छन्– ‘‘राउटेको मागबमोजिम नै सहयोग भइरहेको छ । हामीले उनीहरूको इच्छा विपरीत केही काम गरेका छैनौँ ।’ राउटे समुदायले कु–काठबाट आरी, खाट मधुस, कोसी, पिर्का र झुमा बनाई बिक्री गरी जीविका चलाउँदै आएका थिए । सङ्घीय सरकारले ३ हजार र प्रदेश सरकारले २ हजार गरी यो समुदायले मासिक ५ हजार भत्ता पाउने गर्छन् ।’’
राउटेलाई भत्ता वितरण लगायतका विभिन्न कार्यक्रमका तस्बिर ।
केही समयअघि मात्र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित अन्य मन्त्रीहरू राउटेको हाल बासस्थान रहेको दैलेखको गुराँस गाउँपालिका पुगे । सोही समयमा थप २ हजार भत्ता दिने घोषणा गरे मुख्यमन्त्री शाहीले । सोही बमोजिम प्रदेश सरकारले निर्णय गरेर नै थप २ हजार भत्ता दिने निर्णय गरेको हो ।
राउटे समुदायको भत्ता वितरण दैलेखको गुराँस गाउँपालिकाले गर्दै आएको छ । राउटे समुदायलाई परिचय पत्र दिई भत्ता वितरण गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओली बताउँछन् । उनी भन्छन्, नेपालमै हामी पहिलो पटक लगत सङ्कलन गरी फोटोसहित परिचयपत्र दिएका छौँ । परिचय पत्रमा राउटे गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा भएका छन् । जुनसुकै जङ्गलमा भ्रमणशील जीवनयापन गरे पनि गाउँपालिकाले त्यसै ठाउँमा गएर लोपोन्मुख भत्ता वितरण गरिरहेको छ ।
पहिलो पटक २०६५ सालमा जिल्ला विकास समिति दैलेखको आर्थिक सहयोगमा दैलेखका पत्रकार भक्तबहादुर शाही र हरिहरसिंह राठौरले राउटेको लगत सङ्कलन गर्ने काम गरेका थिए । सोही समयमा राउटे जनसङ्ख्या १५० रहेको थियो । कर्णाली प्रदेशको गहना र नेपालको सम्पदा मानिने यो समुदायको सङ्ख्या अहिले १४९ जना छ ।
मदिरा मोहमा लिप्त राउटे
काठको झुमामा तीन महिना अन्न कुहाएर चाडपर्वमा मात्र जाँड बनाएर खाने राउटे समुदाय भने चौबिसै घण्टा मदिरा पिउन थालेका छन् । राउटेमा आवश्यकताभन्दा बढी सहयोग चाहिनेभन्दा नचाहिने बस्तु दिँदा राउटे कम मूल्यमा बिक्री गरी मदिरा पिउन थालेका हुन् ।
राउटेहरूले पिउन गरेको लिची र सोफी कमसल खालको मदिरा हो । थोरै खाएमा बढी नशा दिने भएपछि त्यो समुदायको रोजाइ लिची र सोफी परेको राउटे मुखिया सूर्यनारायण शाहीले बताए । उनले भने, ‘धेरै पैसा पर्ने रक्सी खाउ भने पैसा हँुदैन । कम पैसा पर्ने खाँदा नशा दिन्छ । रमाइलो हुन्छ ।’
राउटे समुदायका ससाना बालबालिकादेखि गर्भवती महिलासमेत मदिरा पिउँछन् । मदिरा नपिउने सदस्य नै समुदायमा भेटिँदैन । मदिराकै कारण राउटे समुदायमा अहिलेसम्म ३ जनाको मृत्यु भएको राउटे समुदायलाई नजिकै अनुसन्धान गर्दै आएका अछामको तुर्माखाँद गाउँपालिकाका धनबहादुर बीसीले बताए ।
उसो त नेपाल सरकारले दिने लोपोन्मुख भत्ता अधिकांश राउटेले मदिरामा खर्च गर्ने गर्छन् । भत्ता आउने दिनमा राउटे बस्तीभन्दा नजिक रहेका पसलेहरूले उधारो दिने, बस्तीमा कमसल खालका सोफी र लिची पु¥याउने गरेको राउटेमा काम गर्दै आएका छन् । यदि राउटेमा मदिरा नियन्त्रण नगरे २० वर्षमै यो जाति लोप भएर जान सक्ने देखिन्छ । अहिले राउटे रैतीमार्गमा हिँडेको पाइन्छ । राउटेले आफ्नो सबै परम्परा भुलेर सामान्य समुदायको व्यक्तिजस्तै बन्न थालेका छन् । यद्यपि कतिपय सरोकारवालाहरूले भने राउटेको परम्परालाई बाचाइराख्नुपर्ने तर्क राख्छन् ।
लगानी अपारदर्शी
राउटे समुदायका नाममा सरकारी एवं गैरसरकारी सङ्घ संस्थाले गरेको लगानी अपारदर्शी रहेको पाइन्छ । राउटेमा कति बजेट आयो ? के के प्रयोजनका लागि खर्च गरियो ? त्यसको अनुगमन सम्बन्धित निकाय चासो नदिँदा राउटेसमेत बेखबर छन् । २०६३ सालदेखि यो समुदायमा गरिएको खर्च केकति भयो ? अहिलेसम्म यकिन छैन । राउटेले पनि हाम्रा लागि कति बजेट कसले दिएको हो ? कुन कामका लागि आएको हो ? भनेर सोधीखोजी नगर्दा गैरसरकारी संस्थाले कम सहयोग दिई बढी बजेट खर्च भएको देखाउने गरेका छन् । सामाजिक सुरक्षाको भत्तामा समेत अनिमियता भएको हुनसक्ने केही बुद्धिजीवी बताउँछन् ।