आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगको निर्णय आएपछि प्रचण्ड- माधव नेपालले बितण्डा मच्चाउनुहुन्छ : कर्ण थापा

शुक्रबार, ३० माघ २०७७, १९ : ३३
शुक्रबार, ३० माघ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आयोगले कानुन अनुसार नै उक्त मान्यता दिने ठोकुवा गरेका हुन् ।

आयोगको निर्णय आएपछि प्रचण्ड समूहले बितण्डा मच्चाउने बताए । ‘केपी ओली अध्यक्ष र विष्णु पौडेल महासचिव रहेको नेकपालाई नै निर्वाचन आयोगले मान्यता दिन्छ,’ पूर्वमन्त्री समेत रहेका कर्ण थापाले ठोकुवाका साथ भने,‘कानुन बमोजिम नै यस्तो निर्णय आउँछ त्यसपछि उहाँहरु बितण्डा मच्चाउन थाल्नुहुन्छ ।’ 

उनले प्रचण्ड र माधव नेपाल कि त पार्टीमा फर्कनुपर्ने कि त अर्को पार्टी खोल्नुपर्ने अवस्थामा पुग्ने बताए । थापाले भने, ‘अब उहाँहरुले कि फर्कनुपर्छ कि त नयाँ पार्टी खोल्नुपर्छ ।’ राजनीतिक दलसम्बन्धी ऐनमै पार्टी एकता भएको पाँच वर्षभित्र विभाजन हुन नसक्ने व्यवस्था रहेको उल्लेख गरे । उनले भने,‘प्रचण्ड र माधव नेपालहरु अरुका लागि खनेको खाल्डोमा आफै फस्दै हुनुहुन्छ ।’

थापाले चुनाव तोकिएको समयमै हुने ठोकुवा गरेका छन् । चुनावमा शंका गर्नुपर्ने कुनै कारण नभएको बताए । उनले भने,‘चुनाव हुन्छ हुन्छ, कसैले शंका नगरे हुन्छ ।’ ताजा जनादेशका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको सिफारिश गरेको बताए । अब जनताले नै सबै विषयको टुंगो लगाउने बताए । नेपाली काँग्रेस समेत चुनावप्रति सकारात्मक रहेको बताए । जनताले नै सबै कुराको फैसला गर्ने बताए ।

सर्वोच्च अदालत र निर्वाचन आयोगलाई कसैले धम्क्याउने या दबाब दिन नमिल्ने बताए । उनले भने,‘सर्वोच्च अदालत र निर्वाचन आयोगलाई कसैले धम्क्याउने या दबाब दिने गर्न मिल्दैन ।’ प्रचण्ड र माधव नेपाल मिलेर प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउने प्रपञ्च रचेको आरोप लगाए । उनले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने,‘उहाँहरुले अरुलाई खनेको खाल्डोमा आफै फस्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप