बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा ‘जनगणतन्त्र’ अघि सार्दै साना कम्युनिस्ट

सोमबार, २६ माघ २०७७, १३ : १०
सोमबार, २६ माघ २०७७

काठमाडौं । वर्तमान संकटको समाधानसहित साना चार कम्युनिस्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन् ।  माघ २९ गते समाधानको सुत्रसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेको मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले जानकारी दिए । 

गजुरेलका अनुसार मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपालबीच बनेको रणनीतिक संयुक्त मोर्चाले अवधारणापत्र र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको हो । 

‘संसदमा भएका पार्टीहरुबीचको खिचातानी, कलहले अहिले मुलुकमा उत्पन्न भएको समस्याको समाधान कसरी गर्ने ? भन्नेमा विभिन्न धारहरु देखा परेका छन् । जस्तो कोही संसद पुनःस्थापना भन्छन्, कोही चुनाव । तर हाम्रो भनाई यी दुवै विकल्पले समस्या समाधान दिँदैैन’ नेता गजुरेलले भने, ‘यो व्यवस्थाकै असफलता हो ।’

उनले अब आफुहरुले विकल्प खोज्दा व्यवस्थाकै विकल्प खोज्ने पनि बताए । ‘अब विकल्प खोज्दा व्यवस्थाकै विकल्प खोज्नुपर्छ र समाधानका लागि बैकल्पिक शक्तिहरुलाई भूमिका दिनुपर्छ भन्ने हाम्रो भनाई हो’ गजुरेलको भनाई छ ।  उनले त्यसका लागि घोषणा गरिने संघर्षका कार्यक्रम जनआन्दोलन टाइपकै हुने पनि बताए । गजुरेलले संसद विघटन विरुद्ध नेकपा प्रचण्ड माधव पक्षले गर्ने भनेको आन्दोलनमा भने उनीहरुको कार्यगत एकता हुने सम्भावना नरहेको प्रस्ट पारे । ‘अहिलेसम्म उनीहरुसँग कार्यगत एकता हुने सम्भावना देखेको छैन । किनभने उनीहरुले पनि हामीसँग कार्यगत एकता गर्न चाहेजस्तो पनि देखिदैन । उहाँहरुले आन्दोलन भन्दा पनि शक्ति प्रदर्शन भनेर शव्दहरु प्रयोग गर्नुभएकाले पनि त्यो सम्भावना छैन’ नेता गजुरेलको भनाई छ ।

यो व्यवस्थाको विकल्प के हुनसक्छ भन्ने प्रश्नमा गजुरेलले भने, ‘हामीले भन्दै आएकै हौ, यो व्यवस्थाको विकल्प खोज्नुपर्छ । यो संघीय लोकतान्त्रिक व्यवस्थाले मात्रै हुँदैन भनेर हामीले पहिले नै भन्दै आएका हौ । त्यसकारण गणतन्त्रबाटै खोजिनुपर्छ र त्यो विकल्प भनेको जनगणतन्त्र नै हो’ गजुरेलको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप