बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रणनैतिक संयुक्त्त मोर्चाको निशाना : ओली –प्रचण्ड र वर्तमान व्यवस्था

प्रतिबन्ध हटाउन सरकारमाथि दबाब, विप्लवलाई सार्वजनिक हुन आह्वान
शुक्रबार, ३० माघ २०७७, ०७ : ५९
शुक्रबार, ३० माघ २०७७


काठमाडौं । प्रतिनिधिसभा विघटनले सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजित हुँदै गर्दा कम्युनिस्ट चार घटकबीच रणनैतिक संयुक्त्त मोर्चाको घोेषणा भएको छ । १४ पुसमा भएको सहमतिअनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य (किरण)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच बिहीबार मोर्चाबन्दी भएको हो ।

बिहीबार प्रज्ञा भवनमा औपचारिक कार्यक्रम गरेर उनीहरूले मोर्चाको घोषणा गरेका छन् । केपी ओली सरकारको निरङ्कुशता, फाँसिवाद, दलाल र प्रतिक्रिया राज्य सत्ताकाविरुद्ध आफूहरु संयुक्त मोर्चा बनाएर जुटेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा उपस्थिति नेताहरु वर्तमान व्यवस्था र नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहमाथि बढी खनिएका थिए । नेकपा ओली र प्रचण्ड–नेपाल पक्ष एकअर्काविरुद्ध आगो ओकाली रहेकाबेला कम्युनिस्टका साना चार घटक एक ठाउँमा उभिनु अर्थपूर्ण छ । मोर्चामा प्रतिबन्धित विप्लव नेतृत्वको पार्टी सहभागिता हुनुलाई चासोका साथ हेरिएको छ ।

सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगायता उक्त पार्टीका नेता कार्यकर्ता भूमिगत अवस्थामा छन् । उनीहरुबीचको मोर्चाबन्दीले खुला राजनीतिमा आउने विप्लवको तयारी हो वा राजनीतिक तरलतालाई उपयोग गर्दै सशस्त्र क्रान्तिका लागि शक्ति आर्जन गर्न संयुक्त मोर्चा खडा गरिएको ? प्रश्न उठेको छ ।

यता प्रतिनिधिसभा विघटन र चुनाव घोषणासँगै सरकारले विप्लव समूहसँग वार्ताका लागि पहल गरेको छ भने प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णय सकारात्मक भएको विप्लव पार्टीका नेताहरुको प्रतिक्रिया आउन थालेको छ ।

सुरक्षा कारबाहीमा विप्लव समूहको शक्ति छिन्नभिन्न बनेका कारण शक्ति बढाउने दाउमा खुला राजनीतिमा भएका पार्टीसँग सहकार्यको हात बढाएको देखिन्छ । त्यसयता देशभरबाट २ हजार ५२ नेता र कार्यकर्ता पक्राउ परेकामा ९० जना सोधपुछपछि रिहा भए भने १ हजार ९ सय ६२ जनामाथि अदालत र प्रशासनमा मुद्दा दर्ता भएको छ ।

त्यसमध्ये १ हजार ८ सय १ साधारण तारिख र धरौटीमा छुटे भने १ सय ३५ जना पुर्पक्षका क्रममा जेलमा छन् । सचिवालय सदस्य बाँस्तोलासहित २८ जना अहिले अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । प्रतिबन्धयता विप्लव समूह भूमिगत भएरै आफ्ना गतिविधिमा केन्द्रित छ । चन्दा आतंकदेखि विस्फोट र आगजनी हुँदै व्यक्ति हत्यासम्मका अपराधमा विप्लव समूहको संलग्नता छ । विप्लव समूहले हिंसात्मक गतिविधि त्याग्ने कुनै छनक देखाएको छैन ।

तर विप्लव समूहले पनि विकसित घटनाक्रमको उपयोग गर्दै नयाँ कार्यकर्ता उत्पादन र संगठन विस्तारको अपेक्षा राखेको देखिन्छ । त्यसैको पूर्वाभ्यासका रूपमा विप्लव समूहले अरू साना कम्युनिस्ट पार्टीसँग रणनैतिक एकता गरेको कतिपयको बुझाइ छ ।

रणनैतिक शक्ति सन्तुलनको स्थितिमा आफूलाई उभ्याउन संयुक्त मोर्चाले पनि आन्दोलनको घोषणा गर्दै जनतासँग जोडिने बताएको छ । मोर्चाका एजेण्डा र विप्लव समूहले सरकारसँग अनौपचारिक रुपमा राखेका सर्त उस्तै उस्तै छन् ।

सरकारसँगको अनौपचारिक वार्तामा विप्लव समूहले प्रतिबन्ध फुकुवा गर्न, आफ्ना नेता–कार्यकर्ता रिहा गर्न र वार्ताका लागि औपचारिक आह्वान गर्न माग गरेको छ ।

रणनैतिक संयुक्त मोर्चाले पनि प्रमुख एजेण्डाका रुपमा उक्त कुरालाई अगाडि सारेको छ । यस्तै समाजवादउन्मुख संविधानको ठाउँमा वैज्ञानिक समाजवाद र देशभक्त, राष्ट्रवादी शक्ति सम्मिलित संयुक्त जनसरकारको गठन मोर्चाको माग छ ।

मुख्य राजनीतिक दल विभाजित भइ व्यवस्थामाथि चनौती खडा हुँदै गएकाले आफ्ना एजेण्डा जनताका माझमा लिएर सम्बोधनका लागि दबाब बढाउने मोर्चाको रणनीति छ ।

त्यसका लागि रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरिएको छ । समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाललगायत छन् ।

मोर्चाको नेतृत्व आलोपालो रुपमा ६/६ महिनामा पार्टीगत रुपमा फेरिने छ । केन्द्र र प्रदेश समितिमा हाललाई १५ जना रहनेछन् भने जिल्ला तहमा ११ सदस्यीय समिति बनाइने अवधारणापत्रमा उल्लेख छ ।

मोर्चामा सबैबाट पार्टीहरूबाट समान संख्यामा प्रतिनिधि रहनेछन्, साथै घटकहरूको सहमतिमा थप पार्टी तथा स्वतन्त्र व्यक्तित्वहरू सामेल गर्दै जाने नीति लिइने बताइएको छ । त्यस्तै मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रम पनि घोषणा गरेको छ ।

मोर्चाले फागुन ६ गते बुटवलमा, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभाको घोषणा गरेको छ । रणनैतिक संयुक्त मोर्चाका सदस्य सिपी गजुरेलले तेस्रो जनआन्दोलनको नेतृत्व यही मोर्चाले गर्ने दाबी गरेका थिए । नागरिक अगुवाहरु तेस्रो जनआन्दोलनको उद्घोष गरिसकेकाले आफूहरुको मार्चाले सबैलाई सबैलाई समेटेर जाने बताएका थिए ।

रणनैतिक संयुक्त मोर्चाको मुख्य लक्ष्य कम्युनिस्ट पार्टीहरूबीच एकीकरण र पार्टी एकता भएका वैद्यको भनाइ थियो । मोर्चामा अन्य दलहरुलाई पनि समावेश गर्दै अगाडि बढ्ने बताइएको छ । यस्तै आवश्यक परे अर्को युद्ध गर्न मोर्चा तयार रहेको वैद्यको उद्घोष थियो ।

‘आवश्यक परे फेरि अर्को युद्ध गर्न तयार छौँ । यस्तो भन्दा मानिसले पत्याउँदैनन् । हिजो राणा ढल्दैन भन्थे पञ्चायत ढल्दैन भन्थे राजा ढल्दैन भन्थे तर ढले । संसदीय व्यवस्था असफल भएको छ । अब संसदीय व्यवस्थाले काम गर्दैन । दक्षिणपन्थी संशोधनवादको पनि असफलता हो,’ वैद्यले भने ।

अहिले आफूलाई क्रान्तिकारी भन्नेहरुले क्रान्तिलाई धोका दिएको उनको आरोप थियो । ‘ओलीजी झापा विन्द्रोहको ब्याज खाँदै हुनुहुन्छ । प्रचण्डले जनयुद्धको ब्याज खाँदै छन् । शहीदको रगतमा आहाल खेलेर क्रान्तिलाई धोका दिँदैछन्,’ उनले भने ।

संसदवादीहरुले समाजवाद र समृद्धिको कुरा गरेर साम्राज्यवादी नवउदारवादको सिरानी हालेको आरोप उनले लगाए । ओली र प्रचण्ड–माधव नेपाल दुबै समूह नक्कली कम्युनिस्ट भएको वैद्यको भनाइ छ । ‘फेरि हामी के भन्छौँ भने उनीहरु दुवै नक्कली हुन् । सक्कली कम्युनिस्ट भन्ने जनताका जनजीविकाका समस्या हल नगर्ने, जनजीविकाका कुरा उठाउनेलाई प्रतिबन्ध लगाउने ? खाटी कम्युनिस्ट को हो ? ओलीजी आफूलाई सक्कली भन्दै प्रचण्ड– माधव नेपाल समुहलाई नक्कली भन्छन्,’ उनले भने । उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध हटाउन माग समेत गरे ।

वैद्यले भने, ‘विप्लव नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाइयोस् । पक्राउ नेता कार्यकर्तालाई तुरुन्त खारेज होस् । मुद्दाहरु राजनीतिक हुन् । राजनीतिक रुपमा समाधान होस् ।’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नयाँ चिन्तनका साथ कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनु जरुरी रहेको बताएका थिए । जनतालाई एकताबद्ध गरी जनताकै शासन स्थापना गर्नतर्फ आफूहरुको मोर्चा अग्रसर रहेको उनको भनाइ थियो ।

यस्तै उनले विप्लव माथिको प्रतिबन्ध हटाउन माग गर्दै पक्राउ नेता कार्यकर्ता नछाडे जेलका ढोका फोडेर क्रान्तिको सुरुवात गर्ने चेतावनी दिए । राज्यसत्ता खारेज गरेर जनताको राज्यसत्ता स्थापनाको मोर्चाले नेतृत्व गर्ने कट्टेलको उद्घोष थियो ।

यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल (आहूति)ले जनताले परिवर्तनको आभास नपाएकाले नयाँ क्रान्ति आवश्यक भएको बताए ।

संसद् पुनःस्थापना गरेर मात्र परिवर्तन सम्भव नहुने उनको भनाइ थियो । ‘यो असफल व्यवस्था खारेज गरेर,यो राज्यसत्ताको विस्थापन गरेर जनताको राज्यसत्ता नबनाउँदा सम्म यो समस्या समाधान हुन्न,’ उनले भने ।

आहूतिले विप्लवमाथि लागेको प्रतिबन्ध हटाइनुपर्ने माग गरे । उनले प्रतिगमन पुस ५ गतेबाट नभइ दोस्रो संविधानसभाबाट भएको उद्घोष गरे । उनले अहिले राज्यसत्तामा प्वाल परेको भन्दै त्यसलाई क्रान्तिले ठूलो भ्वाङ पार्ने बताए । त्यसका लागि अब विप्लव पनि सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप