शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, विश्वलाई सकारात्मक सन्देश

बिहीबार, २९ माघ २०७७, २२ : २६
बिहीबार, २९ माघ २०७७

एजेन्सी । चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रुपमा पहिलो पटक फोन वार्ता भएको छ ।  वाइडेन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस प्रवेश गरेपछि बिहीबार उनीहरुबीच पहिलो पटक टेलिफोन कुराकानी भएको हो ।

विश्वका दुई शक्तिशाली तर एक अर्काका प्रमुख प्रतिश्पर्धी मुलुकका प्रमुखहरुका बीचमा भएको कुराकानीले विश्वलाई नै सकारात्मक सन्देश दिएको छ । टेलिफोन कुराकानीका क्रममा उनीहरुले चिनियाँ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए ।

नयाँ वर्षको अवसरमा मनाइने यस पर्वलाई चीनमा अत्यन्त महत्वका साथ मनाइने बसन्त पर्वकोरूपमा लिइन्छ । चिनियाँ परम्परा अनुसार हरेक बर्षको फेब्रुअरी १२ मा यो पर्व मनाउने गरिन्छ ।  महत्वपूर्व पर्वको अघिल्लो दिन दुई राष्ट्राध्यक्षबीचको कुराकानीले दुवै देश सहित विश्वभरी नै सकारात्मक तरङ्ग फैलाएको छ । 

उनीहरुबीच यस पर्वको शुभकामनासँगै द्विपक्षीय सम्बन्ध र महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे गहिरो रूपमा विचार पनि आदान प्रदान भएको छ ।  दुई नेताबीचमा सिधा कुराकानी हुनुलाई राम्रो सङ्केतका रूपमा लिन सकिने विश्लेषकहरुले बताएका छन् । यसले बाँकी विश्वलाई पनि फाइदा नै गर्ने उनीहरुको भनाइ छ । 

दुई नेताले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा नजिक रहेर काम गर्ने प्रतिवद्धता गर्नु अर्को सुखद पक्ष मानिएको छ ।  टेलिफोन कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले चीनसँग आफु रचनात्मक र उपलब्धिमुलक वार्ता गर्न चाहेको उल्लेख गरेका थिए ।

दुई पक्षकाबीचमा आत्मीक सम्वन्ध बढाउन, दुई पक्षीय बुझाई साझा र राम्रो बनाउन सहयोगी हुने बैठक तथा वार्ताका लागि इच्छुक रहेको उनको भनाई थियो ।  त्यसैगरी एक अर्काप्रतिको गलत बुझाई र गलत सञ्चारका बारेमा पनि स्पष्टता आवश्यक रहेकोमा वाइडेनले जोड दिएका थिए ।

वार्तामा चिनियाँ राष्ट्रपति सीले विगतको आधा शताब्दीमा चीन र अमेरिकाबीचको सम्बन्धमा विकास भएको प्रकृयाबारे समीक्षा गरी आगामी दिनमा त्यस्तो नहुने विश्वास व्यक्त गरेका थिए । उनले दुई देशबीच सहयोग भए साझा फाइदा हुने र द्वन्द्व भए दुवै पक्षलाई हानी हुने दोहोर्याएका थिए ।

टेलिफोन वार्ताका क्रममा सीले विभिन्न संयन्त्र बनाएर दुई देशका कुटनीतिक, आर्थिक, बैकिङ्ग, कानुन कार्यन्वयन, सेनालगायत विभागबीच सम्पर्क गरी आपसी राजनीतिक लक्ष्यलाई सही तरिकाले बुझ्ने प्रस्ताव गरेका छन् । निरन्तर र निकट रहेर वार्ता गर्ने दुवै राष्ट्राध्यक्षको चाहनाले बेइजिङ् र वासिङ्टनबीचको विगतको दुरी घट्ने सम्भावना अन्त्यन्त धेरै देखिएको छ ।

पछिल्ला केही वर्ष चीन र अमेरिकाका बीचमा नराम्रो सम्वन्ध बढ्दै गएको थियो । कतिपय अवस्थामा लामो समयपछिकै सवैभन्दा नमिठो पनि महसुस गरिएको थियो ।  चीन र अमेरिकाका नेताले अव भने असामान्य क्षमता र साहस देखाउनसक्ने धेरैले अपेक्षा गरेका छ । विशेष गरी अमेरिकाले यस पटकको वार्ताको भावनालाई व्यवहारमा उतारी चीनसँग दुई देशको सम्बन्धको सुधार गर्नसक्ने आशा गर्न सकिन्छ । द्विपक्षीय सम्बन्ध सुधार गर्ने दुई नेतामा राजनीतिक इच्छा देखिएकोले पनि यस्तो आशा गर्न सकिने देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप