बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना छ कि छैन ?

शनिबार, ०१ फागुन २०७७, ०८ : ०१
शनिबार, ०१ फागुन २०७७

न सावधानी छ न त भौतिक दूरी । लाग्छ– कोरोना छ भन्नेमा कसैलाई हेक्का छैन । सरकारले लगाएका प्रतिबन्ध सबै खुलिसके । त्यसमाथि दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने प्रतिस्पर्धा गराएर ‘राजनीतिक मेला’ लगाइरहेकै छन् । तर, कोरोना भने घट्दै–घट्दै गएको देखिन्छ । कारण के हो ? हामीले विज्ञहरूसँग जिज्ञासा राखेका छौं । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

प्रस्तुत छ, उनीहरूका धारणा–
 
कोरोना भाइरस लामो समयसम्म रहँदैन । संक्रमणले एउटा उचाइ लिइसकेपछि घट्न सुरु भएको छ । शरीरमा एन्टिबडी (रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति)को विकास भई हर्ड इम्युनिटी (प्राकृतिक रूपमा समुदायको धेरै जनसंख्यामा प्राप्त रोग प्रतिरोधात्मक क्षमता)का कारण पनि संक्रमणदर घटेको हुन सक्छ ।
- डा. सागरकुमार राजभण्डारी, निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी भएर हो कि वा अन्य कुनै कारण छ भनेर हामी अध्ययन गर्दै छौं । वंशाणुगत कारण वा  हर्ड इम्युनिटीको विकासबारे पनि अनुसन्धान नगरी केही भन्न सकिँदैन । 
- डा. प्रदीप ज्ञवाली, कार्यकारी प्रमुख, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

संक्रमितको संख्या घटेको हो । सम्भावित व्यक्तिलाई संक्रमण भइसकेको देखिन्छ । सहर बजारमा हर्ड इम्युनिटीमा पुगेको होला भन्ने मेरो अनुमान छ । हामीसँग आँकडा छैन । अनुमानकै आधारमा बोल्नुपर्ने अवस्था छ ।
- डा. अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ

कोरोना संक्रमण चरमोत्कर्षबाट तुलनात्मक रूपमा मत्थर भएको छ । शरीरमा एन्टिबडी विकास भएर संक्रमण घटेको हो कि भन्ने सम्भावना व्यक्त गर्न सकिन्छ । समुदायमै गएर विधि प्रक्रिया मिलाएर एन्टिबडी टेस्ट वा सेरो प्रिभिलेन्स गर्न पाएको भए ढुक्कसँग भन्न  सकिन्थ्यो ।
- डा. शेरबहादुर पुन, क्लिनिकल रिसर्च युनिट संयोजक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

अहिले संक्रमण घटेकै छ । तर, राजनीतिक दलका गतिविधिका कारण संक्रमण बढ्न पनि सक्छ । भित्रभित्रै संक्रमण भइरहेको छ भने होली आसपास संक्रमितको संख्या बढ्न सक्छ ।
- डा. बाबुराम मरासिनी, जनस्वास्थ्यविद् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप