ad
केन्द्रीय संस्करण

लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थल देश विकासको आधार

person explore access_timeमाघ २८, २०७७ chat_bubble_outline0

पश्चिम नेपालको औद्योगिक एवं व्यापारिक केन्द्र रूपन्देही जिल्लाको लुम्बिनीलाई केन्द्र बनाएर पर्यटन, कृषि र औद्योगिक विकास गर्न सकिने प्रशस्त आधार र सम्भावना रहेको छ । लुम्बिनी क्षेत्रको विकास गर्न सके धेरै युवालाई रोजगार दिन पनि सकिन्छ । तर यसका लागि हामीमा नैतिकता र इमानदारिता चाहिन्छ । सँगसँगै विकास निर्माणको काममा राजनीतिक अस्थिरताको अन्त्य र दलहरूबीच एकताको पनि त्यत्तिकै खाँचो हुन्छ ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी यही रूपन्देही जिल्लामा हुनु, भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुग्नु, विशेष आर्थिक क्षेत्र (सेज) पूर्णरूपमा सञ्चालनको तयारीमा रहनु, बुटवल– भैरहवा सिक्स लेन सडकको निर्माण, बुद्ध सर्किट सडक निर्माण, बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणजस्ता कार्यले पनि यस क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र सर्वसाधारणमा उत्साह जगाएको छ । कोभिडको मारमा परेको अर्थतन्त्रका कारण केही निरास भएका यस क्षेत्रका उद्योगी व्यवसायी र आम नागरिक यहाँका यी विकासका आधारहरूको निर्माण समयमै सकिए अर्थतन्त्र चाँडै उकालो लाग्ने आशामा छन् ।

अझ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले लुम्बिनी क्षेत्रको मात्र विकास नभई मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भएकाले राष्ट्रकै आर्थिक विकासको मेरुदण्डको रूपमा हेरिएको छ । यसले यहाँका उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने मात्र होइन धेरै पेसा व्यवसायलाई चलयमान बनाउँदै थुप्रैलाई रोजगारको अवसर दिन्छ । यद्यपि यस क्षेत्रका महत्त्वपूर्ण विकास आयोजनाका कामले लिनुपर्ने जति गति लिन भने सकेको छैन । कोभिडका कारण लामो समयदेखि निर्माण कार्यमा संलग्न काम विशेषले चीन पुगेका चिनियाँ प्राविधिक कामदार नेपाल फर्किन सकेका छैनन् । अर्कोतिर आर्थिक समस्याका कारण पनि यो आयोजनाको कामले पहिल्यैदेखि समस्या झेल्दै आएको छ । चिनियाँ प्रविधिक नआए अब भारतीय दक्ष कामदार ल्याएर आयोजनाको काम सक्ने तयारी गरिएको छ ।

यो विमानस्थल सुरुका दिनमा ठेकेदारको लापरबाही र व्यवस्थापकीय कमजोरीका कारण निर्माणको काममा ढिलाई भएको हो । तीन वर्ष अगाडि सकिनुपर्ने राष्ट्रिय गौरवको यो आयोजनाको निर्माणकार्य हालसम्म करिब ९४ प्रतिशत सकिएको छ । अब उपकरण जडानको काम बाँकी रहेको आयोजनाका प्रमुख प्रवेश अधिकारी बताउनु हुन्छ । एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा सुरु भएको 
विमानस्थलको निर्माणकार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ ।

यो आयोजना औपचारिक रूपमा २०७१ माघ १ गतेदेखि निमार्ण कार्य शुभारम्भ भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यसको शिलान्यास गर्नुभएको थियो । ६ अर्ब २२ करोड रूपैयाँको यो आयोजनाको निमार्ण कार्य सन् २०१५ जनवरी १ मा सुरु भएको थियो । यो विमानस्थल सन् २०१७ को अन्त्यसम्ममा सम्पन्न गर्ने जिम्मा पाएको थियो ।

हाल १५ सय मिटरको धावन मार्गमा सञ्चालन भइरहेको सिद्धार्थ गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी ३ हजार मिटरको धावन मार्गसहित अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन लागिएको हो । भौतिक पूर्वाधार निर्माणअन्तर्गत धावन मार्ग, आधुनिक टावर सुरक्षा भवन, विमानस्थल सडक, घाँघरा नदी डाइभर्सन, पार्किङ वे एप्रोन, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन लगायत संरचना बनाउने काम भइरहेको छ । यो विमान स्थलको स्तरोन्नतिपछि काठमाडौँ आउने अन्तर्राष्ट्रिय उडानका जहाज यहाँ अवतरण गर्ने विकल्प तयार हुने बताइएको छ ।

काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलभन्दा क्षेत्रफलका हिसाबले पनि यो विमानस्थल ठूलो छ । यसको स्तरोन्नतिपछि यो विमानस्थलमा एयर बसको ए–३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गर्न सक्नेछन् । विमानस्थलको निमार्ण कार्यपछि काठमाडौँस्थित एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अधिक चाप नियन्त्रण गर्न यो विमानस्थलले सहयोग पुग्ने प्राविधिकहरूको भनाइ छ ।
यसको निर्माणले लुम्बिनी क्षेत्रको मात्र विकास नभएर मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउने छ । यसको निर्माणले सिङ्गो लुम्बिनी अञ्चलको रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची जिल्लाको विकासमा प्रत्यक्ष टेवा पुग्ने स्थानीय उद्योगी, व्यवसायी, बुद्धिजीवी सर्वसाधारणको भनाइ पाइन्छ ।

यो विमानस्थल निर्माणसँगै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग विश्वका विभिन्न सहरहरू जोडिने भएकाले लुम्बिनीमा धार्मिक पर्यटनको ढोका खुल्ने स्थानीय बुद्धिजीवीहरू बताउँछन् । यो विमानस्थलको निर्माणले लुम्बिनी क्षेत्रको मात्र विकास नभई मुलुक र यहाँका उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छ । तसर्थ यो विमानस्थलको निर्माण कार्य समयमै सक्न सबैको ध्यान जान आवश्यक छ ।
 
राज्यले नचिनेको लुम्बिनी
गौतम बुद्धको जन्मस्थल, पवित्र शान्तिभूमि लुम्बिनी अन्तर्राष्ट्रिय तीर्थस्थल र पर्यटकीय क्षेत्रको रूपमा परिचित हुँदै गएको छ । यहाँ पर्यटको आकर्षण बढ्दै गएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम पनि बढ्दो छ । शाक्य वंशको राजधानी, शान्ति, अहिंसा र सत्य जस्ता सबैको प्रेरणाको स्रोत बनाइराख्न यस क्षेत्रलाई विदेशीले समेत पवित्र दिलले तन, मन र धन दिएर सहयोग गरिरहेका छन् । लुम्बिनी जति शान्त र सुन्दर छ यहाँको वातावरण भने अझ पनि त्यति व्यवस्थित हुन सकेको छैन । गुरुयोजनाअनुसार निर्माण भएका कतिपय संरचना गुण स्तरीय पनि छैनन् ।

लुम्बिनी गुरुयोजनाका महत्त्वपूर्ण केही संरचना बन्न बाँकी नै भएकाले वरिपरिको वातावरण प्रदूषित देखिन्छ । अनि निमार्ण गरिएका कतिपय संरचना पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगिसकेका छन् । लुम्बिनी विकासको जति प्रचार र हल्ला छ यथार्थमा यो अन्तर्राष्ट्रिय महत्त्व राख्ने लुम्बिनीको विकासमा सरकारको कम चासो गएको देखिन्छ । लुम्बिनी विकास कोष २ वर्षसम्म सदस्य सचिवविहीन भएर हालै मात्र पूर्णता पाएको छ । जसका कारण यो क्षेत्रको विभिन्न कामसमेत चुस्त दुरुस्त रूपले हुन सकेन भने प्रमुख नै नहुँदा अनुगमनको कामसमेत चुस्त हुन सकेन । आफन्त धनसुन र भनसुनका आधारमा काम हुने परिपाटीले काममा गुणस्तरीयता आउने कुरै भएन ।

२०७५ साउन १० गते नेपाल सरकारको मन्त्री परिषद्को निर्णयअनुसार नियुक्त भएका सदस्य सचिव विष्ष्णुप्रसाद ढकालको विरुद्ध उजुरी परेपछि २०७५ आउन २५ गतेदेखि उक्त पद रिक्त भएको थियो । उक्त पदका लागि खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएकै बेला पाल्पाका तत्कालीन प्रजिअ विष्णु प्रसाद ढकाललाई सरकारले नियुक्त गरेको थियो । नेताका आडमा परिपूर्ति गरिएको त्यो पद विवादित बन्न पुगेको थियो ।
केही महिना कामचलाउ सदस्य सचिवको जिम्मा दिई हालै मात्र नयाँ सदस्य सचिवमा सानुराजा शाक्य नियुक्त हुनुभएको छ । हेरौँ नयाँ सदस्य सचिवले लुम्बिनीको विकास र बुद्ध सर्किटको विकासलाई कसरी अगाडि लैजानु हुन्छ । लुम्बिनीवासी यसको प्रतीक्षामा छन् । वास्तवमा लुम्बिनी विकास कोषमा लामो समयदेखि चरम राजनीतीकरण भएको छ । मन्त्री नियुक्ति भएपिच्छे यहाँको काम प्रभावित हुने गरेको छ । यसका कारण नै ठेक्कापट्टा, कर्मचारी भर्ना जस्ता काम चुस्तदुरुस्त हुन सकेको पाइँदैन । अनि ठूला नीतिगत निर्णय लिन र अनुगमन गर्न समस्या हुने गरेको जगजाहेर नै छ ।

लुम्बिनीमा केही वर्षअघि अन्तर्राष्ट्रिय शान्ति सम्मेलन पनि सम्पन्न भइसकेको छ भनी भिजिट नेपाल र लुम्बिनी भ्रमण वर्ष कोभिडका कारण प्रभावित हुँदा यहाँको पर्यटन विकास पनि एक वर्षदेखि प्रभावित हुन पुग्यो ।
पछिल्लो समय कोभिडको मारपछि आन्तरिक र बाह्य पर्यटककहरूको आगमनको प्रायः शून्य भएपछि यतिखेर भने पर्यटक आगमनले केही गति लिन थालेको छ । तर विदेशी पर्यटकको आगमन बढ्न सकेको छैन । लुम्बिनी क्षेत्रमा पर्यटनको विकास जुन गतिले हुनुपर्ने हो त्यो गतिले हुन सकेको पनि छैन । आजभन्दा ४२ वर्ष अगाडि लुम्बिनीको समग्र विकासका लागि ल्याइएको जापानिज वास्तुकलाविद केन्जो टाँगेले ल्याएको लुम्बिनी गुरुयोजनाको काम अझ पनि पूरा हुन सकेको छैन । यसलाई बिडम्बना नै मान्नु पर्छ । अहिले त धेरैलाई कोभिड बहाना बनेको छ । हुन त लुम्बिनी विकासका लागि विभिन्न तह तप्का, सङ्घ सस्था र निकायबाट नगद तथा जिन्सी सहयोग तथा आर्थिक कोषहरू प्राप्त भइरहेको छ ।

समयको मागसँगै आवश्यक संरचना केही मात्रामा निर्माण भइरहेका छन् । लुम्बिनी गुरुयोजनाको अलवा फेरि लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने गुरु योजना पनि अगाडि ल्याइएको छ । यद्यपि अझ पनि पर्यटकहरूका लागि आवश्यक पूर्वाधारहरू निर्माण हुन बाँकी नै छ । लुम्बिनी पुग्नेहरूले एउटा राम्रो टुरिस्ट गाइडसमेत फेला पार्न सक्दैन । लुम्बिनी गुरु योजनाअनुसार गुरु योजना क्षेत्रले ओगटेको ३ वर्गमाइल क्षेत्रभित्र पवित्र उद्यान, बिहार क्षेत्र र नयाँ लुम्बिनी ग्रामअनुसार विकास निर्माणका काम प्रशासनिक भवन, भीआईसी, क्यानल लगायतका संरचना निमार्ण भइरहेको छ । कामको हिसाबले गुरुयोजनाको काम अझै करिब २० प्रतिशत जति बाँकी छ । यो काम गर्न अझै धेरै बजेट लाग्ने अनुमान छ । हालसम्म करिब ६ अर्ब जति रकम खर्च भइसकेको बताइन्छ । हुन त सरकारले लुम्बिनी विकास कोषलाई राजनीतिबाट टाढा राख्न नसकेका कारण पनि यहाँको विकासमा आशातित उपलब्धि हासिल हुन नसकेको गुनासो पाइन्छ ।

लुम्बिनीको विकासका लागि सरकारले प्रचार– प्रसार र प्रवद्र्धनका लागि विशेष जोड दिँदै यहाँ आउने थाई, श्रीलङ्का, म्यानमार, चीन लगायतका विदेशी पर्यटकको बसाई लम्ब्याउन सक्ने वातावरण दिनसके लुम्बिनी आसपासको क्षेत्रको पनि विकास हुनेथियो । भारत हुँदै यहाँ आउने अधिकांश पर्यटक भारतीय ट्राभल एजेन्सी र उनीहरूकै प्याकेजअन्तर्गत आउँने हुँदा उनीहरूको नेपाल बसाइ अति छोटो भइरहेको छ ।
अन्तर्राष्ट्रिय महत्त्व राख्ने लुम्बिनीका लागि सरकारले उच्च प्राथमिकता दिएर आवश्यक बजेटको व्यवस्था गरी बाँकी रहेका विद्युतीकरण, टेलिफोन जडान, सरसफाई, सजावट तथा निर्माण भएका हल लगायत संरचनाको सरक्षणको काम राम्रो गर्न चासो दिन जरुरी छ ।

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकासका विश्व विख्यात वास्तुकला विद केन्जो टाँगेले लुम्बिनी गुरुयोजना सन् १९७२ मा सुरु गरी १९७८ तयार पारी काम सुरु भएको थियो । यद्यपि यो गुरुयोजना आफैमा महत्त्वकाङ्क्षी भएकाले पनि अहिलेसम्म मूर्त रूप लिन सकेको छैन । यस्तो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चासो पाएको पवित्र भूमि लुम्बिनीको विकास कछुवा गतिमा हुनु शोभनीय होइन । प्रत्येक आर्थिक वर्षमा लुम्बिनीका लागि छुट्याइएको विनियोजित बजेट न्यून भएको सरोकारवालाहरूको भनाइ छ ।

लुम्बिनीमा निर्माण भएको सेन्ट्रल क्यानलमा अहिले डुङ्गा सवारको व्यवस्था मिलाइएको छ । यो यहाँ आउने पर्यटकका लागि आकर्षणको ठाउँ बनेको छ ।
विभिन्न ठाउँबाट आएका पर्यटकहरू लुम्बिनी राम्रो लागेको बताउँदै यहाँको विकास निर्माण कार्य छिटो हुनुपर्ने सुझाव दिन्छन् । हुन त पछिल्लो समय बुद्धसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, रूपन्देहीको भवानीपुर, देवदह, नवलपरासीको रामग्रामलाई बुद्ध सर्किटका रूपमा विकास गरिँदै छ । यसका लागि सडकहरूको निर्माणको कार्य भइसकेको छ ।

राष्ट्रिय गौरव र महत्त्व बोक्ने यो पवित्र भूमि लुम्बिनीप्रति विश्वको ध्यान केन्द्रित छ । वार्षिक रूपमा यहाँ लाखौँ स्वदेशी विदेशी आउँछन् । तसर्थ यहाँ पर्यटकका लागि आवश्यक पूर्वाधार जति सक्दो छिटो निर्माण गर्नसक्ने हो भने पर्यटन व्यवसायबाट नै ठूलो आम्दानी गर्न सक्छ । त्यसका लागि यहाँका प्राचीन  स्मारक, अवशेष, पुरातात्विक वस्तु, अशोक  स्तम्भ, मायादेवी मन्दिर, विभिन्न शिलापत्र, सङ्ग्राहलय, पोखरी, बिहार, गुम्बा, प्रार्थना क्षेत्र, शान्ति  स्तुप, शान्ति दीप, शान्ति घण्ट लगायतले गर्दा लुम्बिनीको महत्त्वलाई अझ बढाएको छ ।

यहाँ विभिन्न देशका निर्माण गरिएका केही स्मारक, गुम्बा, चैत्य, विहार आफुखुसी निर्माण भएको, विभिन्न देशबाट आउने पर्यटकले आफुखुसी आफ्नै देशको मोनाष्टी वरिपरि बस्दा बेलाबखत समस्या पर्नेगरेको स्थानीयहरू बताउँछन् । 

समग्र लुम्बिनी अञ्चलको आर्थिक एवं पर्यटन विकास लुम्बिनीको विकास अपरिहार्य छ । हाल आएर रूपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण कार्य अन्तिम चरणमा पुग्नु अर्को आर्थिक र पर्यटन विकासको आधार हो । यहाँबाट उडान सुरु भएपछि यस क्षेत्रको विदेशी निर्यातयोग्य वस्तु अदुवा कफी, जडीबुटी लगायतका वस्तुले विदेशी बजारमा आफ्नो राम्रो पहिचान पाउन सक्ने आशा गरिएको छ ।
तसर्थ विदेशीहरूको धार्मिक एवं पर्यटन केन्द्र बनिसकेको पवित्र बुद्ध जन्मभूमि लुम्बिनीको सरकारले यथासक्य छिटो गुरुयोजना पूरा गर्न जरुरी छ । यो क्षेत्र सबैको साझा फूलबारी हो । यो क्षेत्रको विकास भयो भने लुम्बिनीले मुलुककै आर्थिक, धार्मिक, कृषि र पर्यटन विकासमा निकै योगदान पु¥याउने आशा गर्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.