बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनमा स्रष्टाहरु, कविता सुनाउँदै मार्चपास

शुक्रबार, ३० माघ २०७७, १७ : १६
शुक्रबार, ३० माघ २०७७

काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम र सबैखाले प्रतिगमनविरुद्ध स्रष्टाहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार कवि, लेखक तथा सर्जकहरुले भृकुटीमण्डपदेखि वसन्तपुरसम्म कविता तथा विभिन्न रचनाहरु वाचन गर्दै मार्चपास गरेका हुन् । 


मार्चपासपछि वसन्तपुर डबलीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै धनकुमारी सुनारले सबैखाले प्रतिगमनको विरोध अहिलेको आवश्यकता रहेको बताइन् । ‘शासनमा बसेकाहरु आफ्नो अधिकार कटौती भयो, गाँस खोसियो प्रतिगमन भयो भन्दैछन् । यो मात्र प्रतिगमन होइन । पछिल्ला ७ वर्षमा १४ हजार महिलाको बलात्कार भयो ।

उनीहरु किन चुप रहे ? त्यसमध्ये ५० प्रतिशत दलित किशोरी र महिलाको बलात्कार भयो । उनीहरु किन चुप रहे ?’ उनले भनिन्, ‘अबको आन्दोलन दलित, महिला र जनजातिका माग पूरा नभएसम्म रोकिन हुन्न । ५ पुसमात्रै प्रतिगमन होइन, यी सबै घटना प्रतिगमन हुन् ।’

कार्यक्रममा रचना मोक्तानले तामाङ भाषाको कविता सुनाइन् । त्यसअघि प्रतिगमनप्रति खबरदारी गर्दै उनले भनिन्, ‘प्रतिगामी खोस्टाहरु पोल्न पाइन्छ, अग्रगमनका कलमहरु कोर्न पाइन्छ । हे तानाशाहहरु हो, मुखमा ताल्चा नठोक, प्रतिगमनविरुद्ध बोल्न पाइन्छ ।’

कवि श्रवण मुकारुङले जुन र फूलको सुन्दरता वर्णन गर्नुपर्ने सर्जकहरुलाई शोषण र विभेदविरुद्ध बोल्न सरकारले नै बाध्य भएको बताए । ‘विभेदविरुद्ध मार्चपास र लङमार्च नै गर्नुपर्ने बाध्यता आइलाग्यो । यो बाध्यता सरकारका कारण नै आइलागेको हो । हामी साहित्यकारहरुका लागि अभिव्यक्ति स्वतन्त्रता नै पहिलो शर्त हो । तर, सरकारले वाक स्वतन्त्रतालाई कुल्चन खोज्यो ।  हिजो बोलेकै भरमा एक युवा नेतृ पक्राउ परिन् ।

राज्यले जनतालाई तर्साउन यस्तो गरेको हो,’ उनले भने । समालोचक तथा लेखक निनु चापागाईले २००७ सालको क्रान्तिदेखि नै सर्जकहरु आन्दोलनमा निरन्तर रहेको बताए । ‘यो संविधानले सबै जनताको अधिकार सुनिश्चित गरेको छैन भन्दै निरन्तर सर्जकहरुले खबरदारी गरिरहेकै थियौं । तर, संविधानका उपलब्धीहरुलाई पनि हामीले आत्मसात् गरेका थियौं । अहिले ती उपलब्धिहरु पनि कुल्चने काम भयो । कानुन र विधिलाई आधार बनाउनुको साटो जसरी व्यक्तितन्त्र हाबी भयो । त्यसविरुद्ध हामी आज उभिएका हौं,’ उनले भने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप