जनयुद्धका एक कमान्डरको स्मरण
काठमाडौँ । आज फागुन १ अर्थात जनयुद्ध दिवस । तत्कालीन सामन्ती राज्यसत्ताको विरोधमा नेकपा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको १० वर्षे जनयुद्ध आज २६औँ वर्षमा प्रवेश गरेको छ । जनयुद्धमा संलग्न नेता–कार्यकर्ता र सहिद परिवारले यो दिनलाई विशेष रूपमा स्मरण गर्ने गर्छन् । जनयुद्ध र जनआन्दोलनको बलमा नेपालमा राजाले विघटन गरेको संसद् पुनस्र्थापना भएसँगै राजतन्त्रको अन्त्य भइसकेको छ भने माओवादी शान्ति प्रक्रियामार्फत शान्तिपूर्ण राजनीतिक मूलधारमा समाहित भइसकेको छ ।
अन्तरिम संविधान, दुईवटा संविधान सभाको निर्वाचन, संविधान घोषणा हुँदै मुलुक सङ्घीय संरचनामा परिर्तन भएको छ । त्यसो त जनयुद्ध सञ्चालन गर्ने माओवादी पार्टी पटक–पटक विघटन र पुनर्गठन हुनुका साथै त्यसका नेताहरू विभिन्न समूहमा विभक्त छन् ।
२०५२ साल फागुन १ गते एकै दिन रुकुमको आठबीसकोटस्थित राडिज्युला, रोल्पाको होलेरी र सिन्धुलीको सिन्धुलीगढीमा माओवादीले आक्रमण गरेको थियो । त्यसमध्ये रुकुममा पहिलो पटक प्रहरी चौकी कब्जा गर्ने नेतृत्व गर्नेमध्येका कमान्डर थिए नेता गणेशमान पुन । जनयुद्ध कसरी सुरु भएको थियो ? तत्कालीन राज्यसत्ताविरुद्ध पहिलो अपरेसन कहाँकहाँ र कसरी भएको थियो ? जनयुद्धमा प्रत्यक्ष संलग्न रहेका पुनको अनुभव उनकै शब्दमा :
सैन्य राजनीतिक प्रशिक्षण
२०५२ सालबाट जनयुद्ध सुरु भए पनि त्यो भन्दाअघि झण्डै एक वर्ष पहिलेबाट सैद्धान्तिक प्रशिक्षण दिने, सङ्गठनात्मक संरचना बनाउने गरेका थियौँ । त्यसमा तीन किसिमको लेयर बनाइएको थियो । जसमा पार्टीको तयारीमा वैचारिक राजनीतिक तयारी हुन्थ्यो । त्यसपछि क्रान्तिकारी सेनामा छापामार दलहरू हुन्थे । त्यसपछि संयुक्त मोर्चाको यो तयारीपछि गाउँमा जनसेवाका काम गर्यौँ । शौचालय बनाउने, मल सोहोर्ने, जनतासँग सम्बन्ध कायम गर्दै जनसेवामा खटिने गर्यौँ । सँगसँगै जनवर्गीय सङ्गठनहरूमा जातीय क्षेत्रीय मोर्चा निर्माण गर्दै अन्तिम तयारी गरेका थियौँ । फगुनभन्दा झण्डै चार महिनाअघि मङ्सिर महिनामा मेरो कमान्डमा रुकुममा लडाकु दस्ता फर्मेसन भयो । दस्तालाई दल भनिन्थ्यो । त्यो करिब ४०/४५ जनाको थियो । त्यसबेला म पार्टी पोजिसनको हिसाबले पनि सेकेन्ड मेन थिएँ जिल्लामा । फस्ट मेन हेमन्त प्रकाश ओली हुनुहुन्थ्यो ।
सुरुदेखि नै हामीललाई प्रशिक्षण दिँदा कमरेड प्रचण्डको दस्तावेजले के भन्थ्यो भने, चीनमा सशस्त्र युद्ध फरक ढङ्गले भयो । किनभने त्यहाँ युद्ध सरदार थिए । तर नेपालमा त्यस्तो छैन । त्यसो भएकाले राजनीतिक रूपमा नै खारिएका पाका भएका र सङ्गठनात्मक हिसाबबाट पनि चिनिएका मानिसबाट सेना बनाउनुपर्छ भनिन्थ्यो । त्यो भएकाले त्यसबेला मैले कमान्डर भएर काम गरेँ । त्यसबेलाका मेरा चार जना सहायक कमान्डर सहिद भइसक्नुभयो । जनयुद्धको प्रशिक्षण लिँदा नै हामीले यो सैन्य राजनीतिक प्रशिक्षण हो भनेर बुझेका थियौँ । प्रचण्डले हामीलाई रोल्पा र रुकुमको सिमानामा पर्ने पछावाङमा यस्तो प्रशिक्षण दिनुभएको थियो । त्यो प्रशिणपछि हामीले स्थानीय गाउँको एक गोठमा प्रशिक्षण चलायाँै । त्यो प्रशिक्षमा सुदर्शन, वर्षमान पुन अनन्त, म लगायतका मानिस सहभागी थियौँ । त्यसपछि हामीले तलसम्म रणनीतिअनुसार स्थानीय तहसम्म सङ्गठन विस्तार पनि गर्यौँ ।
आठबीसकोट नै किन छानियो ?
त्यसबेला स्थानीय जाली, फटाहा र सामन्तले जनतालाई सबैभन्दा बढी दमन गरेको ठाउँ वा पोस्ट कहाँ छ ? भनेर पहिचान गरिन्थ्यो । त्यसमा हाम्रो पनि सामथ्र्यले भ्याउनसक्ने र सम्भावना भएको स्थान हुनुपथ्र्यो । यसरी हेर्दा आठबीसकोट देखियो । किनभने त्यहाँ अलि बढी स्थानीय फटाहा पनि थिए । पछि उनीहरूमाथि पनि कारबाही भयो । तेस्रो कुरा माओवादीको जनाधार भएको ठाउँमा भयो भने जनताको साथ हुन्छ भन्ने थियो । त्यो सबै आँकलनपछि हामीले त्यो पोस्टलाई छान्यौँ । त्यो निश्चित भएपछि धेरै पटक विभिन्न रूपमा रेकी वा सर्भे गर्यौँ ।
हतियार पनि थिएन, ज्ञान पनि थिएन
कब्जाको योजना त बन्यो । तर हामीसँग हतियार पनि थिएन, व्यावहारिक ज्ञान पनि थिएन । जनताबाट सिक्नुपर्छ भन्ने चाहिँ थियो । जनताबाट कसरी सिक्ने त भन्दा भूगोल, जनतासँग भएका स्रोतसाधन प्रयोग गर्ने भन्ने थियो । अचम्म लाग्न सक्छ त्यसबेला हामीसँग साबेल, बन्चरो, खुकुरी, ढुङ्गा र ठूलो भनेको हामीसँग भरुवा बन्दुक थिए । त्यसपछि सामान्य कटुवा पेस्तोल थियो, त्यो पनि नपड्कने । हामीसँग मात्रै होइन, देशभरिमा दुईवटा राइफल मात्र थिए । त्यो पनि मनाङबाट केन्द्रीय नेतृत्वले किनेको भन्ने छ । तर त्यो राइफल त्यसबेला हामीले देख्न पनि पाएनौँ । यस्तो अवस्थामा आठबीसकोटमा रेड कसरी गर्ने त भन्ने प्रश्न हामीमाथि थियो । त्यो प्रश्नको जवाफ खोज्न मैले आन्तरिक ढङ्गले भूतपूर्व सेनाहरूसँग आर्टिलरी हतियारको प्लान बुझेँ । तर त्यो पूरै लागू गर्नसक्ने अवस्था थिएन । त्यसकारण उहाँहरूको पनि मूलभूत प्लान, केन्द्रीय नीति र घरेलु संश्लेषण गर्यौँ । एक्कासि आक्रमण गर्न सक्यौँ भने जित हुन्छ भन्ने थियो । त्यही अनुरूप हामी त्यसतर्फ लाग्यौँ । त्यसमा सेकेन्ड लास्ट सेल्टरमा हाम्रो राजनीतिक प्रशिक्षण र समूह विभाजन भयो । त्यहाँसम्म हाम्रो कमिस्नार सुदर्शन लगायतको टोलीले हामीलाई बिदाइ गर्नुभयो । त्यसपछि अन्तिम सेल्टरमा गएर हामीले हामीसँग भएको हतियार लगायतका आवश्यक उपकरणहरू वितरण गर्यौँ । परिचालन भइसकेपछि भेट हुने पोस्टलाई आरभी पोस्ट भनिन्थ्यो । त्यो पोस्ट फिक्स गर्यौँ । त्यसका हामीले ५ वटा समूह बनाएका थियौँ । जसको पहिलो समूह सैन्य भाषामा एसल्ट भनिन्छ, तर हामीले एट्याक्टिग डिट्याचमेन्ट, दोस्रो आक्रमण गरेपछि क्याप्चर गर्ने टिम हुन्छ । त्यसलाई पछि आएर सर्च गु्रप भनियो । त्यसपछि डिफेन्स डिट्याचमेन्ट जुन कमान्डरसहित हुन्थ्यो । त्यसपछि अर्को रिजर्भ फोर्स र इन्सर्कलिग बनाइयो । त्यसमा खासगरी रुकुम, रोल्पा, सल्यान लगायतका ३८ जना सम्पर्कमा रहेकाहरू राति १ बजे चारैतिरबाट घेरेर कार्यविभाजन अनुसार नै आक्रमण गर्यौँ । कामी बुढा त्यहाँको अथवा सायद नेपालकै पहिलो सहिद हुनुपर्छ । उहाँ कम्युनिस्ट पार्टीबाट ११ सालतिरै सहिद हुुनुभएको हो । उहाँ कमानसिंह बुढा (कामी बुढा) को सम्झना स्वरूप त्यो अपरेसनको नाम ‘अपरेसन कमान’ राखेका थियौँ ।
त्यसको कासन मैले सुरु गरेँ । रेडी, अपरेसन कमान, गो अट्याक्ट भनेँ । यही लयमा हामी गयौँ । प्रहरी पोस्ट असईको नेतृत्वमा थियो । जसमा एकातिर असई, अर्कातिर हवल्दारसहितको टोली बस्ने ब्यारेक, अर्कोतिर कस्टडीहरू बस्ने र फेमेली सेल्टरहरू थिए । हामीसँग भएका घरेलु हतियारका बलमा ती ठाउँमा एकैपटक आक्रमण गर्यौँ । जब अपरेसन सुरु भयो प्रहरीहरू सुतेकै थिए । कुकुरहरू भुक्न थाले पनि उनीहरू उठ्न भने पाएनन् । हामीले झ्याप्पै कब्जा गर्यौँ । कब्जा हुँदैगर्दा मैले कमान्डरको हैसियतले प्रहरीहरूलाई भने, तपाईंहरू जनताका छोराछोरी हो । आज फागुन १ गते, नेपालमा राजतन्त्रात्मक संसदीय व्यवस्थालाई ध्वस्त पार्ने र जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्यले आजदेखि हामीले क्रान्तिको सुरुवात गर्यौँ । तपाईंहरूसँग हाम्रो कुनै पनि दुस्मनी छैन । बरु आत्मसमर्पण गर्नुस्् र भएका विस्फोटक पदार्थ र हतियार जे छ त्यो दिनुस् भनेर सम्बोधन गरेँ । त्यतिबेला संयोगले स्टाफ मिटिङ परेको रहेछ । त्यहाँको मुख्य हतियार हामीले भेटेनौँ । हामीलाई त्यहाँबाट एक राइफल र एक पेस्तोल आउँछ भन्ने थियो । तर त्यो लिडिङ हतियार असईसँगै सदरमुकाम गएकाले प्राप्त गर्न सकेनौँ । बाँकी थुप्रै विस्फोटक पर्दाथ, जिलेटिन, डिटोनेटर प्राप्त भयो । त्यसले हामीलाई पछिसम्म पनि काम दियो । त्यसक्रममा त्यहाँका सबै अफिसियल कागजात पनि कब्जामा लिएर उनीहरूलाई त्यहीँ सुरक्षित छोडेर ल तपाईंहरू चिन्ता नगर्नुस् भन्यौँ । उहाँहरूले पनि सहमति जनाउनुभयो । बाहिरका मानिससँग हाम्रो कुनै चिनजान थिएन । तर बजारबासी जनताबाट हामीलाई ठीक गर्नुभयो । हामीलाई त हैरान गरेका थिए भन्ने कुरा आयो । त्यसपछि हामी आफ्नो गन्तव्यमा फर्कने क्रममा जङ्गल पस्याँै । साँझपख गाउँ पुग्यौँ । सबै जोजहाँबाट आएको हो आआफ्नो जिल्लातिर लाग्यौँ । सोही दिन साँझ रेडियो नेपालबाट त्यो समाचार सुन्याँै । समाचार सुनेपछि हामीलाई अझै एक त रातिको समयमा त्यसरी सफल अपरेसन गरेकोमा उच्च मनोबल भएको छँदैथियो साँझको समाचार सुनेपछि झन् हौसला थपियो ।
त्यसलगत्तै प्रचण्डले जिम्मा लिएर विज्ञप्ति निकाल्नुभयो । योद्धाहरूलाई बधाई दिनुभयो । त्यसबेला हामीसँग प्रत्यक्ष नेतृत्वसँग सम्पर्क हुने सञ्चार थिएनन् । तर त्यसको केही दिनपछि जिल्लाको नेतृत्वसँग पनि भेट भयो । क्रमशः अन्य ठाउँमा पनि अपरेसनहरू हुँदै गए । जनयुद्धको एउटा नियम थियो, अन्तिम तयारी, थालनी अनि निरन्तरता हुन्थ्यो । निरन्तरता भनेको ननस्टप १५ दिन अपरेसन गर्ने कुरा हुन्थ्यो । त्यसअन्तर्गत रुकुममा मात्रै सयाँैको सङ्ख्यामा कारबाही भए । जुन विभिन्न प्रकारका हुने गर्दथे । फागुन १ को घटनापछि सरकार पनि कडा दमनमा उत्रियो । धेरै सहिद भए । गोरखामा दिलबहादुर रम्तेलबाट सुरु भएको फागुन १५ गते दोस्रो पटक रुकुमको मेलगैरीमा सरकारी पक्षले ६ जना खत्री बन्धुको नरसंहार गर्यो । त्यसमा हाम्रा पार्टी सदस्यहरू पर्नुभयो । हामी पनि मोर्चा त कस्तै थियाँै तर सरकारको ठूलो अपरेसन भएर हामीले केही गर्न सकेनौँ त्यसबेला । म पनि त्यहीँ थिए तर सेकेन्डले मात्रै बचेको । त्यसपछि फागुन २९ गते मेरो गाउँमा सरकारी पक्षले आक्रमण गर्यो । त्यसक्रममा मेरो बुबा नै सहिद हुनुभयो । त्यसपछि चुनवाग हँुदै जनयुद्धको पहिलो महिला सहिद धनमाया बुढा श्रेष्ठ हुनुभयो । लगातार सरकार दमनमा उत्रँदै गयो । त्यसको प्रतिकार स्वरूप हाम्रोतर्फबाट पनि तकसेराको घुम्लिवाङमा नेपालकै पहिलो एम्बुस सफल भयो । त्यो प्रतिरोधमा सरकारीतर्फ एकजनाको हताहत भयो । जुन घटना २०५३ वैशाख २३ को थियो । त्यसैगरी देशभरि धेरै राजनीतिक र फौजी कारबाही हुँदै जनयुद्ध अघि बढ्यो । पछि २०५४ मा भएको स्थानीय निर्वाचनमा रुकुममा त्यसबेला ४३ वटा गाविस थिए तीमध्ये २७ वटा गविसमा एउटै पनि उम्मेदवारी परेन भने १० वटामा आंशिक उम्मेदवारी पर्यो । यद्यपि म त्यसबेला सैन्य कारबाही छोडेर पार्टीमा आइसकेको थिएँ । २०५४ मै म गिरफ्तार भएँ र चार वर्ष रुकुम, सल्यान, दाङ लगायतका जेलमा बसेँ ।
जनयुद्धको कार्यभार कति पूरा भए ?
जनयुद्धले एउटा न्यूनतम कार्यक्रमका रूपमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य राखेको थियो । यद्यपि कार्यक्रमिक हिसावले समाजवाद र साम्यवादमा पुग्न अझै बाँकी छ । यसक्रममा अहिलेसम्म नयाँ जनवाद जस्ताको तस्तै त भएन तर विभिन्न तरिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति, महिला, दलित, मुस्लिम लगायतका वर्गहरूको सबैको आन्दोलनको योगफलका रूपमा संविधान बन्ने बेलासम्म पुँजीवादी जनवादी क्रान्तिका मूलभूत कुरा सफल भए । अर्को ठूलो कुरा जब नेपालमा जनयुद्ध भयो त्यो बेला उत्पीडित वर्ग, किसान, मजदुर, अल्पसङ्ख्यक र शासित वर्ग र विभिन्न सांस्कृतिक समुदायको संयुक्त मोर्चाको रूपमा भएकाले राजनीतिक जागरण पैदा भयो । कमसेकम, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता यी परिवर्तन भएकै हुन । तर आर्थिक सामाजिक रूपान्तरणको कार्यक्रममा बदलेर सबभन्दा तल्लो वर्गमा जनताको आवाज पुर्याउने कुरा अझै बाँकी छ ।
(नेकपा नेता पुनसँगको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरका हड्डीलाई बलियो बनाउन चाहनु हुन्छ ? कटुस खानुस्
-
ओली सरकार निषेधको राजनीतितर्फ अगाडि बढे दुर्घटना निम्तिन्छ : डा.मिनेन्द्र रिजाल
-
प्रगति विवरण मन्त्रालयमा पेस गर्न मन्त्री यादवद्वारा निर्देशन
-
सिराहा कारागार प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन
-
लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
नेविसंघले सुरू गर्यो सदस्यता वितरण अभियान