रामकुमारी झाँक्रीका नाममा शुभेच्छासहितको खुलापत्र

person explore access_timeफागुन १, २०७७ chat_bubble_outline0

आज मलाई  एकजना पुरानो मित्रको सम्झना आइरहेको छ । यो सम्झना गराइदिने पनि एकजना पुरानो मित्र नै हुनुहुन्छ । पहिला आज दिनभरि नै सम्झनामा आइरहने मित्र  केशव स्थापितकै चर्चा गर्न इच्छुक छु ।

मेयर पदको निर्वाचनका उम्मेदवार घोषित  हुँदा उनीसँग पहिलो भेट भएको थियो, जैसीदेवल र नरदेवीका बीच अवस्थित कुनै स्थानमा ।

'उनले भेटमा चुनावमा सहयोग गरिदिन अनुरोध गरे ।'
'केशवजी, म नौसिखिया कवि हो, म तपाईंलाई के सहयोग गर्न सक्छु र ?'

'तपाईं कविता लेखेर नै सहयोग गर्नुस् ।'

एउटा नौसिखिया कविलाई कुनै जल्दोबल्दो नेताले कविता लेखी सहयोग गरिदिन भनी हौस्याएपछि त्यस बबुरो कविको उत्साह अन्तरिक्षगामी हुनु स्वाभाविक नै थियो ।

त्यस दिनदेखि निर्वाचनको अघिल्लो दिनसम्म प्रत्येक दिन एउटा कविता लेखी प्रकाशित गराए त्यसबेलाका कम्युनिस्ट नजिकका छापाखानामा ।  नव आवाज़, प्रकाश साप्ताहिक, जनधारणा, बुधबार साप्ताहिक, छानबिन साप्ताहिक, जनआस्था साप्ताहिक, समदृष्टि साप्ताहिक, सगरमाथा दैनिकलगायत त्यस बेलाका अन्य साप्ताहिकमा यी प्रकाशित हुन्थे ।

केशवजीले शानदार मत ल्याएर चुनाव  जित्नुभयो । २२-२५ दिनको यस अभियानमा सिगरेट, यातायात, पत्रपत्रिका खरिद र दारूपानमा गरी मैले १५, २० हज़ार रूपँया आफ्नै पकेटबाट खर्च गरेँ ।  केशवजी मैले गल्ती अथवा झुटो लेखेको भए आपत्ति गर्नु होला ।

सायद कास्मिक एयरलाइन्सले दिएको पार्टी थियो त्यो, अब याद छैन । त्यसको निमन्त्रणा मलाई कसरी आइपुगेको थियो ।  सोल्टी होटलको सभागारमा  केशवजीले त्यस बेलाका मनाङबाट निर्वाचित काँग्रेसी  सांसद एवं  मन्त्रीसँग मेरो परिचय गराउँदै भनेँ–  उहाँ पत्रकार, उहाँले मलाई चुनावमा कविता लेखेर अविस्मरणीय सहयोग गर्नुभयो, म स्वीकार गर्छु । उहाँका कविताले ५, ७ हजार भोट मैले पाएँ ।

दुई चार प्याग लागेको कविलाई यो सुनेर झण्डै साहित्यको नोबेल  पुरस्कार पाएकै अनुभूति भयो ।

तर केशवजी तपाईंलाई भेट्दा, कविता लेख्दासम्म म पत्रकार थिइनँ ।  मलाई पत्रकार त त्यसपछि जनधारणा, प्रकाश, नव आवाज़, जनआस्था, र टीकाराम राईको अपरान्ह दैनिकले बनाए । सबैभन्दा बढी प्रेरणा दिने नव आवाज़का शिव ढकाल दाइ, जनधारणाका निमकान्तजी र तत्कालीन समयमा जनधारणामा आबद्ध रहेका मित्र उमेश चौहान,  त्यस बेलाका स्वतन्त्र लेखक कृष्णज्वाला  देवकोटा, मित्र भरत पोखरेल, भूपराज खड्का, पदम गौतम, दीपक पाण्डे, गोविन्द पोखरेल, हरि रोक्का, नारायण ढकाल, खगेन्द्र सङ्ग्रौला, कवि शशि लुमुम्बु, कवि चङ्की श्रेष्ठ, रमेश बिष्ट, कार्टुनिस्ट वासु, सिनियर पत्रकार माथवरसिंह बस्नेत,  मामा कृष्ण पोखरेलका साथै त्यसबेलाका तमाम महिला मित्रको रह्यो । यिनीहरुकै प्रेरणा, सङ्गत, सद्भाव र उत्साहवर्धनले पत्रकारिता त के नेपाली भाषासम्म नपढेको, नेपाली लेख्नै  नआउने मजस्तो मान्छे पत्रकार हुँदै नेपाली भाषाको तथाकथित लेखक नै बन्न पुग्यो ।

आज स्मृतिको महासागरमा पौड़िरहँदा योगेश भट्टराई, स्वर्गीय रवीन्द्र अधिकारी, रामकुमारी झाँक्री, अग्रज अरुणकुमार सुवेदी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, कवि मञ्जुल, मित्र प्रकाश सायमी, स्वर्गीय श्रद्धेय दुर्गा भण्डारी, मप्रति विपुल स्नेह राख्ने स्वर्गीय मनुजबाबू मिश्र दाइ, स्वर्गीय गोविन्द भट्ट दाइ, स्वर्गीय धुस्वाँ सायमी,  महिला मित्र सबिना र उनका साथीद्वयप्रति आभार प्रकट नगरी रहन सकिनँ । मैले जे जस्तो खुराफात लेखेकोढी यिनीहरुले गरेको उत्साहवर्धन मेरो लेखकीय यात्रामा अविस्मरणीय योगदानका रूपमै  रहेको किमार्थ पनि बिर्सन सक्दिनँ ।  कान्तिपुर  दैनिक, हिमालय टाइम्स दैनिक, स्पेस टाइम्स दैनिक, सगरमाथा दैनिक, नेपाल समाचार दैनिक, राजधानी दैनिक, अन्नपूर्णा दैनिक, नागरिक दैनिक, मधुपर्क मासिक लगायत थुप्रै तत्कालीन साप्ताहिकहरुको पनि मेरो लेखकीय यात्रामा भरपूर योगदान रह्यो ।    

तर आज आज केशव स्थापितको सम्झना  आउनुको कारण यो आत्मप्रलाप होइन । कारण सर्वथा भिन्न छ ।

केशवजी मेयर बनेको केही दिनमै त्यस बेलाको कम्युनिस्ट पार्टी विभाजित भयो । स्वघोषित राष्ट्रवादीको नारा बुलन्द गरी वामदेवजीको नेतृत्वमा पार्टी दुई टुक्रा भयो । सम्झिनुहुन्छ होइन रामकुमारी झाँक्रीज्यू!रूपनारायण श्रेष्ठ, दिवङ्गत रवीन्द्र अधिकारी, युवातर्फ योगेश  भट्टराईका साथ तपाईं पनि वामदेव ज्यूसँगै जानू भएको थियो । मैले अहिलेसम्म तपाईंलाई मित्र सम्बोधन गरेको छैन है रामकुमारीज्यू!किनकि यति खेरसम्म तपाईंसँग मेरो चिनजान भइसकेको थिएन ।

हरि रोक्का, नारायण ढकाल, घनश्याम भुसाल, किरण गुरुङ, केशवलाल, देवी ओझा, सीपी मैनाली, राधाकृष्ण मैनाली र मेरा परम मित्र केशव स्थापितलाई सम्झिनुहुन्छ होइन,  झाँक्रीज्यू ?

म चर्चा मात्र केशव स्थापितको गर्न गइरहेको छु । केशवले वामदेवज्यूको पक्षमा लागेर उग्र-रौद्ररुप नै धारण गरे ।  सुमीत होटलदेखिका अनेको काण्ड पर्दाफास गरे । दुःखका साथ भन्नु पर्छ त्यसबेलाको एक जना महिलाको चरित्र सम्बन्धमा पनि अनेको कुरा उछाले केशवले ।  मेयर हुँदा भइरहेको सारा कमाइ वामदेवजीलाई स्थापित गर्न खर्चे स्थापितले  ।

याद छ होइन रामकुमारीज्यू, प्रज्ञा भवनको त्यो भेला जहाँ केशवले गर्जन गर्दै भनेका थिए वामदेवजीले चुनावमा बर्दियाका साथै काठमाडौँको एक नम्बर क्षेत्र बानेश्वरबाट पनि चुनाव लडी खाल्डो खन्नुपर्छ । यस गर्जनमा तपाईंसँगै ताली बजाउने म पनि थिएँ ।

रामकुमारीज्यू अहिलेको तपाईंको उग्रताले मलाई केशवको सम्झना गराएको हो । तपाईंको अहिलेको उग्र,  अराजक, क्रान्तिकारी, बोलेर विरोध गरेरै चर्चित हुने मनसाय जस्तै अभिप्रायले प्रेरित भई केशवले बोले, खुबै बोले  ।  तपाईंका झैँ आफ्नो गुट र  मिडियाका 'हट केक सेलेब्रेटी' बने केशव, तपाईंलाई स्मरण नै छ होला .

५४, ५५ सालको कुरा हो ।  होलीका दिन म र मित्र प्रकाश सायमी कवि मञ्जुलका घरमा गफिँदै  बसेका थियौँ । एकजना पुरुषले कोठामा प्रवेश गरी कोठाको भित्तासँगै जोडिएर राखेको पलङमा गई आसन जमाउनुभयो । मजस्तो निठल्ला, प्रकाश जस्तो गफाडी र मञ्जुल दाइ जस्तो ४-५ वटा रसको खानीको महफ़िलमा कसैको प्रवेशले बाधा पुर्‍याउन सक्ने सम्भावना नै थिएन ।  आगन्तुक 'बेगानी सादीमा अब्दुल्लाह दिवाना' बनेझैँ मौन रही पलङमा  पल्टिनुभयो  ।  यस्तैमा केही बेरमै एकजना बालाको पनि हामी बसेकै कोठामा प्रवेश भयो । किन हो मञ्जुल दाइले ती  बालासँग मेरो र प्रकाश सायमीको परिचय गराउनुभयो ।

छात्र युनियनको चुनावमा प्रतिस्पर्धा गरी पराजित भएकी ती युवतीसँग मैले सोधेँ– यस चुनावमा पार्टी विभाजनको कति असर देखा पर्‍यो ? युवतीले कनीकुथी बोल्दै गर्दा पलङमा  अब्दुल्लाह बनी पल्टिरहेका महानुभावलाई बैन्ड बाजा बजाउने अवसर मिल्यो ।  उनले देशभरिकै चुनावी तथ्याङ्क दिँदै पार्टी विभाजनले झण्डै २५-३० प्रतिशत विजय गुमेको सविस्तार वर्णन गर्नुभयो । पछि थाहा भयो मैले अब्दुल्लाह सम्झेका व्यक्ति त त्यस बेलाका अति चर्चित र प्रवेश गरेकी युवती र उनको दलका प्रखर आलोचक प्रदीप नेपाल हुनुहुन्थ्यो । यसपछि ती युवतीसँग मेरो मित्रता स्थापित भयो । रामकुमारी झाँक्री अब तपाईंलाई मित्र सम्बोधन गरी आग्रह गर्छु मैले कुनै तथ्य गल्ती लेखेको भए, बङ्ग्याएको भए सच्याउन सहयोग गर्नु होला । सुस्मिता नेपालज्यू, तपाईंले अनेको पटक चिया खाजा खवाएको सम्झना छ है मलाई ।

मित्र रामकुमारी, त्यसपछिका घटना क्रम सम्झिन गइरहेको छु । अब मित्रलाई ज्यू सम्बोधन गरेर सानो कालखण्डकै भए पनि मित्रतालाई अपमानित गर्ने कृत्य गर्न मन लागेन ।  

विस्तारै समयले कोल्टे फेरयो, पुनः पार्टी एकता भयो ।  वामदेवजी मूल घर फर्किनु भयो । उहाँका पछि विवश भई सीपीको सानो समूह बाहेक सबैजना मूलथलो फर्किए । वामदेवजी त टाउके हुनुहुन्थ्यो आफैले चर्काएको घरमा उहाँले सम्मानित स्थान प्राप्त गर्नुभयो । तर त्यस बेलाका अन्य चर्चित नामको हविगत के भयो ? अन्यलाई छाडेर म मित्र केशवकै चर्चा गर्छु । पार्टी एक  भएपछि पनि एक भएको पार्टीले उनलाई कहिल्यै पूर्ण विश्वास गरेन । पार्टीमा केशवले सधैँ सीमान्तमै बस्नुपर्‍यो । केशव काठमाडौँ उपत्यकाको चर्चित अनुहार हुनुका साथै जनमानसमा जरैसम्म स्थापित एवं लोकप्रिय भएका कारण पार्टीले उनलाई छाड्न पनि सकेन । केशवसँग काठमाडौँको कुनै पनि सिटबाट चुनाव लडेर त्यसलाई विजयमा परिणत गर्ने क्षमता छ । पार्टीले उनको यो क्षमता त उपयोग गर्‍यो तर उनलाई अघि कहिल्यै बढ्न दिएन ।

एउटा सूक्ष्म मनोविज्ञान छ । यो बुझ्नुपर्ने राजनीतिक व्यक्तिले हो, मजस्ता निठल्लाले बुझेर के नै उपयोगिता!कुनै पनि दल विभाजित हुँदा दुबै समूहले एकअर्काप्रति विषवमन गर्नु अपरिहार्य नै हुन्छ । अहिले यसको पुष्टि भई नै रहेको छ ।

पार्टीका शीर्ष टाउकेले गर्ने एक अर्काको आलोचनाले उनीहरुको राजनीतिक जीवनमा कुनै असर पार्दैन ।  यहाँसम्म कि त्यही दल पुनः एकजुट हुँदा पनि हालीमुहाली दुवैतिरका टाउकेकै हुन्छ ।

यसरी दल विभाजित  हुँदा विषवमन, ढुङ्गा मूढ़ा, गालीगलौज, उग्रता, अति अराजकता प्रदर्शनले दुवैतिरका  पुच्छरका कार्यकर्तालाई असीमित लाभ हुन्छ-उदाहरण रामकुमारी तपाईं आफै हुनुहुन्छ, रविंद्र थिए, योगेश हुनु हुन्छ । त्यस बेलाको जुझारूपन, सक्रियता, गाली गलौज, उग्रता, अराजकता र त्यसले अर्जित भएको पपुलारिटीले तपाईंहरु राजनीतिमा स्थापित हुनु भयो, यहाँसम्म आइपुग्नु भयो ।

तर मित्र रामकुमारी एकपटक ठण्डा दिमागले मनन गर्नुस् त त्यस बेलाका तपाईं झैँ अहिलेका झैँ स्थापित नाम कुन भेलमा बगे । मैले चर्चा केशवकै गरे पनि तपाईंलाई त देवी ओझा, राधाकृष्ण मैनाली, केशवलाल, किरण गुरुङ, हिर रोक्का, नारायण ढकाल र यहाँसम्म कि घनश्याम भुषालकै स्मरण हुनुपर्ने हो ।

सूक्ष्म मनोविज्ञान र राजनीतिको विविधता विषमता र जटिलता बुझ्नस् यहाँ एउटै अस्त्र सधैँ कारगर हुँदैन ।  जुन अस्त्रले अखिलको एउटा कार्यकर्ता स्थापित भयो त्यही अस्त्रले स्थापित रामकुमारीलाई अगाडि  पुर्‍याउँदैन वरन यसको उल्टा विसङ्गति, विवादित र सन्देहजन्य कण्टकाकीर्ण पथमा उभ्याइदिन्छ ।

राजनीति सम्भावनाको आकाशे खेती हो मित्र, तपाईं जस्तो जुझारु, सङ्घर्षशील र तमाम विसङ्गतिबाट फक्रिँदै पुष्पित हुनेले यति पनि विचार नराखी अखिलकै सामान्य कार्यकर्ता झैँ भूमिका निर्वाह गरिरहेको हेर्दा तपाईंको यो मित्र चिन्तित, सशङ्कित र यहाँसम्म कि दुखी पनि बनेको छ । राजनीतिमा कैयौँ  युवा रामकुमारी आएको देखेको छु।  त्यसमध्ये अत्यन्त थोरै मात्र तपाईझैँ स्थापित हुन  सकेको कटु यथार्थ आफ्नै आँखाले देखेको छु ।

हुन त अब तपाईं मलाई चिन्नू हुन्न होला । योगेशजीसँग भेट हुँदा उहाँले नै चिन्नु भएन ।  यो गुनासो होइन ।  मेरो आशय यति मात्र हो आफ्नै आँखाले हेर्दा  हेर्दै अनेको सङ्घर्ष र बाधा व्यवधान छिचोल्दै  राजनीतिमा स्थापित हुन पुगेकी एउटा महिलाको राजनीतिक जीवन उज्ज्वल,  निष्कलङ्क, अविवादित र निरन्तर प्रगति पथमा अग्रसर भइरहोस् ।

विभाजित नेकपाका दुवै समूहका तेस्रो पुस्ताका स्थापित महानुभावले विचार गर्नु पर्ने हो-भोली कथंकदाचित दुवै समूह जोडिए भने सबैभन्दा बढी नोक्सान दुवैतिरका स्थापित युवा समूहकै हुनेछ ।  टाउकेले  जम्मा 'आत्मआलोचना' भन्ने शब्द प्रयोग गरी सुख एवं लाभ दुवै अर्जित गर्ने छन् तर देशले पुनः धेरै राधाकृष्ण मैनाली, सीपी मैनाली, देवी ओझा, केशवलाल, किरण गुरुङ, नारायण ढकाल, हरि रोक्का र केशव स्थापित  पाउने छ ।

प्रिय मित्र रामकुमारी तपाईंलाई विदित नै छ म कहिल्यै पनि कम्युनिस्ट थिइनँ । देशमा गणतन्त्र ल्याउन मेरो एक धेला जतिको पनि योगदान छैन । वरन कतिपय कुरामा म यस संविधान र व्यवस्थाको आलोचक हुँ ।  यो व्यवस्था तपाईंहरुको त्याग, उत्सर्ग र बलिदानबाट स्थापित भएको यथार्थ स्वीकार गर्न मलाई किञ्चित पनि सन्देह छैन ।

मुलुकमा राष्ट्रपति पद निर्मित गर्ने एक मात्र श्रेय नेपालका कम्युनिस्टहरुलाई मात्रै छ ।  तर यो पनि दुर्भाग्य र अपजस नेपालका कम्युनिस्टहरुले नै लिनुपर्छ राष्ट्रपति पदको गरिमालाई सम्हाल्न नसक्ने र त्यसका विरुद्ध सड़कमा विद्रूप प्रहसन मञ्चित गर्ने कार्य पनि कम्युनिस्टहरुले नै गरे ।

अहिले तपाईं त्यसको निमित्त नायक बन्दै हुनुहुन्छ । विचार गर्नस् तपाईं जस्तो स्थापित राजनीतिज्ञले यो गर्न सुहाउँछ ? यस विषयमा धेरै उल्लेख गरेर म विवाद उठाउन चाहन्न ।  तपाईं आफै यसका लागि विचार गर्न समर्थ हुनुहुन्छ । मेरो सदभावना, संवेदना यति मात्रै हो मेरो अर्को मित्रले केशव स्थापितको नियति भोग्नु नपरोस् । अस्तु तपाईंको उज्ज्वल भविष्यको कामना गर्ने एकजना पूर्वमित्र ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X