बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको कदमबारे के भन्छन् आन्दोलनकारी ?

बुधबार, २८ माघ २०७७, २१ : ४०
बुधबार, २८ माघ २०७७

काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले आयोजना गरेको जनप्रदर्शनमा सहभागी भएका सर्वसाधारण तथा स्थानीय नेताहरुले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरेका छन् । ५ पुसमा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा अस्थिरता सुरु भएको उनीहरुले बताए । 

सिरहाको धनगढीमाई नगरपालिका संघर्ष समितिका संयोजक तथा नेकपाका स्थानीय नेता उत्तरबहादुर मगरले प्रधानमन्त्री केपी ओलीकै कारण पार्टी विभाजन भएको बताए । ‘पार्टी विभाजनका कारण इमानदार कार्यकर्ताहरु दुखित छन् । तर, हामीलाई त्योभन्दा ठूलो दुःख प्रतिनिधिसभा विघटनमा छ किनकी यसले समग्र नेपाली जनताको भावनामा चोट पु¥याएको छ, देशलाई नै अस्थिरतामा धकेलेको छ,’ उनले भने,‘हामीले धेरै कस्ट सहेर ल्याएको व्यवस्था र देश नै नरहने परिस्थिति सिर्जना भएपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।’

धनगढीमाई नगरपालिकाबाट ठूलो संख्यामा प्रदर्शनकारीहरु आन्दोलनमा सहभागी भएको उनले बताए । ‘१७ वटा बस र ८–१० वटा स्कर्पियोसहित हामी झन्डै ८ सयजना कार्यकर्ता धनगढीमाई नगरपालिकाबाट आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका छौं । अन्यत्र जिल्लाबाट पनि ठूलो संख्यामा  आन्दोलनकारीहरु आउनुभएको रहेछ । यो जनलहरले ओलीको प्रतिगामी कदम सच्याउँछ भन्ने मलाई लाग्छ ।’ 

ममता गिरी पनि सिरहाबाटै आन्दोलनमा सहभागी हुन आएकी हुन् । उनी नेकपाको केन्द्रीय सदस्य समेत हुन् । ‘प्रधानमन्त्रीले संविधानलाई कोमामा पुर्याउनुभयो र संकटमा धकेल्ने काम गर्नुभयो । त्यसैले हामी सिरहावासीहरु आन्दोलनमा आएका हौं,’ उनले भनिन्, ‘महिला राष्ट्रपति भएकोमा हामीलाई निकै गर्व लागेको थियो । तर प्रधानमन्त्रीको कदम सच्याउनुको साटो उहाँले त्यसमा ठप्पा लगाउने काम गर्नुभयो । त्यो राष्ट्रका लागि घातक थियो । उहाँले राष्ट्रको गरिमा राख्न नसक्नु बिडम्बनापूर्ण छ । तर, मलाई लाग्छ ढिलो–चाँडो जनताले यो कदम सच्याउनेछन् । 

नुवाकोट बेलकोटगढीबाट आन्दोलनमा सहभागी हुन आएका राधाकृष्ण मुडभरीले पनि प्रतिनिधिसभा विघटनलाई सच्याउनुको विकल्प नरहेको बताए । ‘संविधानमाथिको प्रहारविरुद्ध ओलीलाई सजग गराउन हामी आएका हौं । हाम्रो जिल्लाबाट किसान, जनजाति, महिलालगायत ठूलो संख्यामा सहभागीहरु आन्दोलनमा आउनुभएको छ । जनताको बलमा सबैखाले प्रतिगमन सच्याउनुपर्छ भन्ने मलाई लाग्छ ।’

प्रदर्शनमा सहभागी हुन चितवनको भरतपुरबाट आएका ३२ वर्षीय नीति राईले ओलीको कदम नसच्चिए देश अस्थिरतातर्फ जाने बताए । ‘तत्कालै यो ‘कू’ सच्चिनुपर्छ । नत्र, देशमा शान्ति र स्थिरता बिथोलिने भयो, अशान्ति भयो भने सबैले दुःख पाउँछन्’ राईले भने, ‘हामीलाई शान्ति चाहियो, विकास चाहियो ।’

भरतपुरबाटै आएका २४ वर्षीय विसप सिंह र मनिष परियार पनि देशको राजनीतिक अस्थिरताले वाक्क भइसकेका जनताले शान्ति चाहेको बताउँछन् । ‘नेताहरु गाली–गलौजमा उत्रिएर मात्रै भएन । विकास हुनुपर्यो, प्रतिनिधिभा पुनःस्थापना हुनुपर्यो,’ परियारले भने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप