आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजकिशोर दिल्ली उडे

सोमबार, २६ माघ २०७७, १२ : ०५
सोमबार, २६ माघ २०७७

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव सोमबार दिल्ली प्रस्थान गरेका छन् । अध्यक्ष ठाकुर भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्ली उडेका हुन् भने कार्यकारिणी सदस्य यादव काठमाडौंबाट सिधै दिल्ली उडेका हुन् । 

 देशमा राजनीतिक संक्रमण बढिरहेको बेला जसपा नेपालका दुईजना नेता दिल्ली जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । तर उनीहरु निकट नेताहरुले भ्रमण राजनीति नभएर व्यक्तिगत तथा परिवारिक रहेका दावी गरेका छन् । अध्यक्ष ठाकुर नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएको र कार्यकारिणी सदस्य यादवको पनि व्यक्तिगत भ्रमण रहेको उनीहरुको निकट स्रोतको दावी छ।  

जसपा नेपालका नेता डा.सुरेन्द्र झाले भने, ‘अध्यक्ष ठाकुरको मुटुमा पेस मेकर लगाइएको छ, चार पाँच महिनाअघि नै त्यसको नियमित जाँचका लागि दिल्ली जानुपर्ने थियो । तर कोरोनाका कारण जानसक्नु भएन, चार महिनाअघि नर्भिकमा देखाउनु भएको थियो अहिले पुनः त्यसैको चेकअपका लागि उहाँ दिल्ली जानु भएको हो ।’ दिल्ली जानु अध्यक्ष ठाकुरको कुनै राजनीतिक उद्देश्य नरहेको उनले दावी गरे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभिन्न पक्षले आन्दोलन गरिरहेका छन् ।  देशको राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरु नजिकबाट नियालिरहेको छ । त्यसमा पनि भारत र चीनले छिमेकी देश भएको नाताले नेपालको राजनीतिलाई गम्भीरतापूर्वक हेरेका छन् । 

संसद विघटनको बारेमा दुवै देशले आफ्नो कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपी ती देशले देखाएका विभिन्न संकेतले चीन संसद् विघटनको विपक्षमा र भारत संसद् विघटनको पक्षमा देखिएको टिकाटिप्पणी भइहरेको छ । 

उसो त जसपा नेपालमा पनि चुनाव कि पुनःस्थापना भन्नेमा दुई धार देखिएको छ ।  जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संसद पुनःस्थापना कुनै पनि हालतमा हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् भने अध्यक्ष ठाकुर पक्षधर नेताहरुले संसद पुनःस्थापनाले मात्र समस्या समाधान नहुने भएकाले चुनावको तयारी पनि गर्नुपर्ने भनेका छन् । जसपा नेपालका अध्यक्ष ठाकुर पक्षका नेताहरु सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने पक्षमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप