ad
केन्द्रीय संस्करण

सूचना प्रविधिसँगै मौलाएको प्रणय दिवस

person explore access_timeफागुन २, २०७७ chat_bubble_outline0

 

धेरै अमेरिकी र युरोपेली देशहरूमा सबैभन्दा धेरै खर्च गरिने चाड नै हो प्रणय दिवस । पूरै विश्वभरि सबैभन्दा धेरै चक्लेट तथा फूलहरू बिक्री हुने दिन हो प्रणय दिवस । हरेक वर्ष नेपालमा ५ लाखभन्दा बढी गुलाफको फूल बिक्री हुने दिन नै हो प्रणय दिवस । सार्वजनिक रूपले यस दिनमा बिदा नभए पनि धेरै होटल, क्याफे तथा रेस्टुरेन्टमा विशेष अफर राखिएको पाइन्छ । यस दिनमा अविवाहित जोडी मात्र नभएर विवाहित दम्पती पनि होटल तथा क्याफेमा गई एक अर्कोलाई फूल र उपहार साटासाट गरी मनाउने प्रचलन बढ्दो छ ।

फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइनडे प्रेमका गुरु सन्त भ्यालेन्टाइनले पे्रमका विरोधीहरूप्रति विद्रोह गर्दै सहादत प्राप्त गरेको दिन । प्रेम सर्वव्यापी मान्यता हो । यसमा बन्देज कदापि स्वीकार्य हुँदैन भनेर वकालत गर्ने सन्त भ्यालेन्टाइनको स्मरणमा मनाइएको प्रेम दिवस विश्वभरका प्रेमीहरूको पर्व बनेको छ । प्रेमको यो उत्सवले आत्म प्रेममा केन्द्रित भएकाहरूलाई बाहिर निस्कन घच्घचाउँछ । यो धर्तीको कण–कणमा प्रेम छरिएको छ । मानिस जति प्रेममा पर्दै जान्छ, उति नै आनन्द प्राप्त गर्दै जान्छ । प्रेम साश्वत, सत्य भए पनि प्रेम गर्ने शैली, आकार–प्रकार र बाधा–अड्चन समयसँगै परिवर्तन हुँदै गएका छन् ।

नेपाली परिवेशमा हेर्ने हो भने भूमण्डलीकरणसँगै तीव्र आधुनिकीकरणका कारण प्रणय दिवसको स्वरूप फराकिलो बन्दै गएको छ । अहिलेका युवायुवती पश्चिमा संस्कृतिप्रति अभिमुख हुने प्रवृत्ति बढ्दै गएको छ । परम्परागत रुढिवादी सोचले जकडिएको समाजमा परिवर्तन खोज्ने क्रममा नेपालमा प्रणय दिवस मनाउने संस्कृति झाङ्गिदै गएको छ । नेपाली परिवेशमा यो नेपाली संस्कृति नभए पनि सहरकेन्द्रित समाजमा यसलाई पर्वका रूपमा लिनेहरूको सङ्ख्या उल्लेख्य छ । नेपाली संस्कृतिमा यस प्रकारको पर्वको अभावका कारण प्रणय दिवसको लोकप्रियता बढ्दै गएको छ । नेपालमा कुनै समय प्रेम गर्छु भन्न लजाउनुपर्ने अवस्था थियो तर अहिले प्रेम गरेको छैन भन्न लजाउनुपर्ने अवस्था आइसकेको छ । परम्परागत मान्यतामा परिवर्तन खोजिरहेको अहिलेको आधुनिक पुस्ताले प्रणय दिवसलाई आत्मसात गर्नु कुनै नराम्रो कुरा त होइन तर प्रेमी–प्रेमिकाको अभावका कारण प्रणय दिवस निरास भयो भनेर आत्तिनु चाहिँ एउटा डरलाग्दो पक्ष हो ।

अहिलेको विश्वव्यापीकरणसँगै प्रेम गर्ने शैली परिवर्तन भएको छ । प्रेमका पुराना उच्च मान्यतामा विनिर्माण हुन थालेको छ । प्रेमको सम्बन्धमा हेर्दा ढुङ्गेयुगदेखि मानिसले शरीर ढाक्न थालेपछि मानिसमा भावनात्मक प्रेमको बिजारोपण भएको पाइन्छ । त्यसपछि मानिस घरबाहिरको कामको मौका पारेर आफूले मन पराएको मानिसलाई भावना अभिव्यक्त गर्ने गर्दथे । प्रेम गर्नेहरू प्राचीन समयदेखि नै थिए । साँचो तथा गम्भीर प्रेम त हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । फरक यति मात्र हो प्रेम गर्ने शैली परिवर्तन भएको छ । पे्रम आफैमा उत्पन्न हुन्छ । यथार्थ र काल्पनिक प्रेम सबैको जीवनमा लागू हुन्छ ।

सभ्यताको विकाससँगै चिठी, पत्र, इमेल, इन्टर्नेट, टेलिफोन जस्ता प्रविधिको विकास भएको छ । यससँगै भ्यालेन्टाइनडेको स्वरूप पनि फैलिँदै गएको छ । यसलाई सांस्कृतिक अतिक्रमणको रूपमा बुझ्न हँुदैन । कुनै जमाना यस्तो थियो, आमाबाबुको राजीखुशीमा छोराछोरीको विवाह हुन्थ्यो । कहिल्यै नदेखेको, नभेटेको अपरिचितसँग चुपचाप वैवाहिक जीवनमा बाँधिनु उनीहरूको कर्तव्य मानिन्थ्यो । एक ठाउँबाट अर्को ठाउँमा खबर पु¥याउन परेवाका खुट्टामा सन्देश बाँधेर पठाइन्थ्यो तर वर्तमान अवस्था त्यस्तो छैन । हुर्किएका छोराछोरी आफैले आफ्नो भावी जीवन साथी रोज्छन्, प्रेम गर्छन् र विवाहसमेत गर्छन् । यति मात्र होइन युवा उमेरलाई रङ्गीन बनाउन मात्र पनि युवायुवतीहरू प्रेम सम्बन्ध गास्छन् ।

अहिलेको वर्तमान समयमा सूचना प्रविधिको विकाससँगै गुलाबको फूल, ग्रिटिङ कार्ड, ज्वेलरी र पहिरन दिएर प्रेम प्रस्ताव राख्नेहरूको शैली फेरिएको छ । पहिला प्रेमपत्रको प्रतीक्षामा व्याकुल प्रेमिकाहरू प्रेमपत्रको आशामा दिनहँु हुलाकीको बाटो हेर्थे होलान् तर अहिले त्यस्तो छैन । न त प्रेम पत्र बोकेर हुलाक धाउनुपर्ने बाध्यता, न त प्रेमपत्रको आशामा क्यालेन्डरको पाना पल्टाउँदै प्रतीक्षाका दिनहरू गन्नुपर्ने बाध्यता छ । सूचना प्रविधिका कारण आजका युवापुस्ताको प्रेम गर्ने शैली बदलिएको छ । अहिले प्रायः सबैका हातमा मोबाइल हुने भएकाले प्रस्ताव राख्ने सबैभन्दा सजिलो माध्यम एसएमएस बनेको छ । फोन, एसएमएस, च्याट अनि इमेलको सहाराबाटै अहिलेका युवापुस्ता भावना साटासाट गर्छन्, प्रेम सम्बन्ध गाँस्छन् । एसएमएसमार्फत आफ्नो प्रस्ताव तुरुन्तै सम्बन्धित व्यक्तिले प्राप्त गर्ने र गोप्य पनि रहने भएकाले मोबाइल र इन्टरनेट युवापुस्ता माझ लोकप्रिय बन्दै गएको छ । विज्ञानको फड्कोसँगै यसलाई प्रेमको फड्को पनि भन्न सकिन्छ । वर्तमान समयमा युवायुवतीबीच आफ्नो प्रेमको भावनालाई इमेलबाट व्यक्त गर्ने एउटा नयाँ शैली पनि विकसित भएको छ जसलाई साइबर प्रपोज भन्न सकिन्छ ।

प्रेम गरिरहेका अधिकांश युवायुवतीहरू साइबर क्याफे धाउँछन् । आफ्ना प्रेमी साथीसँग च्याटमा रमाउँछन् । वेबक्याम्पमार्फत हेराहेर गर्दै च्याटमा घण्टौँ बिताउने युवायुवतीहरू त्यही समयमा प्रेमसम्बन्धी ई–कार्ड, सन्देश वा जोक्सहरू आदान प्रदान गर्नसमेत भ्याउँछन् । कीर्तिपुरस्थित एउटा साइबर क्याफेमा छिरेका राजन श्रेष्ठले करिब ३ घण्टा चितवनमा रहेकी आफ्नी गल्फे्रन्डसँग च्याट तथा इन्टरनेटमै भेटिएका विवाह र प्रेमसम्बन्धी जोक्सहरू पठाएर मनोरञ्जन लिए । साथीभाइबाट इमेल आईडी पाएका उनले ५ महिनाअघि भेटिएकी ती गल्फे्रन्डसँग च्याट र फोनमा मात्र भेट भएको छ तर प्रत्यक्ष भेटघाट गर्ने मौका जुरेको छैन । आउँदो प्रणय दिवसमा चितवन घुम्न जाने र कहिल्यै नभेटिकी गल्फ्रेन्डलाई प्रत्यक्ष भेट्ने योजना बनाएका छन् ।

यसरी माया प्रेम गाँस्नका लागि मात्र नभई वैवाहिक जीवनमा बाँधिनेहरूका लागि पनि सूचना प्रविधि राम्रो माध्यम बन्न थालेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.