शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर कप भलिबल प्रतियोगिताः विभागीय वर्चश्वलाई तोड्दै गण्डकी प्रदेशलाई उपाधि

शनिबार, ०१ फागुन २०७७, २० : १६
शनिबार, ०१ फागुन २०७७

पोखरा । पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । शनिवार पोखरा रङ्गशालामा भएको पुरुषतर्फको खेलमा नेपाली भलिबलको इतिहासमा विभागीय वर्चश्वलाई तोड्दै गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।

ग्ण्डकीले त्रिभुवन आर्मी क्लबको चुनौतिलाई ३–२ सेटले पन्छाउँदै उपाधि आफनो पोल्टोमा पारेको थियो । एकसाता मात्रै बन्द प्रशिक्षण गरेर कोर्टमा उत्रिएको गण्डकीले घरेलु कोर्टमा आर्मीको चुनौतिलाई निर्णायक सेटमा आएर पन्छाएरै छाड्यो ।

फाईनल खेलमा गण्डकीले आर्मीमाथि जित निकाल्न निकै प्रतिस्पर्धा गर्नुपरेको थियो ।

पहिलो सेट २५–२२ मा लिएको गण्डकी प्रदेशले दोस्रो सेट भने आर्मीलाई सुम्पिन पुग्यो । दोस्रो सेट आर्मीलाई २१–२५ ले गुमाउँदै गण्डकीले आमीसँग १–१ सेटको बराबरीमा टुङ्गाएको हो ।

तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । २४–२१ को सेट प्वाईन्टको स्थितिमा रहेको गण्डकी प्रदेशलाई आर्मीले रोक्दै सेटलाई लम्ब्याएको थियो । अन्तत गण्डकी प्रदेशले ३२–३० को स्थितिमा आफनो पक्षमा पार्दै आर्मीमाथि दबाब जमायो ।

तर आर्मीले पनि चौथो सेट आफ्नो पक्षमा पारेपछि खेलको निर्णायक क्षण लम्विएको थियो । चौथो सेट २५–२३ ले आर्मीले आफनो पक्षमा पार्दै २–२ को बराबरीमा रोकेको थियो । निर्णायक सेटमा भने गण्डकी प्रदेशले १५–११ ले लिँदै वर्षकै पहिलो उपाधि आफनो पक्षमा पारेको हो ।

लिग चरणमा आर्मी गण्डकी प्रदेशसँगै ३–१ को सेटमा पराजित भएको थियो । लिग चरणको हारको बदला लिने योजनासहित कोर्टमा उत्रिएको आर्मी फाइनलमासमेत हार खान पुग्यो । प्रतियोगिताको विजेता महिला तथा पुरुष टोलीले समान १ लाख ५० हजार, उपविजेता दुबै टोलीले ७५ हजार र तेस्रो हुने टोलीले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन।

यसैगरी महिला तथा पुरुष दुबैतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २०/२० हजार पाउने छन् ।

उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीलाई समान ५/५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप