शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यही वर्षभित्रै सकिने भनिएका राष्ट्रिय गौरवका चार आयोजना : कस्तो छ प्रगति ?

शुक्रबार, ३० माघ २०७७, ११ : ३६
शुक्रबार, ३० माघ २०७७

चालु आर्थिक वर्षभित्रै सकिने लक्ष्य लिइएको चारवटा राष्ट्रिय गौरवका आयोजना छन् । सिक्टा सिंचाइ आयोजना, माथिल्लो तामाकोशी जलविद्यतु आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना चालु आर्थिक वर्ष (२०७७/७८) भित्रै सकिने लक्ष्य हो । यी आयोजनामा पटक पटक म्याद थप भएपछि लामै समयदेखि निर्माणको चरणमा रहे । समय बढेसँगै लागत पनि बढ्दै गयो ।

चार आयोजना कसको प्रगति कस्तो ?

सिक्टा सिंचाइ आयोजना

आर्थिक वर्ष २०६१/६२ बाट निर्माण शुरु भएको सिक्टा सिंचाइ आयोजना यसै वर्ष सक्ने संशोधित लक्ष्य छ । यसअघि २०७१/०७२ मा सक्ने अनुमान थियो । शुरुमा दातृ निकायसँगको आर्थिक सहयोग पाउन ढिला भएकाले यसको निर्माण कार्यअवधि पनि लम्बिदै गएको राष्ट्रिय योजना आयोगले जनाएको छ । यो आयोजना निर्माण पश्चात ४२ हजार ७ सय ६६ हेक्टर सिंचाइ सुविधा पुग्ने अनुमान  छ । १२ अर्ब ८० करोड प्रारम्भिक लागतको अनुमान गरिएकोमा संसोधित गुरुयोजना पछि यसको लागत बढेर २५ अर्ब ५ करोड हुने अनुमान छ । यो आयोजनाको हालसम्म राप्ती नदिमा पुलसहितको बाध निर्माण गरेको छ । पश्चिम मूल नहर ४५ किलोमिटर निर्माण कार्य सकिएको छ भने पूर्वी मूल नहरको ५० प्रतिशत काम सकिएको छ । योसँगै करिब ७ हजार हेक्टरमा सिंचाइ सुविधा पुगेको छ ।  यस आयोजनाका लागि चालु अािर्थक वर्षमा (२०७७/७८) १ अर्ब ५५ करोड ७४ लाख बजेट छुट्याइएको छ । पुस मसान्तसम्म ३४ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना

बहुप्रतिक्षित माथिल्लो जलविद्युत आयोजना २०६७/६८ बाट निर्माण शुरु गरिएको हो । आव २०७२/०७३ मै सक्ने शुरुवाती लक्ष्य भएपनि भूकम्प, नाकाबन्दीजस्ता कारण समयमै सम्पन्न गर्न नसकेको भन्दै म्याद थप भइ चालु वर्षभित्र सक्ने लक्ष्य छ ।  ३५ अर्ब २९ करोड लागत अनुमान गरिएक पनि समय लम्बिएसँगै ४९ अर्ब २९ करोड लागत लाग्ने संसोधित अनुमान छ । ४ सय ५६ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको आयोजना अब सञ्चालनको तयारीमा छ ।

चालु आर्थिक वर्षमा यस आयोजनाका लागि १ अर्ब छुट्याइएको छ । हेडबक्सको सबै संरचना निर्माण गरी रिजर्भ वायरको परीक्षण सम्पन्न भएको छ भने १९ किलोमिटर सुरुङ र साफ्ट खन्ने काम पनि सकिएको छ । दुबै भर्टिकल पेनस्टिक साफ्टहरुमा स्टिल पेनस्टिक जडान कार्य पनि सकिएको छ । टर्वाइन र जेनेरेटर जडान तथा ४७ किलोमिटर लामो २ सय २० केभी प्रसारण लाइनको निर्माण पनि सकिएको छ । यो आयोजना दोलखा जिल्लाको विगु गाउँपालिकामा छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

२०७३/०७३ बाट शुरु भएको यो आयोजनाको दोस्रो पटक म्याद थप गरेर यसै वर्ष सकिने लक्ष्य राखेको हो ।  ६ अर्ब २२ करोड शुरुवाती लागत, संसोधित लागत ६ अर्ब ८२ करोड रहेको छ । यस आयोजनाको पुस मसान्तसम्म ९० प्रतिशत निर्माण कार्य सकिएको छ । ट्याकसी वे एवम एप्रोन सिभिल निर्माणको कार्य,  तीन हजार मिटर लम्बाइको धावन मार्ग, विमानस्थल आयोजनाको उत्तरतर्फको कार पार्किङ एरियामा कालोपत्रे गर्ने काम सकिएको छ ।  यस विमानस्थल निर्माणका लागि चालु आर्थिक वर्षमा ४ अर्ब ७२ करोड ५० लाख बजेट छुट्याइएकोमा ५ महिनामा २ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । मुलुकको अर्को वैकल्पिक अन्तर्राष्ट्रिय बिमान स्थलको रुपमा निर्माण थालिएको यो विमान स्थल रुपन्देही जिल्लामा पर्छ ।

मेलम्ची खानेपानी आयोजना

काठमाडौँ उपत्यकाको विद्यमान खानेपानी समस्या  समाधान गर्न २०५५/५६ बाट निर्माण शुरु भएको मेलम्ची खानेपानी आयोजना पनि यसैवर्ष सकिने लक्ष्य छ । यो २०७०/७१ मै सक्ने लक्ष्य थियो  । म्याद थप गरेर चालु वर्ष सम्पन्न गर्ने  लक्ष्य लिइएको हो  । १७ अर्ब ४३ करोडमा सक्ने शुरुवाती अनुमान भएपनि समय थपिएसँगै लागत पनि बढ्दै गयो । फलस्वरुप ३१ अर्ब ३६ करोड लागत लाग्ने अनुमान छ ।  यसको हेडवक्र्स निर्माण ७० प्रतिशत सकिएको छ । रक बोल्ट जडान र इन्स्ट्रुमेन्ट जडान काम पनि सकिएको छ । चालु आर्थिक वर्ष यस आयोजनाका लागि ९ अर्ब १० करोड ५३ लाख बजेट बिनियोजना भएकोमा पुस मसान्तसम्म ६५ करोड २१ लाख रुपैयाँ खर्च भएको छ ।  फागुन पहिलो साताबाट पानी पठाइ परिक्षणको काम शुरु हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

विकास र समृद्धिका लागि न्यूनतम भौतिक पूर्वाधार आवाश्यकता परिपूर्ति गर्न रणनीतिक र रुपान्तरणकारी विकासका आयोजनालाई छनौट गरेर नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा घोषणा गरेको हो । हाल २५ वटा राष्ट्रिय गौरवका आयोजना छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप