शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतको भवन निर्माण विवाद : सवा ५ अर्बको ठेक्कामा सेटिङको आशंका

मङ्गलबार, २७ माघ २०७७, २२ : २२
मङ्गलबार, २७ माघ २०७७

काठमाडौं । सर्वोच्च अदालतको भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया विवादित बनेको छ । सार्वजनिक खरिदसम्बन्धी कानुन विपरित प्रक्रिया अघि बढेको पाइएपछि सो ठेक्का प्रक्रिया विवादमा मुछिएको हो ।  अन्तर्राष्ट्रिय कम्पनीलाई एकल प्रतिस्पर्धा गर्नबाट वञ्चित गराइएको, ठेक्काको समयावधि कम भएको, संशोधनका लागि पनि पर्याप्त समय नदिइएको तथा खास ठेकेदार कम्पनी मात्रै योग्य हुनेगरी ठेक्काको पूर्वयोग्यता निर्धारण गरेको भन्दै यो ठेक्का प्रक्रियाको आलोचना भएको हो । 

के हो विवाद ? 
सर्वोच्च अदालतले पुस ६ गते नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । सो भवन निर्माणका लागि ५ अर्ब २२ करोड रुपैयाँको लागत अनुमान गरिएको थियो ।  सार्वजनिक खरिद नियमावलीको दफा ३१ (ङ) र (च) ले १ अर्बसम्मको ठेक्कालाई स्वदेशी निर्माण कम्पनी मात्रै प्रतिस्पर्धा गराएर गर्नुपर्ने व्यवस्था छ । १ देखि ५ अर्बसम्मको ठेक्काका लागि विदेशी कम्पनीले स्वदेशी कम्पनीसँग ज्वाइन्ट भेन्चर गर्नुपर्ने व्यवस्था गरिएको छ । सोभन्दा बढीको ठेक्काका लागि भने अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ । 

५ अर्ब २२ करोड लागत अनुमान गरिएको उक्त ठेक्काका लागि सिधै अन्तर्राष्ट्रिय बोलपत्रमा जानुपर्नेमा ज्वाइन्ट भेञ्चर भएका कम्पनीलाई मात्रै त्यसमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।  त्यस्तै, अन्तर्राष्ट्रिय ठेक्काका लागि कम्तिमा ४५ दिनको समय निर्धारण गरेर ठेक्का आह्वान गर्नुपर्ने सार्वजनिक खरिद ऐनले व्यवस्था गरेको छ । तर, यो ठेक्कामा राष्ट्रिय ठेक्कासरह ३० दिन मात्रै समयावधि दिइएको छ । यो कानुनविपरित भएको सरोकारवालाहरुले बताउँदै आएका छन् ।

त्यसो त, ठेक्कामा कुनै संशोधन गर्नुपर्ने भएमा त्यस्तो संशोधनपछि कम्तिमा ७ दिनको समय दिनुपर्ने व्यवस्था छ । तर, यो ठेक्का प्रक्रियामा संशोधनपछि १ दिनको मात्रै समय दिइएको छ । यो पनि प्रचलित कानुनी व्यवस्था विपरित भएको उनीहरुको आरोप छ । 

चार कम्पनी मात्रै योग्य !

त्यसो त, यो ठेक्काका लागि समय थप गर्न यसअघि नेपाल निर्माण व्यवसायी महासंघले सर्वोच्च अदालत प्रशासनलाई लिखित रुपमै पत्र पठाएको थियो । तर, सो मागको समेत सुनुवाई नगरी ठेक्का आवेदन लिन बन्द गरिएको छ । महासंघले यसको विरोध गरिरहेको छ । 

हालसम्म सो ठेक्काका लागि ४ वटा कम्पनीले मात्रै आवेदन दिएका छन् । विना पुरी कालिका समानान्तर जेभी, भ्याली कन्स्ट्रक्सन, हनुमान कन्स्ट्रक्सन, ओसिस ईन्जिनियरिङ एण्ड विल्डर्स गरी चार कम्पनीले मात्रै ठेक्का प्रक्रियामा सहभागिता जनाइएको छ । चारवटै कम्पनीले अन्तिम दिन आवेदन पेश गरेका थिए । 

कालिका समानान्तरमाथि चलखेलको आरोप

यो ठेक्का प्रक्रियालाई विवादित बनाउन कालिका समानान्तर जेभीका सञ्चालक अच्युत खरेलको मुख्य हात रहेको दाबी महासंघका पदाधिकारीहरु गर्दै आएका छन् । आफ्नो कम्पनीलाई महङ्गो मूल्यमा ठेक्का पार्न यो सेटिङ गरिएको उनीहरुको दाबी छ ।

ठेक्का प्रक्रियामा ४ कम्पनी सहभागी भए पनि लागत मूल्याँकनको आधारमा सोही कम्पनीले ठेक्का पाउने निश्चित भइसकेको उनीहरुको भनाई छ । अदालतका पहुँचवाला व्यक्तिसँग साँठगाँठ गरी ठेक्काको शर्तमा प्रभाव पारेको उनीहरुको आरोप छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप