बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आउने चुनावमा ओलीको जमानत जफत हुन्छ: झलनाथ खनाल

बुधबार, २८ माघ २०७७, १६ : १९
बुधबार, २८ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले आजको विरोधसभाको उपस्थितिले कुन पार्टी आधिकारिक हो भनि पुष्टि भएको बताएका छन् । उनले निर्वाचन आयोगका आयुक्तहरुलाई यहाँ आएर हेर्न आग्रह गर्दै यो उपस्थिति हेरेर कानुनहरु मिलाउन आग्रह गरे । नेता खनालले जनमास हेरेर कानुन मिलाउने काम छिट्टो गर्न आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईप्रति व्यंग्य गर्दै खनालले चुनावमा कसरी दुई तिहाई बहुमत ल्याइन्छ भनि भँगेराको कथा सुनाएका थिए ।

‘मिस्टर केपी ओली तपाईका खुट्टी हेर्दै पत्यायौं, अब दुई तिहाई होइन तपाईको जमानत जफत हुन्छ, दुई वर्षमा हुने चुनावमा तपाईको जमानत जफत हुनेछ’ नेता खनालले भने, ‘हामी प्रतिगमनको विरुद्धमा लडिरहेका छौं, हामीले प्रचण्ड र माधव नेपालाई प्रधानमन्त्री बनाउन वा एउटा कुर्सीका लागि लडिरहेका छैनौं, संविधानको रक्षा, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि लडिरहेका छौं ।’

आज भृकुटीमण्डलमा नेकपा प्रचण्ड–समूहले गरेको विरोधसम्ममा बोल्दै उनले भने, ‘५८ वर्ष लडेर गणतन्त्र ल्यायौं, १० वर्ष लगाएर संविधान बनायौं तर प्रधानमन्त्री ओलीले एकैपटकमा सबै समाप्त पार्न खोजे ।’ उनले समाजवादी कृषि क्रान्ति कसरी गर्ने, समाजवादी उद्योगधन्दा कसरी सञ्चालन गर्ने र समाजवादी शिक्षा कसरी तयार गर्ने भनेर आफूहरु त्यसका लागि लागि परेको दावी गरे ।

पुष्पलालले जनवाद स्थापना गर्ने सपना देखेको बताउँदै उनले आजको यो उपस्थिति नै जनवाद रहेको धारणा राखे । यो नेकपाको दुई गुटको आन्दोलन मात्र नभएको बताउँदै खनालले प्रतिक्रान्ति विरुद्धको आन्दोलन रहेको दावी गरे । उनले भने, ‘पुस ५ गते भएको घटना एउटा प्रतिक्रान्त हो र त्यसको विरुद्धको आन्दोलन भैरहेको छ ।’

ओली सैद्धान्तिक रुपमा पराजित भइसकेको बताउँदै उनले केपी ओली पशुपति नाथमा संकल्प पूजा गर्न  जान लागेकाले वामपन्थी विचारप्रति उनलाई विश्वास नलागेको आरोप लगाए । उनले सम्पूर्ण लोकतान्त्रिक पार्टीलाई संयुक्त आन्दोलनमा सहभागी हुन आग्रह गरे । नेता खनालले संसद पुनःस्थापनको विकल्प नरहेको बताउँदै समाजवादको दिशातर्फ अगाडि बढ्न उनले सबैलाई आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप