ad
केन्द्रीय संस्करण

जनताले खोजेको भरोसा र काँग्रेस

person explore access_timeमाघ २५, २०७७ chat_bubble_outline0

 

२०४७ सालको नेपालको संविधानमा भएको व्यवस्थालाई भत्काएर राजा ज्ञानेन्द्रले २०५९ साल असोज १८ गते निरङ्कुशताको बाटो समाएपछि नेपाली काँग्रेसभित्र दुईथरि मत एकैसाथ प्रकट हुन थाले । एउटा– राजाले खोसेको अधिकार फिर्ता गर्न तत्काल आन्दोलन थाल्ने र अर्को– केही समय हेर्ने वा राजासँग सम्पर्क सूत्र स्थापित गरेर कुराकानी बाटोमार्फत समस्या समाधान गर्ने । लामो सङ्घर्षबाट आएको राजनीतिक दलका लागि कुराकानी या खुसामदको बाटो हितकर पटक्कै थिएन । त्यसैले तत्कालीन काँग्रेस सभापतिले आन्दोलनको बाटो समात्नुभयो । सँगसँगै संवादको ढोका पनि खुला राख्नुभयो । यो निकै बुद्धिमत्तापूर्ण निर्णय र कदम थियो । एउटा प्रजातान्त्रिक राजनीतिक दल र त्यसका नेताले समयको आवश्यकताअनुरूप उपयुक्त अग्रसरता लिन्छ । त्यतिबेला कोइरालाले लिनुभएको निर्णय सही र ऐतिहासिक सावित भयो । पुगनपुग चार वर्षको निरन्तर आन्दोलनको परिणाममा संसद पुनस्र्थापना भयो र नेपालको राजनीतिमा नयाँ अध्याय प्रारम्भ भयो ।

बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर २०३३ सालमा लामो भारत प्रवासलाई परित्याग गरी नेपाल फर्कंदा उहाँले सार्वजनिक गर्नुभएका विचारले नेपालको राजनीतिक इतिहासमा नयाँ तरङ्ग पैदा ग¥यो । उहाँले त्यतिबेला दक्षिण एसिया विश्व महाशक्ति राष्ट्रहरूको क्रीडा स्थल भएको कुरा औँल्याउनु भएको थियो । त्यसको सीधा असर नेपालमा परिरहेको थियो । साथै नेपालले यस वास्तविकतालाई नबुझ्ने हो भने निकट भविष्यमा गम्भीर मूल्य चुकाउनुपर्ने कुरा स्पष्ट पार्नुभएको थियो । यो विषयको चर्चा किन गरिएको हो भने यतिबेला नेपालले जस्तो राजनीति झेलिरहेको छ, त्यसको परिणाम भयावह र कहालीलाग्दो हुने खतरा बढिरहेको छ । नेपाल अहिले सोझै विश्व महाशक्ति राष्ट्रहरूको क्रीडास्थल भएको छ । एक त सीमा जोडिएका दुई ठूला छिमेकीको नेपालको घरेलु मामलामा गम्भीर चासो देखिन्छ भने अर्काे विश्व महाशक्ति अमेरिका नेपाललाई अरू शक्तिको खेलमैदान हुन नदिने रणनीतिमा प्रष्ट छ । यी सबै घटनाक्रमबाट बिल्कुलै अलग र निरपेक्ष जस्तो हुँदा नेपालका राजनीतिक दलहरूमध्ये नेकपाभित्रको कलह चर्किएर प्रतिनिधि सभाको अवसान गराउने प्रयत्न भएको छ । यसको बहुआयामिक प्रभाव सर्वत्र परेको छ ।

आफ्नो देशको अस्मितामाथि सङ्कट आएको महसुस गर्नासाथ बीपीले नेपाल फर्कने निधो गर्नुभयो । साँच्चै भन्ने हो भने त्यही कदमले नेपालको स्वतन्त्रता, स्वाभिमान, सार्वभौमसत्ता र स्वाधीनताको रक्षा ग¥यो । नत्र नेपाल नरहन पनि सक्थ्यो । आज पनि शक्ति सम्पन्न राष्ट्रहरूको नेपालमाथि थिचोमिचो उस्तै छ । अहिले देश कुन मोडमा छ ? देशको मूल खतरा के हो ? कसले बुझेको छ ? यो विषयमा सोच्नु, विमर्श गर्नु र कदम चाल्नु हरेक राजनीतिक दलको दायित्व र कर्तव्य दुवै हो । त्यसमाथि नेपाली काँग्रेसमाथि सबैभन्दा ज्यादा अभिभारा छ र इतिहासले फेरि नेपाली काँग्रेसलाई एउटा सुनौलो अवसरका सामु उभ्याइदिएको छ । सबै नेपाली जनताको दृष्टि काँग्रेसका गतिविधितर्फ छ । प्रधानमन्त्री ओलीले समाजको विधि र व्यवस्थालाई तहसनहस बनाएका छन् । आफू जित्ने पक्का नभई उनी चुनाव गराउन चाहँदैनन् । संविधानको हुर्मत लिएर अदालतलाई तर्साउँदै हिँडेका छन् । अहिले उनको सोझो निसाना प्रचण्ड–माधव समूह हो भने अर्काे निशाना काँग्रेस हो । ओलीलाई राम्रोसँग थाहा छ, आगामी चुनाव आफ्ना लागि फलामको चिउरा हो । यसलाई अनुकुलतामा बदल्न काँग्रेस सिध्याउनुपर्छ । यसैका लागि उनले चुनावको बल्छी थापेका हुन् । यो चारो मुख्य विपक्षी दलका लागि प्रमुख अस्त्र हो । अर्काे कुरा, दशकौँदेखि सहकार्य गरेका आफ्नै दलका सहकर्मी समेतलाई नछाड्ने ओलीले काँग्रेसलाई मलजल गर्लान् भन्ने कुरा नसोचे पनि हुन्छ । ओलीको राजनीतिक शब्दकोशमा यो शब्दावली नै छैन । अनि काँग्रेस अल्मलिने किन ? यसको स्पष्ट आभास आउन अब के बाँकी छ र ? काँग्रेस महाधिवेशनको आन्तरिक चुनौतीसमेत झेलिरहेको छ । यो कुरा ओलीलाई भलिभाँती छ । यस चुनौतीबाट काँग्रेस उम्किन नसकोस् भन्ने ओलीको कुटील रणनीतिसमेत हुनसक्छ । यसको हेक्का काँग्रेसले राख्नुपर्छ कि पर्दैन ?

घाम जत्तिकै छर्लङ्ग एउटा सत्य कुरा के हो भने केपी ओलीलाई यथेष्ट बहुमत पु¥याएर दुवैपटक प्रधानमन्त्री बनाइदिने प्रचण्ड नै हुन् । प्रचण्डलाई एक पटक प्रधानमन्त्री बनाउने माधव नेपाल हुन् भने अर्काे पटक प्रधानमन्त्री बनाउने काँग्रेस हो । नत्र नेपालको इतिहासमा केपी ओली प्रधानमन्त्री बन्ने नै थिएनन् । आफूलाई दुई–दुई चोटि प्रधानमन्त्री बनाउने प्रचण्ड र माधव नेपाललाई नछाड्ने ओलीले काँग्रेसलाई छाड्लान् भनेर विश्वास गर्ने आधार के ? त्यसैले केपीको राजनीतिक विज्ञान कसैसँग मिल्दैन भन्ने कुरा छर्लङ्ग छ । उनी नेपालको राजनीतिलाई आफ्नो मुठ्ठीमा लिन चाहन्छन् । लोकतन्त्रको नक्कली राग अलापेर जनतालाई गुमराहमा राखेर सत्तामा ढलिमली गर्न चाहन्छन् । कुनै पनि बेला आफूलाई फाल्न सक्ने प्रतिनिधि सभा मासेर आफू सुरक्षित बन्न चाहन्छन् । यति खुला सत्य सजिलोसँग थाहा पाउन सकिन्छ ।

दुनियाँको कुनै लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीले अन्य राजनीतिक दलका नेतालाई, नागरिक समाजलाई र आफ्नाविरुद्ध बोल्ने जोकसैलाई पनि यसरी निम्न स्तरको गाली गर्दैन । बरु आफ्नो कमजोरी कहाँ भयो औँल्याइदिन आग्रह गर्दछ । लोकतन्त्र भनेको शिष्ट र विनम्र प्रणाली हो । यसले अहङ्कारलाई बर्जित गर्छ । फेरि यो साझा प्रणाली पनि हो । कसैको निजी वर्चस्व र प्रभुत्व वा आधिपत्यको कुनै स्थान हुँदैन । लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री या प्रमुख कार्यकारीले जनतालाई धेरै उपदेश पनि दिँदैन । बरु जनताको बारम्बार मार्गदर्शन खोज्छ । संविधान र कानुनको पालना गर्छ र सबै नागरिकलाई विधिसम्मत बाटोमा हिँड्न आग्रह गर्छ । के हाम्रा प्रधानमन्त्री यो बाटोमा छन् त ? त्यसैले हामी सबैले बेलैमा प्रधानमन्त्री ओलीको अभिष्टलाई बुझेर आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

यो अवस्थामा सबैभन्दा गम्भीर बन्नुपर्ने दल नेपाली काँग्रेस नै हो । लोकतन्त्र हामी सबैको जीवन पद्धति हो । यसलाई कमजोर पार्ने वा मास्ने प्रयास हाम्रा लागि सह्य हँुदैन । संसारमा निर्विकल्प ठानिएको लोकतन्त्रको नेपाली आकाश आज असुरक्षित छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा समेत कम्युनिस्ट वर्चस्व छ । यस्तो बेलामा जनता र लोकतान्त्रिक जनमतले काँग्रेसको ढाडस खोजेको छ । अहिले जनताको मनोविज्ञान निकै त्रसित हुँदै गएको र नेपाली समाजले भरोसा खोजेको छ । यस्तो परिस्थितिमा काँग्रेसले सबै नेपालीको भरथेग गर्न सक्नुपर्छ । इतिहासले के प्रमाणित गरिसक्यो भने लोकतन्त्रका विश्वव्यापी मान्यताको प्रतिकूल हिँड्ने शक्ति, व्यक्ति वा राजनीतिक दलको कुनै भविष्य छैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.