के दलहरुले अवसान कै बाटो रोजेका हुन् ?

person explore access_timeमाघ २५, २०७७ chat_bubble_outline0

 

 

सन २०२१ को आगमनसँगै  नेपाललाई एउटा नराम्रो सौगात प्राप्त भयो। राजधानी काठमाडौं विश्वकै अग्रणी प्रदूषित शहर बन्यौ।

पत्रपत्रिकाका लागि गज्जबको ‘स्कूप’ भयो, सबैले समाचार प्रमुखताका साथ प्रकाशित गरेर आफ्नो धर्म -दायित्व निर्वहन गर्नुका साथै व्यावसायिक लक्ष्य परिपूर्ति गरे। 

सम्बन्धित सरकारी निकायले विज्ञप्ति प्रकाशन गरी सर्वसाधारणलाई बाहिर ननिस्किन; घरभित्रै  थुनिएर बस्ने फर्मान सुनाई आफ्नो कर्तव्य पालन गरे।

कुरा आयो, गयो।  योभन्दा बढी कसैलाई केही चासो पनि भएन, मतलब पनि भएन। देशमा यस्ता कुरा कति आए, आए ! मेलम्चीकै कुरा वर्षौंवर्षदेखि लम्बित रहँदै आएको पृष्ठभूमिमा  जाबो काठमाडौंको हावामा बढेको धूलो लगायत  विभिन्न 'ग्रीन हाउस ग्यास'को मात्राबारे कसले सोचिबस्ने ?

देशमा अरु कति  समस्या छन् ! पर्यावरणबारे सोचेर समय खेर फाल्न हुन्छ ? सरकारको  ध्यान कस्ता ठूलाठूला समस्या समाधानमा केन्द्रित छ, यो जाबो धूलो नियन्त्रण गर्ने काममा फुर्सद भइरहन्छ र सरकारलाई !

न मिडिया, न नागरिक भनाउँदो समाज, न विपक्षी दल, न सत्तापक्ष कै विभिन्न घटक, न विभिन्न आवरणमा देखापरेका तथानामका तथाकथित अभियन्ता– कसैलाई पनि  चासो भएन - 'हरे ! के भएको यो, होइन: हाम्रो त आर्थिक गतिविधिकै एउटा ठूलो आधार हो  पर्यटन, राजधानीकै यस्तो बदख्वाई हुँदा कतै यो उद्योग नै चौपट त हुने होइन ? 

चौपटले सम्झना आयो।  हाम्रा नेताज्यूहरुले चौपटको अर्थ र आशय अन्य नेपालीका झैँ सीमित भएको आशयमा बुझ्नु हुन्न।  उहाँहरुका लागि चौपटको एउटा अर्को अर्थ र आशय चार पट भएको सिंहदरबारका साथै त्यहाँ रहेको एउटा चतुष्पदीय कुर्सी पनि हुन्छ।

चौपटको यही अर्थ ठम्याएर नेताज्यूहरु आफ्नो चौपट अवस्था सुधार्न चौपट सिंहदरबार र त्यहाँ रहेको एउटा चतुष्पदीय अर्थात चार पाद भएको कुर्सी हत्याउने प्रपञ्चमा   होम्मिनु भएको छ।

उहाँहरुलाई न कोरोनाको भय छ, न पर्यावरण प्रदुषणकै चिन्ता छ।  चिन्ता र चिन्तन उहाँहरुसंग नभएको  होइन।  कुनै पनि सर्वसाधारण नेपालीको दुई छाकको जोहो गर्नेभन्दा पनि उहाँहरुको चिन्ता र चिन्तन जटिल छ, गंभीर छ ।  हो, त्यसको केन्द्रबिन्दु भने चौपटकै वरिपरि    रहिआएको छ ।  वर्तमानमा पनि उहाँहरुको पुरुषार्थ यसै दिशामा निवेश भई रहेको छ। 

के सत्तापक्ष, के विभाजित हुन पुगेको सत्तापक्ष, के प्रमुख प्रतिपक्ष, के अन्य विपक्षी दल, के नागरिक समाजको बुइ चढेर प्रसिद्धिको अट्टालिका आरोहण गर्ने मनशायमा रहेका मौसमी / बेमौसमी अभियन्ता! (अग्निहन्ता )  सबै अतिशय चिन्ता लिएर सड़कगामी बनेका छन्।               

यी सबै वर्गसंग एउटा ज्वलन्त प्रश्न छ, कथम कदाचित विदेशका भाँति नेपालमा कोरोनाको नया 'स्ट्रेन'को घातकता भित्रियो भने त्यसको उत्तरदायित्व बोक्न को अग्रसर हुने ? अथवा २२ गतेको नेपालबन्दमा जलाइएको ट्याक्सीको दोषारोपण झैँ एक अर्कालाई दोषी ठहराउने नाटक मन्चित हुन्छ ! प्रश्न गगन थापा, नारायण वाग्ले, रवीन्द्र मिश्रलाई पनि हो। तपाईंहरुबाट कुनै उत्तर नआए पनि उत्तरको अपेक्षा राख्ने मेरो एकहोरो नैसर्गिक अधिकार मसँग छ, होइन र ?

सत्तापक्षले शक्तिको उन्माद प्रदर्शन गर्ने क्रममा हज्जारौं हजार मोटरसाइकलको र्‍याली आयोजना गर्छ। अनाहकमा प्रज्वलित भएको त्यस पेट्रोलबाट कति कार्बन उत्सर्जन भयो ? शहरको वातावरणमा कति  प्रदुषण  वृद्धि भयो ? तपाईंहरुसंग यस विषयक जानकारी नभए आफु अधीनका मन्त्रालयबाट विज्ञ झिकाई बुझे हुन्छ।

२२ गते आह्वान  गरिएको आम हडतालको पुर्व सन्ध्यामा सम्बन्धित दलको अगुवाईमा देशभरि नै मशाल जुलुस / राँके जुलुस निकालिए।  यसबाट कति  मात्रामा कार्बन लगायतका विभिन्न हानिकारक 'ग्रीनहाउस ग्यास' उत्सर्जित भए ? पर्यावरण प्रदुषणमा यी विषाक्त ग्याँसले कतिसम्म प्रतिकूल असर पारे, त्यसको अनुमान वा लेखाजोखा गर्ने क्षमता तपाईंहरुसंग नहुन सक्छ।  सत्तापक्ष जस्तै विज्ञ डाकी बुझ्ने सुलभता पनि तपाईंहरुसंग नहुन सक्छ।  केही छैन, यसै लेखकलाई 'मेल'मा  सम्पर्क गरी यसबारे छर्लङ्ग हुने गरी बुझ्न  सकिन्छ।

सत्ताका लागि लडाइँ हुनु, संघर्ष गर्नु, विरोध गर्नु, जनाधार निर्माण हेतु प्रयास गर्नु, आफ्ना भनाइ र विचार सर्वसाधारणसम्म पुर्याउन अनेक उपाय गर्नु तपाईंहरुको मौलिक अधिकार हो।  यसमा रोक लगाइएको छैन, कसैले रोक लाउने अभिप्राय पनि व्यक्त गरेको छैन।

के ठान्नु हुन्छ तपाईंहरु, जनता अझै पनि मुर्ख छन् ! तपाईंले साम-दाम-दण्ड-भेद गरी एकत्र गरेको केही हजारको जमघटले तपाईंका पक्षमा लहर आउँछ, जनताको व्यापक समर्थन  ओइरिन्छ तपाईंको पक्षमा ? श्रीमानहरु 'मुंगेरीलाल के हसीन सपने'बाट ब्युँझनुस्।  तपाईंले मुर्ख ठानेको जनता 'इ' (e) र 'आई' (i ) युगको उपभोक्ता हो, 'कसलाई कुन बेला कसरी र कति उपभोग गर्नु पर्छ'  तपाईंहरु समक्ष खेदपुर्वक भन्न विवश छु - 'ए बाबू, ऐ पब्लिक है ऐ सब जानती है।'

आम हडताल गरेर, बन्द गरेर, शहरको प्रमुख  मार्गमा आमसभा गरेर,  फिजूलको शक्ति प्रदर्शन गरेर मात्र र मात्र आलोचित मात्र हुइन्छ नेताज्यु।  सबलाई थाहा छ, तपाईंहरुबाट  हुने यस्ता शक्ति प्रदर्शनमा के कति प्रपञ्च गरिएका हुन्छन्।

सारा राजनीतिक दलको हविगत उस्तै छ।  नेपाली कांग्रेसको अवस्था झन दयनीय छ।  आफ्नो प्रमुख राजनीतिक प्रतिष्पर्धीमा आएको विभाजनले पनि उसमा कुनै उत्साह संचारित भएको देखिन्न। कुर्सीको अवसरवादिताबाहेक यस दलसंग न कुनै 'भिजन' छ, न कुनै स्पष्ट नीति, व्यक्तिबारे त कुरा नै नगरे हुन्छ। कुनै 'रोड म्याप' नभएको निरीह दल बनेको छ नेपाली कांग्रेस। नेपालका अन्य दलबारे कुरा गर्नु, कुनै प्रकारको चर्चा गर्नु समय र श्रमको बर्बादी मात्रै हो। 

राजनीतिक दलको विफलताले व्यवस्था जर्जरित भई ढल्ने  संघारमा आइपुगेको छ, यसको स्पष्ट आभास नेताहरुलाई नभएको होइन।  तर यो बुझ्दा बुझ्दै पनि समाधानको उपाय खोज्नु सट्टा उनीहरु  एक अर्कालाई दोषारोपण गर्नमै व्यस्त छन्। शायद उनीहरुसंग यस बाहेकको  अर्को कुनै अभ्यास नै छैन।  उनीहरु जे कुराका अभ्यस्त छन्, त्यसै गतिविधिमा व्यस्त छन्।

नेपालका राजनीतिक दलका शीर्ष पंक्तिका अनुहार- चरित्र र गतिविधि हेर्दा प्रतीत हुन्छ, आफ्नो करनीका फलस्वरुप नियतिबाट ठेलिदै र भ्रमित हुँदै उहाँहरु आफ्नो अवसान यात्रातिर लम्की राख्नुभएको छ।

प्रतीत हुन्छ नेपाल एकपटक  पुनः परिवर्तनको दिशामा उन्मुख भएको छ।  गजब त के छ भने देश यसपटक परिवर्तनको मार्गमा कुनै स्वनामधन्य क्रान्तिकारी / परिवर्तनकारी शक्तिको साहसिक नेतृत्व र अदम्य साहसले होइन, वरन् सक्रिय रहेका दलहरुको विफलतास्वरुप अग्रसर हुन गई रहेको छ। कदाचित देशमा कुनै चमत्कारिक परिवर्तन हुन्छ भने त्यसको एकमात्र श्रेय विभिन्न आन्दोलनपछि अस्तित्वमा आएका विभिन्न दल, तिनका नीति, राज्य सञ्चालनको स्वरुप र यसका प्रक्रिया एवं अवयवको पूर्ण विफलता एवं निकम्मापनलाई जान्छ। जनता त फेसबुक र ट्विटरमा आनन्दका साथ लेखी रमाउछ - कोउ  नृप होइ हमहि का हानि !

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।