शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘अब कोही बेरोजगार र भोकै बस्नु पर्दैन’

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ
आइतबार, २५ माघ २०७७, ०९ : ५१
आइतबार, २५ माघ २०७७

महालक्ष्मी नगरपालिका ललितपुरको नयाँ नगरपालिका हो । यस नगरपालिकाले भौतिक पूर्वाधार विकासमा तिव्रता दिएको छ भने नगरभित्रको बेरोजगारदर अन्त्य गर्न विभिन्न खालका उद्यमशील योजना ल्याएको छ । यता कोही भोकै नरहुन् भन्ने नारा सार्थक पार्न श्रमसँग खाद्यान्न कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । स्वास्थ्य, शिक्षा, रोजगार र भौतिक पूर्वाधार विकासको लागि आक्रामक  देखिएको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठसँग रातोपाटीका लागि एलिजा उप्रेतीले नगरपालिकाको गतिविधिका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको अंश :

तपाईं महालक्ष्मी नगरपालिकाको मेयर भएर आएको लगभग साढे तीन वर्ष भएको छ, यस अवधिमा तपाईंले के–के गर्नुभयो जुन यस अघि भएको थिएन । मेयरको रुपमा आफ्नो मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

म महालक्ष्मी नगरपालिकामा निर्वाचित भएर आएको साढे तीन वर्ष पुरा भएको छ । तत्कालिन अवस्थामा नेकपाबाट निर्वाचित भएपनि अहिले म समग्र नगरबासीको मेयर हो । निर्वाचमा गरिएका प्रतिबद्धता पुरा गर्ने क्रममा छौँ । र, निर्वाचित भएपछि सबैभन्दा पहिला अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना निर्माण गरेर अघि बढेका थियौँ । यो नयाँ बनेको नगरपालिका हो । जुन पूर्वाधारविहीन छ जसले स्वच्छ, सफा, समृद्ध महालक्ष्मी नगर भनेर नारा तय गर्यो । यो लक्ष्य हासिल गर्न मानव संशाधन विकास गर्नुपर्ने र नगरको पूर्वाधार विकासको लागि पनि काम गर्नुपर्ने नारा राख्यौ । म आउनु अघि यातायातको समस्या थियो ।  साँझ पाँच बजेपछि लुभु, लामाटार, टीकाथली जान समस्या थियो । सार्वजनिक यातायातको पहुँच नगरपालिका भित्र सबै ठाउँमा पुर्यायौँ । साझा यातायात, अन्य सार्वजनिक यातायातसँग नेगोसियट गरेर रत्नपार्क, कलङ्की, बुढानिलकण्ठ सबै ठाउँमा यातायातको पहुच पुर्यायौँ ।

अर्को शिक्षा र स्वास्थ्यमा सुधार गर्नुपर्छ भनेर दीर्घकालिन भिजन बनाएर अघि बढायौ । नगरपालिकाको हरेक स्वास्थ्य चौकीको स्तरोन्नती गर्यौँ । शिक्षामा कक्षा १ देखि १० सम्मको प्राक्टिकल म्यानुअल गाइड बनायौँ । शिक्षाको असमानता हटाउन खोजेका छौँ । निजी, सामुदायिक र गुठीका विद्यालयलाई एकेडेमिक क्यालेन्डर नै बनाएर चार वटा परिक्षा लिनु पर्ने व्यवस्था गर्यौँ ।

विदेश पलायन हुने शिक्षालाई बहिष्कार गर्दै गरिखाने शिक्षा हुनुपर्छ भनेर पाँच वटा विद्यालयमा प्राविधिक शिक्षा ल्याइसक्यौँ । नगरपालिकाको आफ्नै लगानीमा पनि महालक्ष्मी बहुउदेश्यीय प्राविधिक शिक्षालय खोलेको छ । यो सैक्षिक सत्रदेखि शूरु भएको छ । रोजगारी र उद्यमी बनाउने शिक्षामा हाम्रो जोड हो । असहाय, बृद्ध नागरिक जसको कोही छैन । उनीहरुको उपचार घरमै गएर गरिरहेका छौ ।

ज्येष्ठ नागरिक र असहायले घरमै उपचार पाउँछन् भनेर उनीहरुले कसरी थाहा पाउने ?

हाम्रो वडामा जनप्रतिनिधि छन् । जे समस्या परेपनि अहिले स्थानीयले जनप्रतिनिधिलाई भन्छन् । अहिले वडाबाट जानकारी आउँछ । यदि घरमा गएर उपचार सम्भव नभए किस्ट अस्पतालमा उपचारको व्यवस्था मिलाइदिएका छौँ र किष्टमा नगरपालिकाको नागरिकलाई १५ प्रतिशत छुटको व्यवस्था पनि मिलाएका छौँ । दीर्घरोग लागेको ज्येष्ठ नागरिकलाई स्थानीय स्रोत परिचालन गरेर सात हजार रुपैयाँ दिन्छौँ । उपचार गर्न जानलाई यातायात खर्च भनेर दिइन्छ यो एकपटक मात्र पाउँछ । सामाजिक सुरक्षा भत्तापनि चौमासिकमा पाँच सय रुपैयाँ थपेर दिने गरेका छौ । औषधिको सर्टेज नहुने व्यवस्था गरेको छु ।

 पूर्वाधार विकासको प्रगति के कति भएको छ ?

शिक्षा, स्वास्थ्य जे भनेपनि देखिने विकास भनेको फेरि पनि पूर्वाधार नै हो । पूर्वाधारमा विनियोजित बजेटको ८० प्रतिशत खर्च गर्छौँ । किनभने यो नयाँ बनेको नगरपालिका हो । यहाँ सबै चिज लगभग शुन्य अवस्थामा थिए । अहिले हरेक वडामा बाटो विस्तार तीब्र गतिले भएको छ । ६ महिनामा ४० प्रतिशत खर्च भएको छ । अब कामको लोड बढ्दै जानेछ । धेरै ठूला योजना टेण्डरमा गएका छन् । अझ केही डेन्डरमा जाने प्रक्रियामा छन् ।

नगरपालिकालाई समृद्ध बनाउने कस्ता कस्ता योजना प्रक्रियामा छन् ?

जहाँ बाटो हुन्छ त्यहाँ बस्ती र बजार विकास हुन्छ । यसले व्यापार व्यवसाय बढ्छ । नगरपालिकामा  आर्थिक उपार्जन भएपछि  मानिसको समृद्ध हुन्छ । यो कामलाई जोड दिएका छौँ । एक करोडदेखि दुई करोडसम्मको योजना लगभग टेन्डरमा गइसकेका छन् । सबैभन्दा ठूलो सडकको १० करोडको योजना ठेक्कामा जाने प्रक्रियामा छ । हरेक वडाका एक–एक योजना ठेक्कामा गइसकेको छ । अरु योजना पाइपलाइनमा छन् । अर्को समृद्धिको योजना भनेको नगर प्रमुख उद्यमशीलता कार्यक्रम हो । यसले विशेष गरी विदेशबाट फर्केका युवायुवतीहरुमा आर्थिक उपार्जनका लागि ५० लाख रुपैयाँ विउ पूँजीको रुपमा छुट्याएको छ ।  विशेषज्ञ ल्याएर तालिम दिन्छौँ ।

नगरप्रमुख उद्यमशीलता कार्यक्रम मार्फत कहिलेबाट युवाहरु उद्यमशील बन्नेछन् ?

यसको एक चरणको तालिम सम्पन्न भएको छ । अब उहाँहरुको व्यावायिक प्रस्तावअनुसार विज्ञ व्यक्ति ल्याएर कसरी सिकाउने र उहाँहरुलाई आवश्यक विउ पुँजी कति हो भनेर अनुसन्धान गर्न लगाउँछौ । वाणिज्य बैङ्कसँग पनि सरल कर्जाका लागि सम्झौता गरेका छौँ । पहिलो पाटो सकिएको छ अब कार्यान्वयनको चरणमा छ । वाणिज्य बैङ्कको सरल प्रकृतिको कर्जा एक लाखदेखि १५ लाख सम्म छ । नगरपालिकाको उद्यमशीलमा न्युनतम २ देखि ५ लाख रुपैयाँसम्म दिन्छौँ । व्यक्तिगत आउनेभन्दा समुह बनाएर आउनेलाई प्राथमिकता दिन्छौँ । यसमा विशेषगरी रोजगारी सृजना गर्ने नगरभित्रकै उद्यमी बन्न चाहनेहरुले पाउँनेछन् । सबै खालका उद्यमहरुलाई कर्जा  दिनेछौँ । अब ८८ जना यो वर्ष उद्यमी बन्नेछन् ।

नगरभित्रकै कोही उद्यमी बन्न चाहन्छन् भने तपाईंहरुको योजनामा सहभागी हुन कसरी आउने ? प्रक्रिया बताइदिनुस् न ।

हामी एकदम पारदर्शी रुपले कर्जा प्रवाह गर्छौ ।  सूचना निकाल्छौ जुन वडामा थाहा हुन्छ । नगरपालिकाको फेसबुक पेजमा पनि राखिएको हुन्छ । सबैभन्दा पहिला उनीहरुको आवेदन लिन्छौँ । उहाँँहरुले गर्न चाहेको व्यवसाय के हो त्यो हेरेर ओरियन्टेसन दिनेछौँ ।

नगरप्रमुख युवा उद्यमशीलता निव्र्याजी छ । यदि ऋण तिरेनन् भने के हुन्छ ?

बैङ्कलाई तिर्ने सेवा शुल्क (१ प्रतिशत) नगरपालिकाले तिर्ने भएकाले ५० लाख विऊ पुँजीबाट पाउने पैसा दिने बेला नै सम्झौता गर्छौ । पैसा तिरेन भने नगरपालिकाले दिने सम्पूर्ण सेवा सुविधाहरु बन्द गरेर जरिवाना तिराउन सक्छौँ भनेर सम्झौताकै बखत भनेका हुन्छौँ । यसले पुँजी फिर्ता हुनेमा सुनिश्चित भयो । हामीसँग श्रमिक बैंक छ त्यही डाटाबाट बेरोजगार व्यक्तिबाट लिनुपर्छ भनेका छौ ।  अहिलेसम्म सबै खालको बेरोजगारहरु २ हजारको हाराहारीमा छ ।

लकडाउनको बेला श्रम बैङ्कमार्फत श्रमसँग खाद्यान्न कार्यक्रम शुरु गरिएको थियो, त्यसको निरन्तरता कहिलेसम्म हो ?

श्रमसँग खाद्यान्न कार्यक्रम अन्र्तगत अहिले पनि निरन्तर विभिन्न व्यक्तिहरु जोडिरहेका छन् । उहाँहरु अहिले पनि खान पाइन म काम गर्छु भनेर आउनुभयो भने काम दिन्छौँ । दुई दिन काम गर्दा ३० केजीको एक बोरा चामल दिन्छौ । र, जसलाई औषधी खानुपर्छ भने वडाबाट सिफारिस भएर आयो भने नगद पनि दिन्छौँ । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती, अपांगलाई मात्र काम लगाउँदैनौ । खानै नपाएको खबर आयो भने २ घण्टाभित्र चामल पुर्याइदिन्छौँ । श्रम बैङ्कमा अनौपचारिक क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई प्रधानमन्त्री रोगजार कार्यक्रम अन्र्तगत पनि काम लगाउँदछौ ।  हामी खर्चको लागि खर्च गर्दैनौँ । गत साल प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको केही रकम फिर्ता पठायौँ । कुलो खन्ने, बाटोको डेन खन्न लगायौँ । यो वर्ष पनि देखिने गरी काम गर्छौँ । गतवर्ष एक सयले रोजगार पाएका थिए । यो कार्यक्रम शहर उन्मुख क्षेत्रमा प्रभावकारी देखिदैन ।

भौतिक पूर्वाधारअन्र्तगत सडकमा बढी फोकस नगरपालिकाले गर्छ भन्नु भएको थियो । बाटो त पुग्ला तर हिलो धुलोमुक्त चाहिँ कहिले होला ? किनभने तपाईंहरुले परिकल्पना गरेको स्वच्छ नगरलाई हिलो धुलो बाटोले प्रभावित पर्ला नि ?

हो, एकदमै प्रभाव पार्छ । त्यसकारण यो वर्ष १५ वटा बाटाहरु पिच हुन्छन् । दुई करोड देखि १० करोडसम्मको सडक टेन्डर प्रक्रियामा गइसकेका छन् । हामीले सडकको गुणस्तरमा पनि उत्तिकै ध्यान दिएका छौँ । बाटो र पुल पिचका लागि अस्फाल्टलाई जोड दिएका छौँ । यो लामो समयसम्म टिक्छ । यदि ठेकेदारले  कमजोर काम गरेको छ भने अनुगमनमा गएर उनीहरुको रकम कटौती गर्छौ ।

एक वर्षसम्म उसको बैङ्क ग्यारेन्टी हुन्छ । एकवर्षभित्र बिग्रियोे भने उसले बनाइदिनुपर्ने हुन्छ । पानी पिचको लागि दुश्मन हुन्छ त्यसकारण पिचभन्दा अगाडी  बाटोको सीमांकन र नामांकन गर्ने अधिकार वडालाई दियौँ । हरेक घरको पानी बाटोमै जान्छ । आकासे पानी बाटोमै जम्छ । सोको लागि बाटोमा पानी जमिनमुनि जाने सानो ग्राउण्ड वाटर रिचार्ज बनाउँछौ । त्यसले सबै पानी त्यहाँ जान्छ । हाम्रा इनार धारा सुक्दैन । करेसाकारी हरियाली हुन्छ । यसले बाटो हिलो खाल्डो नहुने भयो ।

मानव मलमुत्र व्यवस्थापनका लागि प्रशोधन केन्द्र बनाउन लागेको थियौ तर एकाध मानिसको विरोधका कारण अहिले स्थगन भएको  छ ।

कतिपय व्यवसायीले जनप्रतिनीधि आइसकेपछि दोहोरो तेहोरो करको मारमा परियो भनिरहेका छन् । उनीहरुले भनेकै जस्ते अझै पनि हो ?

स्थानीय सरकारले लिने भनेको तोकिएको र राजपत्रमा उल्लेख गरेर लिने हो । एउटै मात्र के हो भने केन्द्रमा दर्ता भएपनि यहाँ आबद्धता भएपछि सो को शुल्क भने दिनुपर्छ । हाम्रो नगरपालिकाको नीति भनेको न्यूनतम र करको दायरा फराकिलो पार्ने भन्ने हो । नगरपालिकाले रोजगारी सृजनगर्न गइरहेको अवस्थामा बढी कर लिएर निरुत्साहित पार्दैनौँ ।  हाम्रो करको दर असाध्यै न्युन छ । दर्ता शुल्क सबभन्दा कम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप