ईरानमाथि लगाइएको प्रतिबन्ध तत्काल हट्दैनः बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् । सीबीइस न्युजका लागि दिइएको अन्तरवार्तामा बोल्दै राष्ट्रपति बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध नहटाइने बताएका हुन् ।
अन्तरवार्तामा बाइडेनलाई अमेरिकाले वार्ताका लागि ईरानलाई तयार पार्न प्रतिबन्ध हटाउँछ कि हटाउँदैन ? भन्ने प्रश्न सोधिँदा त्यसको जवाफमा बाइडेनले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका छन् । यद्यपि, अमेरिकाले आणविक सम्झौताको पुनः कार्यान्वयन गर्न इरानमाथि दबाब दिइराख्ने तयारी गरेको छ ।
सन् २०१५ मा संयुक्त राज्य अमेरिका लगायतका मुलुकहरुले ईरानसँग आणविक सम्झौता गरेका थिए । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले त्यसलाई एकतर्फी रुपमा तोडेको थियो । अमेरिकाले एकतर्फी रुपमा सम्झौता तोडेर आर्थिक नाकाबन्दी घोषणा गरेपछि ती दुई मुलुकबीचको सम्बन्ध राम्रो छैन ।